+
+

संसदमा नयाँ सांसदले निर्वाह गर्नुपर्ने ८ भूमिका

डा. डिला संग्रौला डा. डिला संग्रौला
२०७९ पुष ८ गते १४:१९

भर्खरै मात्र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट विभिन्न पार्टीका प्रत्यक्ष र समानुपातिक सांसदहरू निर्वाचित भइसकेका छन्। कानुन तथा नीति बनाउने थलो संघीय संसदमा सांसदहरूको मुख्य भूमिका कानुन बनाउनु नै हो। तर उनीहरू निर्वाचनको समयमा जनतासमक्ष विकास गर्ने बाचासहित चुनिएका छन्।

यसपालिको संसदमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका साथै नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसदमा प्रवेश गर्दैछन्।

उमेर र विचार समूहलाई हेर्दा पनि परिपक्व भएका ज्येष्ठ नागरिकदेखि युवा समूहका ऊर्जाशील सांसदहरु बेग्लाबेग्लै पेशा र पृष्ठभूमिबाट संसद प्रवेश गरेका हुन्। यी सबैको भूमिकाले आगामी संसद ओजपूर्ण र जोसिलो हुने कुरामा दुईमत छैन।

संघीय संसद जस्तो गरिमामय ठाउँमा विधायकहरुले गत चुनावमा आफूले बाँडेका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कातर्फ कानुन र नीतिनिर्माण गर्नुपर्नेछ। विशेषगरी सांसदहरुले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ।

देश निर्माणमा सांसदको भूमिका कस्तो रहने भन्ने कुरा सम्बन्धित राजनैतिक दलको भूमिकामा पनि निर्भर गर्दछ। किनकि पाँच वर्ष देशको भविष्य उनीहरुकै हातमा हुन्छ। गुणात्मक कानुनको सुनिश्चितता गर्नु सांसदको महत्वपूर्ण दायित्व हुन्छ। नेपालको संविधानले लोकतान्त्रिक, समावेशी संसदको परिकल्पना गरेको छ।

जहाँ राजनैतिक दल एवम् स्वतन्त्र व्यक्तिहरुलगायत पछाडि परेका र पारिएका वर्गहरु समेत निर्वाचनमा भाग लिई नागरिकको प्रतिनिधिको रुपमा संसदमा भूमिका निर्वाह गर्न सक्दछन्। नेपाल संसदीय प्रणाली अपनाउने मुलुकहरुमध्ये एक हो। संसदीय शासन प्रणालीमा प्रतिनिधित्व, पारदर्शिता, पहुँच, उत्तरदायी सरकार र प्रभावकारिता नै आधारभूत चरित्र हुन्।

यी आधारभूत चरित्रलाई सुनिश्चित गर्दै संसदीय अनुगमनअन्तर्गत विभिन्न कार्य संविधानले संसदलाई दिएको छ। मुलुकलाई आवश्यक कानुन तथा नीतिहरु तर्जुमा गर्ने, संसदले बनाएका कानुनहरुलाई कार्यपालिकाले प्रभावकारी रुपमा लागु गरेका छन् कि छैनन् भन्ने अनुगमन गर्ने, कानुन कार्यान्वयनका लागि कार्यपालिकालाई उत्तरदायी बनाउने, संवैधानिक निकायलगायतका विभिन्न पदहरुमा प्रभावकारी संसदीय सुनुवाइ गर्ने, नागरिकका आवाजलाई बुलन्द पार्ने र बजेट निर्माण प्रक्रियामा सहभागी हुने आदि सांसदका प्रमुख जिम्मेवारी हुन्। यसका साथै मुलुकलाई नेतृत्व गर्ने सांसदहरुले अन्य विभिन्न भूमिका पनि निवार्ह गर्नुपर्दछ।

