+
+
ब्लग :

आधुनिक नेपालको मौलिकताको रंग कस्तो हो ?

पुरानो पुस्ताको काँधमा चढेर पनि नयाँ पुस्ता पुरानाको जुम्रा खोज्न रमाउँछन् भने ती सांसदहरू नेता बन्न सक्दैनन्। किनकि नेता त्यो हो, जसले टाढाको दृश्य छिटो देख्न र समस्याको दीर्घकालीन समाधान दिन सक्छ।

प्रकृति मैनाली प्रकृति मैनाली
२०७९ पुष १२ गते १४:१७

‘प्रत्येक नयाँ पुस्ताले पुरानो पुस्ताको काँधमा चढेर जगतलाई हेर्छ र जगत पहिले भन्दा फराकिलो देख्छ।’

परिवर्तनलाई अवश्यंभावी मान्ने हो भने खगेन्द्र संग्रौलाको यो उक्ति चिर आधुनिक यो अर्थमा छ कि यसमा हामीले मान्दै आएको सामाजिक संस्कारको छायाँ छ, जसले पुरानो पुस्ताको योगदानको कदर गर्छ। सँगसँगै नयाँ पुस्ताले त्याग्नुपर्ने समय असान्दर्भिक अवधारणा र अवलम्बन गर्नुपर्ने नयाँपनको खोजी गर्न प्रेरित गर्छ।

परिवर्तन आधुनिकता खोजीको नतिजा हो। शपथ ग्रहण गर्दै गरेका २७५ जना प्रतिनिधि सभासद र तिनले झल्काएका विविधता, युवा अनुहारका ऊर्जा र भविष्यप्रति तिनका दृष्टिकोणले संसद भवन आधुनिक एवं रंगीन देखिएको छ।

यिनै नेतृत्वकर्ता आज पुरानाका काँधको टेकोमा आधुनिक नेपाल निर्माण गर्न लम्केका छन्। त्यसैले यी पुस्ताले बुझेको आधुनिकता र यिनको कल्पनाको नेपालको उत्कृष्ट चित्र कस्तो हो ? महत्वपूर्ण प्रश्न यो हो।

स-साना मुद्दाहरूको उठान गर्दै, बेथितिको बारेमा आफ्नो यथास्थानबाट बोल्दै आज निर्णायक शक्तिमा पुगेका युवा अभियन्ताले संसदको भूमिकामा अभियन्ताको अभ्यास भुल्नुपर्नेछ अनि संसदको भूमिका निर्वाह गर्नुपर्नेछ। सांसदलाई अभियन्ता मात्र बनिराख्ने छुट नमिल्ने पक्का छ।

राजनीतिमा हामीले खोजेको आधुनिकता युवा अनुहार मात्रको हो कि विचार र व्यवहारको नयाँपन हो? मुजा परेका अनुहारलाई आधुनिक नदेख्ने पुगनपुग आधा जनसंख्या युवा रहेको देशमा जनसांख्यिक लाभांश भित्र्याउने अनुहार युवा नै हो भन्ने कुरामा शंका छैन।

तर २५ वर्षमै संसद बन्ने अवसर पाएका युवाको आवाजको प्रतिनिधित्वले असलमा (निमुखा) सबअलटर्न वर्गको प्रतिनिधित्व गर्न कति सक्ला या नसक्लाले अबका समय युवाको राजनीतिक सम्भावनालाई, गुणन या भाग हुने निश्चित भने हुनेछ। किनकि यी नयाँ अनुहारहरू कुनै समयका अभियन्ताहरू नै हुन्। निमुखाको आवाज बन्ने वैकल्पिक अवाज बन्दै, प्रश्नकर्ता हुँदै अहिलेका नेतृत्वकर्ता बनेका हुन्।

आधुनिकताको खोजीमा विस्थापित भएका केही आवश्यक र अनुभवी मुजा परेका अनुहारहरू संसद बाहिर हुनुको नाफा घाटाको हिसाब समयले गर्ने नै छ ।

युवाले देख्न खोजेको आधुनिक नेपालको चित्र चैं कस्तो हो त ?

उत्कृष्ट संसारको चित्र कस्तो हुन्छ भन्ने प्रश्नमा अर्थशास्त्री केट रेवार्थले दुनोटको चित्र बनाएकी हुन्। दुनोट अर्थतन्त्र जसले दुनोटको बीचको खाली भागबाट सीमान्तकृतहरूको (सबअलटर्न) स्थानान्तरण गरी खाली ठाउँबाट दुनोटको भित्री घेरामा सुनिश्चित गर्छ जसले नागरिकको मौलिक अधिकारको सुनिश्चितता गर्छ।

