+
+
विचार :

लोकतन्त्रको शब्दकोशमा ‘निषेध’ हुँदैन

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७९ पुष १० गते १६:०९

नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६ पुस २०७९ मा प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गराइयो । त्यसको भोलिपल्ट ७ पुसमा उनै ज्येष्ठ सदस्य राणाले प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराए । शपथ ग्रहण गर्ने सदस्यहरूमा अधिकांश कांग्रेस र कम्युनिष्ट थिए ।

शपथ ग्रहणका तस्वीरहरू भाइरल भए । तस्वीर मात्र भाइरल भएनन्, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले राणाशासन फालेको कांग्रेसले राणासँग र पञ्चायत र राजतन्त्र फाल्न लडेको कम्युनिष्टले पञ्चायतकालका प्रभावशाली पात्रसँग नै शपथ लिएको भन्दै टीकाटिप्पणी गरे ।

राणा तिनै व्यक्ति हुन्, जो अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहनशमशेरका नाति र पञ्चायती राजनीतिका शक्तिशाली पात्र हुन् । केही राजनीतिक विश्लेषक र समाचारमाध्यमले समेत शपथ ग्रहणलाई लिएर यस्तै हल्काफुल्का टिप्पणी गरेको देखियो । यस्ता टिप्पणीकर्तालाई लागेको हुन सक्छ– लोकतन्त्र भनेको कांग्रेस र कम्युनिष्टको पेवा हो ।

२०४६ सालको आन्दोलनको सफलतापछि खुलामञ्चमा विजयसभा हुँदैथियो । आन्दोलनका एक हस्ती नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभालाई सम्बोधन गर्दै ‘यो जित पञ्चहरूको पनि हो’ भनिदिए ।

कोइरालाको भाषण चलिरहँदा त्यहाँ उपस्थित दर्शकले कोइरालाको उक्त भनाइप्रति असहमति राख्दै सभास्थलमै हुटिङ गरेका थिए । मासलाई सम्हालेर सभालाई निरन्तरता दिन आयोजकलाई हम्मेहम्मे परेको थियो । उनको यही भनाइको हवाला दिंदै कोइरालाका विरोधीहरूले उनलाई लामो समयसम्म पञ्च भएको आरोप समेत लगाए ।

त्यसो त बीपी कोइरालाले नै कुनै सन्दर्भमा भनेका थिए– ‘राजा र मेरो घाँटी जोडिएको छ ।’ यसो भन्दा बीपीलाई पनि राजासँग आत्मसमर्पण गरेको आरोप लागेको थियो । कतिपयले अहिले पनि बीपीको आलोचना गर्दा बीपीको उक्त भनाइलाई पुनरुक्ति गर्छन् । वास्तवमा बीपीको भनाइको मर्म आलोचकहरूले बुझ्दै बुझेनन् वा बुझेर पनि बुझपचाए अथवा विरोधका लागि विरोध गरे।

लोकतन्त्रको आन्दोलनका क्रममा सडकमा निस्केर नाराबाजी गरेका र ढुंगा हानेकाहरूलाई लाग्न सक्छ– ‘लोकतन्त्र भनेको मेरै हो ।’ तर लोकतन्त्र फाट्टफुट्ट ढुंगा हान्ने र नारा–जुलूस गर्नेको मात्र होइन । लोकतन्त्र ढुंगामुढा र नारा–जुलूसले मात्र आएको पनि होइन । लोकतन्त्रका लागि धेरैले आफ्नो जीवन ऊर्जा अर्पण गरेका छन् । ती जीवन ऊर्जा अर्पण गर्नेहरूको त लोकतन्त्र निजी वा पेवा होइन भने ढुंगेमुढेहरूको पेवा कसरी बन्न सक्छ ?