१. विषयवस्तुको गहन अध्ययन

संसदीय अभ्यास आफैंमा एउटा लोकतान्त्रिक प्रक्रिया हो जुन आफ्नै विधि अनुसार चल्ने गर्दछ। राज्य शक्तिलाई जनताको हित र कल्याणमा लगाउने विधिको शासन पनि हो। जनताको मताधिकारको प्रयोग गर्दै निर्वाचित भएर आएका सांसदहरुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र समग्र देशको जल्दाबल्दा समस्या एवं विषयवस्तुको बारेमा ज्ञान हुनु जरुरी छ।

यसको लागि आन्तरिक तयारीका साथ आफूलाई अब्बल बनाउनुपर्दछ। संसदमा कुनै विषयवस्तुको उठान गर्दा तर्कसहित जनतालाई केन्द्रविन्दु बनाएर राष्ट्रको हितमा बोल्नुपर्दछ। यसको लागि गहन अध्ययन गर्ने, विशिष्ट व्यक्तिहरुको अन्तर्वार्ता सुन्ने, अन्य देशको संसदीय अभ्यास कस्तो छ अध्ययन गर्ने बानी बसाल्न सक्यो भने राम्रो वक्ता मात्र होइन असल जनप्रतिनिधि पनि बन्न सकिन्छ।

२. सरोकारवाला र विज्ञसँग संवाद

कुनै पनि व्यक्ति सबै विषयवस्तुको ज्ञाता र विज्ञ हुन सक्दैन। त्यसको लागि सरोकारवालासँग निरन्तर अन्तर संवाद गरी बेलाबखत विज्ञहरुसँग परामर्श लिन सक्नुपर्दछ। संसदीय अभ्यास आफैंमा सिक्दै जाने प्रक्रिया पनि हो। ज्ञानको भण्डार जति सिक्दै गयो उति नै बढ्दै जान्छ।

सांसदहरुले विशेष गरी सरकारको नीति तथा कार्यक्रम, बजेट तथा विधेयक माथि बोल्नु अघि विज्ञहरुसँग छलफल गर्दा फलदायी हुन्छ। संसदमा सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावका साथै मन्त्रीलाई प्रश्नोत्तरको माध्यमबाट सवालजवाफ गरी सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै खबरदारी गर्न सकिन्छ।

३. संसदीय मर्यादाको ख्याल

लोकतान्त्रिक संसद र यसका सदस्यहरुले संसदका आदर्श, चरित्र तथा संवैधानिक रुपले प्राप्त जिम्मेवारीलाई संरक्षण र संवर्धन गर्ने दायित्व लिएका हुन्छन्। जब उनीहरु यति महत्वपूर्ण दायित्वबाट विचलित भई संसदीय मूल्यमान्यता विपरित अवाञ्छित क्रियाकलाप र असंसदीय गतिविधिमा संलग्न हुन्छन् त्यसले संसदको गरिमालाई चोट पुर्‍याउँदछ।

त्यसैले संसदमा प्रस्तुति दिंदा होस् वा संसद बाहिरको बहसमा आफ्नो मर्यादालाई ख्यालमा राखेर विचार र बहसको केन्द्रविन्दु बन्नुपर्दछ। संसदीय मूल्यमान्यता विपरित जे मन लाग्यो त्यो बोल्न छुट छैन।

४. विवेकपूर्ण भूमिका

संसदीय अभ्यासमा सत्ता सरकारको हुन्छ भने संसद प्रतिपक्षको हुन्छ यो स्थापित मान्यता हो। तर संसदमा गुण र दोषको आधारमा समर्थन र विरोधको परिपाटी बसाल्न सकियो भने संसदीय लोकतन्त्र बलियो हुन्छ नत्र भने सत्ता पक्षले सरकारको समर्थन मात्र गर्ने जनताको बोली नबोल्ने अन्धभक्त हुने र प्रतिपक्षले सरकारले ल्याएका राम्रो कुरा पनि विरोधका लागि विरोध गर्ने खेल मैदान संसद हुन सक्दछ। त्यसैले राष्ट्रिय, क्षेत्रीय र स्थानीय मुद्दाहरुमा सांसदहरुले आफ्नो पार्टीभन्दा माथि उठेर विवेकपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ।