साथै दुनोटको बाहिरी घेराको सीमाभित्र हरेक नीतिनियम तथा कार्यक्रम हुन्छ। साथै यसले विकासको पर्यावरणीय सन्तुलन, ग्रहीय चाप अनुकूल विकास र समृद्धिको खाका कोर्छ। यसमा आर्थिक क्रियाकलापको छनोट गर्दा जलवायु संवेदनशीलतालाई मध्यनजर गरिन्छ। डिस्ट्रीब्युटिभ र रि–जेनेरेटिभ अर्थतन्त्र निर्माण गर्न भरपूर प्रोत्साहन गरिन्छ।

तसर्थ, यिनै निमुखाका प्रतिनिधि बनेर आएका सबअलटर्नका प्रतिनिधिहरूले समन्यायिक, लोकतान्त्रिक, पर्यावरणको सीमाभित्र विकास, समृद्धि र समुन्नतिको क्रियाकलाप अटाउने गरी नीति निर्माण गर्नुपर्छ। त्यसका लागि हरेक सांसदको मस्तिष्कमा विकास अवधारणाको साझा चित्र हुन जरूरी छ।

विचारका विविधता, अनुसन्धानमा आधारित तर्क-वितर्क सदनका गहना हुन्। त्यस्तै देश विकासमा एकाकार दृष्टिकोण हुनु विकासले गति लिनु हो।

नेपाली मौलिक रंग कस्तो हो ?

कुनै पनि समाजले खोजेको आधुनिकता कस्तो हो? पूँजीगत, राजनीतिक, संस्कृतिक आधुनिकताको दौडमा हामी कुन प्रकारको आधुनिकता कुन मात्रामा अवलम्बन गर्न खोज्दैछौं? समय सापेक्षिक र दीर्घकालीन आधुनिकताले साइकल चढ्ने व्यक्तिलाई बढी आधुनिक मान्ला कि पेट्रोल गाडी चढ्ने व्यक्तिलाई? परिवर्तनशीलताको टेकोको आधारमा बनेको आधुनिकता पुनर्लेखन भैराख्नु स्वाभाविक प्रक्रिया हो। तर गम्भीर प्रश्न आज नेपाली समाजले खोजेको आधुनिकता कस्तो हो?

एक्वापोनिक कृषि, गगनचुम्बी महल, त्यहाँ पुग्न एलिभेटर, रोबोट, कस्मेटिक सर्जरी? के हामी विविधता र मौलिकतामा आफ्नो आधुनिकता पुनर्लेखन गर्न सक्छौं ? एक्वापोनिक विधिबाट उब्जिएको लेटिउसको सागमा होइन, माटोमा उमारेको पालुंगोको सागमा आधुनिकता खोज्न सक्छौं ? ओलिवको तेलमा होइन तोरीको तेलमा आधुनिकता देख्न सक्छौं? के हामी हाम्रो मौलिकतामा उभिएको आधुनिकतामा गर्व गर्न तयार छौं?

औद्योगिक क्रान्तिको युग छोडेर प्रविधिको युगमा आइसक्दा पनि पुरातन शैलीको अर्थ व्यवस्थामा रुमल्लिएको नेपाली समाजले अपनाउन खोजेको आधुनिकताको यकिन र तिनको एकीकरण हुन जरुरी छ। हामी आफैं जस्तो बनेर पनि आधुनिक र सभ्य कहलिन सक्ने भरपुर अवसर ‘जलवायु परिवर्तन’को बहसले ल्याएको छ।

पुरातन शैली, कम उपभोक्तावाद, वस्तुहरूको किफायती र कम प्रयोग गर्ने, पुनः प्रयोग गर्ने हाम्रा घरेलु अभ्यास, अहिले आधुनिक विश्वले अनुसरण गर्दैछन्। पुरातन शैली चिर आधुनिक भएका छन्। कार्बन उत्सर्जन गर्ने देशहरू त्यसको मूल्य चुकाउन तयार छन्। कार्बन क्रेडिट, कार्बन फण्डमा दाबी गरेर ‘ट्रेजेडी अफ द कमन’ को सिकार भएको देश नेपालले रुखै मात्र रोपेर पनि बाँकी विश्वसँग अन्तरंग र अन्तरक्रिया गर्न सक्छ।

उत्पादन र उपभोक्ताको यो भूमण्डलीकृत श्रृंखलामा, आफ्नो ‘विशेष उत्पादन’ को क्षेत्रमा विस्तृतीकरण मात्र गरे पनि पुग्छ। हरियो ऊर्जा, हरियो इन्धन, हरियो पर्यटन, हरियो कृषि उत्पादन, हरियो विकास, हरियो जीवनशैली नेपालको रंगहरू हुन्। यो नेपालको आइडिया बन्नुपर्छ। त्यसैले, देशको आइडियाको रंग हरियो बन्नुपर्छ।

