
८ पुस, चितवन। पटक-पटक सूचना जारी गरेर अतिक्रमित संरचना भत्काउन सूचना जारी गरे पनि अट्टेरी गरेपछि चितवनको नारायणगढमा सडक डिभिजन कार्यालयले डोजर चलाएको छ ।
नारायणगढ-गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घर टहरा शुक्रबार बिहानबाट भत्काउन थालिएको छ । ६ लेनको सडक विस्तारका क्रममा सडक सिमा मिचेर बनाइएका ५८ वटा संरचना भत्काउन भन्दै सडक डिभिजन कार्यालयले यसअघि नै सूचना जारी गरेको थियो ।
सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले सडक मिचेर बनेका संरचनाका २० देखि १०० मिटरसम्मका संरचना सडकको दायराभित्र परेकोले भत्काइने बताए। राजमार्गको मूलसडकको बीच भागबाट २५ मिटर दायाँबायाँ छोएर बनेका संरचना भत्काइने सडक डिभिजनले जनाएको छ ।
समयमा नै अवैध संरचना भत्काउन नसक्दा नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारको ठेक्का म्याद सकिन ३ महिना बाँकी हुँदा जम्मा ५८ प्रतिशत मात्रै काम सकिएको छ ।
आगामी फागुनमा ठेक्का सम्झौता अवधि सकिदैछ । सडक निर्माणको जिम्मा पाएको इन्डो सगुन जेभीले सडक विभाग र महानगरपालिकालाई पटक पटक सडकमा बनेका घर, टहरा र संरचना भत्काउन अनुरोध गर्दै आएको थियो । सडकको भौतिक प्रगति ६० प्रतिशत र वितिय प्रगति ४५ प्रतिशतको हाराहारीमा छ ।
निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले तोकिएको मितिभित्र काम सक्न विभिन्न चुनौती आएको बताए । उनले सडक विस्तारका लागि आवश्यक मालसामाग्री नपाउनु, समयमा नै सडक क्लियर नगर्नु जस्ता विषयले काममा अवरोध गरेको बताए ।
उनले साइट क्लियर भएर कच्चा पदार्थ उपलब्ध भएमा चालु आर्थिक वर्षभित्र नै ६.०८ किलोमिटर लामो सडकखण्ड विस्तारको काम सक्ने लक्ष्य आफूहरुले लिएको दावी गरे । २८ महिनाभित्र विस्तार गरी सक्ने सडकको लागत एक अर्ब बाह्र करोड रुपैयाँ छ ।
प्रतिक्रिया 4