५. सशक्त खबरदारी

सांसद सरकार र जनतालाई जोड्ने सचेतक हो। समसामयिक विषयको उठानका साथै जनताका जनजीविका र जनसवालका विषयमा सत्ता पक्ष र प्रतिपक्ष नबनी सरकारलाई खबरदारी गर्न सक्नुपर्दछ।

जस्तो, किसानको लागि मल, शिक्षा र स्वास्थ्यमा जनताको पहुँच, प्राकृतिक प्रकोप, बाढी पहिरोको घटना र जनताको दैनिकीसँग जोडिएका विषयमा खरो रुपमा प्रस्तुति गर्न सक्नुपर्दछ। कार्यपालिकालाई व्यवस्थापिकाप्रति जिम्मेवार र उत्तरदायी बनाउनु नै पर्दछ।

६. संसदीय समितिमा सक्रियता

सांसदले विषयगत समितिमार्फत सरकारका विभिन्न निकाय तथा संवैधानिक निकायहरुको अनुगमन एवं जाँचमार्फत लोकतान्त्रिक शासन प्रणालीको सिद्धान्तको आधारमा सम्पूर्ण संवैधानिक अंगहरुलाई विधायिकामार्फत नागरिकप्रति उत्तरदायी बनाउने कार्य मिनी संसदमा गर्न सक्दछन्।

उक्त भूमिकालाई प्रभावकारी बनाउँदै संवैधानिक निकाय र सरकारले पनि ठिक ढंगले काम गरेको छ कि छैन भनी संसदीय समितिमा सक्रिय रहनुका साथै सरकारले ल्याएको कानुनको मस्यौदा र विधेयकबारे गहन छलफल गर्ने र संशोधन प्रस्ताव हाल्ने आदि कार्य गर्न सकिन्छ।

७. विधेयकको विवेचना

सरकारले ल्याएका सबै विधेयक राम्रा नै हुन्छन् भन्न सकिंदैन। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा जनताबाट निर्वाचित सांसदको मुख्य भूमिका विधायक नै हो। मुलुकलाई समयानुकूल आवश्यक पर्ने कानुनको निर्माण गरी कार्यान्वयनका लागि सरकारलाई निर्देशन गर्ने, कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने, परिमार्जन र संशोधन गर्ने पनि हो। विशेषगरी संविधानसँग बाझिएका ऐन–कानुनले समाजमा सकारात्मक परिणाम दिन सक्दैनन्। त्यसैले संविधानसम्मत कानुन निर्माणमा सांसदहरूले सक्रिय भूमिका खेल्न सक्नुपर्दछ।

८. मतदातासँग अन्तरघुलन

निर्वाचित जनप्रतिनिधिहरुले जनभावनालाई बुझ्न सबैभन्दा धेरै छलफल र सुझावलाई संकलन गरी समीक्षा गर्न जनताका भावनालाई प्रतिनिधित्व र सम्बन्धित समितिहरुमा निर्धक्क प्रस्तुत गर्न सक्ने हुनुपर्दछ।

आफ्नो क्षेत्र, भूगोल, जनसंख्याको बनोट, जनताका समस्या, विकासका सम्भावना, वर्तमान अवस्थाको तथ्य, आगामी सम्भावित योजना पेश गर्ने, जनताको माग र आवश्यकतालाई चरणबद्ध वर्गीकरण गरी वार्षिक र पाँच वर्षभित्र गर्न सक्ने कामको विवरण तयार पार्ने र दिगो विकासका लागि जग निर्माण गरी कार्य सम्पादन गर्नुपर्दछ।

संसदको बैठकमा नियमित उपस्थिति हुने र नियमित संसदको कार्यसम्पादनमा ध्यान दिन सरकारलाई पारदर्शी र जवाफदेही बनाउन उपयोगी सुझाव पेश गर्न सकिन्छ। अन्तमा, सांसदहरुको सक्रिय भूमिकाले मात्र आगामी संसदको गरिमा र महत्व अझ बढोत्तरी हुने कुरामा दुईमत छैन।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य संग्रौला प्रतिनिधिसभाकी निवर्तमान सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?