केट रेवार्थको दुनोट अर्थतन्त्र ‘हरियो नेपाल’ सँग नजिकको मिल्दो चित्र हो। समन्यायिक, लोकतान्त्रिक अनि पर्यावरणमैत्री दुनोटले हरेक वादको मर्मलाई प्रतिनिधित्व गरेको छ।
पूँजीको वृद्धिदर अर्थतन्त्रको वृद्धिदर भन्दा बढी हुने हुनाले धनी सधैं धनी मात्र भैराख्ने र गरिब सधैं गरिब हुने तथ्य उजागर गरेका थोमस पिकेटीको ‘आर इस ग्रेटर दान जी’ थेउरीले नेपाल जस्तो पूँजी संकुचित अर्थतन्त्र निराशावादी हुनु स्वाभाविक हो।

यथास्थितिमा, नेपाल कहिल्यै विश्व बजारसँग प्रतिस्पर्धी बन्न सक्दैन। तर यसको सकारात्मक पाटो हेर्ने हो भने छिटो दौडिएको अर्थतन्त्र, छिटो दौडिएका नागरिक छिटो थाक्छन्, थाकेका छन्। ती रफ्तारको वेगले दौडिएका अर्थतन्त्रका लागि थकाइ मार्ने, स्लो डाउन गर्ने अर्थतन्त्र बन्नु पनि नेपालको लागि पूँजी निर्माण गर्ने अवसर हो।

प्रतिस्पर्धामा जित्न सकिन्न भने प्रतिस्पर्धीलाई सितन बेचेर पनि नेपाल जस्तो देशले राम्रै पूँजी परिचालन गर्न सक्छ। सिंगापुरले अन्तर्राष्ट्रिय वित्तीय बजार सुतिसकेपछिको समयलाई मौका छोपेर कहिल्यै नसुत्ने अर्थतन्त्र बनाउन सक्छ भने नेपालले प्रतिस्पर्धामा रेस्ट खोजेका प्रतिस्पर्धीलाई रिट्रिट बेच्न सक्दैन र ? नेपाल विश्वको थकाइ मार्ने रिट्रिट गन्तव्य बन्न सक्दैन र ?

आधुनिक युवाले देखेको आधुनिक नेताको तस्बिर कस्तो हो ?

कृष्णप्रसाद भट्टराईको ९९औं जन्मजयन्तीको सुअवसरमा पत्रपत्रिकामा छापिएको फोटोमा उनी काखीमा चुच्चे छाता च्यापिरहेका देखिन्छन्। एउटा टिनको ट्यांका, आँखामा चस्मा, ओठमा मन्द मुस्कान बोकेका छन्।

आदर्श नेताको युवा पुस्ताले कल्पना गरेको नेता कृष्णप्रसाद भट्टराई जस्तै हुँदैनन् भने अहिलेको युवा पुस्ता आधुनिक युवा पुस्ता होइनन्। लिनको लागि होइन दिनको लागि सांसद बनेका हुन् भने सरलतामा, स्वच्छन्दता नेताको परिचय पुनर्लेखन हुनुपर्छ। र त्यो पुनर्लेखन युवाले गर्नुपर्छ।

आदर्श नेताको चित्र आधुनिक युवकको मस्तिष्कमा स्पष्ट कोरिनुपर्छ। त्यसैले पुरानो पुस्ताको काँधमा चढेर पनि नयाँ पुस्ता पुरानाको जुम्रा खोज्न रमाउँछन् भने ती सांसदहरू नेता बन्न सक्दैनन्। किनकि नेता त्यो हो जसले टाढाको दृश्य छिटो देख्न सक्छ, र समस्याको दीर्घकालीन समाधान दिन सक्छ।

जसरी गान्धीले २०औं शताब्दीमा साना तथा घरेलु उद्योग, प्राकृतिक चिकित्सा विधिलाई ‘भारतीय आधुनिकता’ सँग जोडे, आधुनिकताको अमूर्त रूप, चित्रण र चिन्तन कंक्रिटको भ्यू टावरबाट देखिने शहरको संक्षेपतिर संकुचित दृष्टिकोण नबनोस्। शहरभन्दा पर देखिने क्षितिज, आफूमाथिको ब्रह्माण्ड समेतको दृष्टि पर्न सकोस्।

नसिब तालिबले भनेजस्तै युवा एन्टिफ्रजाइल हो, न फुटिहाल्ने फ्रजाइल पनि, न अपरिवर्तनशील कडा। युवा अवस्था गतिशील र कलिलो अवस्था हो तर कमजोर होइन।

सदन भित्र न त युवालाई व्यवस्थाहरूप्रति कडा अनुशासित भै व्यवस्थापक मात्र बन्ने छुट छ न त अर्थराजनीति, सामाजिक, संस्कृतिक र कूटनीतिक सम्बन्धहरूमा नयाँपन नथपी पुरानाको काँध चढेर देखिने चित्रण र त्यही अपेक्षालाई जस्ताको तस्तै अनुमोदन गर्ने छुट नै छ।

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?