लोकतन्त्र सबैका लागि हो । लोकतन्त्र मात्र यस्तो व्यवस्था हो जहाँ हरेक नागरिकको समान हिस्सा हुन्छ । लोकतन्त्रप्रति आस्था राख्नेको मात्र होइन, लोकतन्त्रप्रति आस्था र विश्वास नराख्नेले समेत लोकतन्त्रमा समान हिस्सा पाउँछ । त्यही भएर न लोकतन्त्र भनिएको हो ।

यदि यस्तो नहुने हो भने निरंकुशतन्त्र र लोकतन्त्रमा फरक नै के हुन्छ र ? विगतमा पनि कांग्रेस, कम्युनिष्ट, राप्रपा, मधेशकेन्द्रित दल सबैको संयुक्त सरकार बनिसक्यो । सत्तामा जान पर्दा सबैले सबैलाई स्वीकारेकै छ । आफूलाई चाहिंदा अँगालो हाल्ने नचाहिंदा गाली गर्ने काम कुनै पनि दलले कुनै पनि दललाई गर्नुहुँदैन । लोकतन्त्रमा त्यस प्रकारका टीकाटिप्पणी पाच्य पनि हुँदैन ।

लोकतन्त्र भनेको हिजोका सत्ताधारीलाई सत्ताबाट विस्थापन गरेर त्यसको ठाउँमा अर्को नयाँ सत्ताधारी प्रतिस्थापन गर्ने व्यवस्था होइन । लोकतन्त्र हिजोका हुन् वा आजका, सबैको साझा व्यवस्था हो । केही आफूलाई मात्र लोकतन्त्रका ठेकेदार ठान्नेहरूले लोकतन्त्रलाई आफ्नो पुख्र्यौली सम्पत्ति झैं पनि ठान्छन् ।

लोकतन्त्रको फल आफूले मात्र पाउनुपर्ने भन्छन् । लोकतन्त्रका लागि आफूले कतिवटा भोटो फटाएँ भनेर औंला भाँचेर गन्छन् । भोटो फटाएको र जेल बसेको बायोडाटा आफू सम्बद्ध दलमा लगेर पेश गर्छन् र त्यसको बदला पदको दाबी गर्छन् । के फलको दाबी गर्नेहरू लोकतन्त्रका सच्चा संवाहक हुन् ? होइनन् । यी लोकतन्त्रका संवाहकभन्दा बढी राजनीतिक व्यापारी हुन् ।

राज्यसत्ता सञ्चालन गर्ने कुरा र लोकतन्त्रका लागि त्याग गर्ने भिन्नभिन्न कुरा हुन् । त्याग गरे बापत सत्ता खोजेपछि त त्यो कसरी त्याग भयो । त्यागबापत सत्ता लिएपछि त्यो त्याग भएन, त्यागको नाममा व्यापार नै भयो । त्यसैले आजकल राजनीति व्यापारमा परिणत हुन थालेको आभास भएको छ । यो लोकतन्त्रका लागि गम्भीर चुनौती हो ।

जसले आफ्नो भोटो गनेर योग्यताभन्दा बढी त्यागको वकालत गर्छन्, तिनीहरूले लोकतन्त्रको वास्तविक मर्म बुझेका छैनन् । लोकतन्त्र भनेको नेतालाई फल बाँड्ने व्यवस्था होइन, जनतालाई फल बाँड्ने व्यवस्था हो । लोकतन्त्रमा त्यागीलाई सत्ता बाँड्ने होइन, उनीहरूलाई त सम्मान दिने हो ।

सत्तामा त जो सक्षम छ उसलाई लगेर पो राख्ने हो । जनताले त्यागीलाई होइन सक्षमलाई चुन्ने हो । त्यागी मान्छे सक्षम नहुन पनि सक्छ । भोटो र जेललाई नै योग्यता मान्ने हो भने सक्षम मान्छे बाहिर पर्न सक्छ ।

लोकतन्त्रका लागि भोटो फटाउने र जेल कटाउने व्यक्ति त्याग नगरेको पनि हुनसक्छ । हिजो सत्तामा बसेको मान्छे सक्षम छ भने आज व्यवस्था परिवर्तन भएपछि पनि त्यो सबैका लागि स्वीकार्य हुनुपर्छ । यही नै लोकतन्त्रको उदारता हो ।

लोकतन्त्रको वास्तविक चरित्र हाम्रो राजनीतिक स्कूलमा अटाउन सकेको देखिंदैन । प्रत्यक्ष रूपमा लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि जनताको शासन हो । प्रत्यक्ष लोकतन्त्रमा राज्य सञ्चालन सबै नागरिक एकठाउँमा जम्मा भएर निर्णय गर्ने हो ।

तर जनसंख्या र भूगोल ठूलो हुँदै गएपछि सबैजना एक ठाउँमा भेला भएर निर्णय गर्न संभावना नहुने हुनाले प्रतिनिधिमूलक लोकतन्त्रको अवधारणा आएको हो । यस्तो सबै जनताले निर्णय गर्ने ठाउँमा कसैलाई निषेध गरियो भने त्यो कसरी लोकतन्त्र भयो ?

लोकतन्त्र त्यसै लोकतन्त्र भएको होइन । एकै ठाउँमा सबै अटाउने भएर नै लोकतन्त्र भएको हो । कुनै पार्टी, व्यक्ति वा वर्ग विशेषलाई निषेध गर्ने हो भने त्यो केको लोकतन्त्र ? त्यो त फेरि निरंकुशतन्त्र नै भयो । निषेधसहितको लोकतन्त्र भनेको लोकतन्त्रको नाममा निरंकुशतन्त्र नै हो ।

हाम्रो सन्दर्भमा भन्ने हो भने लोकतन्त्र भनेको कांग्रेसतन्त्र वा कम्युनिष्टतन्त्र होइन, न त यो राप्रपातन्त्र वा अरू कुनै पार्टीविशेषको तन्त्र हो । यो विशुद्ध जनताको तन्त्र हो । दलहरू लोकतन्त्रका मालिक होइनन्, लोकतन्त्रका मालिक त जनता हुन् । दलहरू त जनताको प्रतिनिधित्व गर्ने संगठित माध्यम मात्र हुन् । त्यसैले दलहरूले लोकतन्त्रलाई आफ्नो ठान्नुमा ठूलो दृष्टिदोष छ ।

दलहरूले आफूलाई लोकतन्त्रका संवाहक ठानेका छन् भने उनीहरूले ठूलो छाती बनाउन् । लोकतन्त्र आफ्नो मात्र नठानून् । लोकतन्त्र मात्र जनताको हो र जनता भनेको नेपालका सबै नागरिक हुन् भन्ने बुझून् । कम्तीमा लोकतन्त्रमा विश्वास गर्नेले आफ्नो बुझाइको दायरालाई अलिकति फराकिलो पारुन् ।

वास्तविक लोकतन्त्रमा निषेध भन्ने शब्दावली नै हुँदैन । लोकतन्त्र चोर, डाँका, फटाहाहरूको समेत व्यवस्था हो । लोकतन्त्रमा चोर, डाँका, फटाहाहरूले अपराध गरे सजाय पाउँछन्, अपराधको सजायबाट उन्मुक्ति पाउँदैनन्, तर लोकतान्त्रिक अधिकार भने उपभोग गर्न पाउँछन् ।

अपराधीले त लोकतन्त्रको उपभोग गर्न पाउँछ भने अरूले त झन् किन नपाउने ? त्यसैले लोकतन्त्रमा निषेधको राजनीति नगरौं । संकुचित मानसिकताबाट माथि उठ्न सके मात्र सच्चा लोकतन्त्रवादी भइन्छ ।

जहाँ निषेध हुन्छ, त्यहाँ लोकतन्त्रको परिकल्पना नै गर्न सकिंदैैन । लोकतन्त्रको वास्तविक चरित्र नै यही हो । त्यसैले त लोकतन्त्र लोकतन्त्र भएको र सबैको सर्वस्वीकार्य समेत रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?