+
+

निकट विगत दोहोरियो, देउवाले भेउ नै पाएनन्

लिलु डुम्रे लिलु डुम्रे
२०७९ पुष १२ गते १८:५१

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको पुनरावृत्तिलाई आफ्नै तरिकाले विश्लेषण गर्छन् । सार्वजनिक मञ्चहरुमा उनले बेला बेलामा भन्ने गर्दछन्, ‘इतिहासको पुनरावृत्ति उस्तै तरिकाले हुँदैन । फरक तरिकाले हुन्छ ।’

निकट विगतलाई मात्रै हेर्दा इतिहासको पुनरावृत्ति भएको छ । प्रचण्डले भने अनुसार नै इतिहास केही फरक तरिकाले दोहोरिएको छ ।

विगतको पाँच वर्षे अवधि हेर्दा इतिहासलाई दोहोर्‍याउने दुई पात्रमा एउटा स्वयं प्रचण्ड हुन् ।

अर्का पात्र हुन्– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

दृष्टान्त : १

२०७४ जेठमा देउवा चौथोपटक प्रधानमन्त्री बनेका थिए । सत्ताको सहयात्री दल माओवादी केन्द्र पनि थियो । स्थानीय तहको निर्वाचन गराएर प्रदेश र प्रतिनिधि सभाको चुनाव गराउन देउवालाई प्रचण्डले सत्ताको साँचो सुम्पेका थिए । त्यसै बीचमा प्रदेश र संघको निर्वाचनमा तालमेल गर्ने माओवादी र एमालेको साँठगाँठ भयो । सत्ता सहयात्री दल एमालेसँग नजिक पुगेको देउवाले भेउ पाउनै सकेनन् । दुई चरण गरी २०७४ मंसिर १० र २१ मा निर्वाचन गरेका देउवाले निर्वाचन गराए । कांग्रेसले ऐतिहासिक हार बेहोर्‍यो ।

कांग्रेससँगै सत्तामा बसिरहेको शक्तिलाई एमालेतिर जान रोक्न नसकेको भनि देउवा आलोचित बने । तत्कालीन समयमा दुई कम्युनिष्ट एक हुँदा कांग्रेस कमजोर भएको प्रतिवाद देउवा पक्षले गर्‍यो । निर्वाचनको समीक्षा गर्न भन्दै चार महिना पछि बसेको केन्द्रीय समितिको बैठकले दुई कम्युनिष्ट दलको गठबन्धन हुँदा पराजित भएको निर्णय गरेको थियो । त्यस समय देउवालाई प्रतिरक्षा गर्ने पार्टीमा ठूलो पङ्ति थियो ।

दृष्टान्त : २

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदियो । ओलीका कारण सिर्जित नयाँ परिवेशले सत्ताको नेतृत्व देउवाको काँधमा पुग्यो । २०७९ को निर्वाचन गराउने अवसर पुनः देउवामा आयो ।

गठबन्धनलाई १५/२० वर्षसम्म पुर्‍याउने वचन कार्यकर्तालाई बाँड्दै मत मागे । गठबन्धनको बलमा संघमा कांग्रेसलाई पहिलो दल देउवाले बनाए । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस पहिलो दल बनेको छ ।

केन्द्र र चार प्रदेशमा पहिलो दल बनेको कांग्रेस सत्ताबाट बाहिरिनु परेको छ । २०७४ सालमा सत्तामा पुग्न कांग्रेसलाई संख्याले साथ दिएको थिएन । यसपटक केन्द्रमा आलोपालो कांग्रेसबाट प्रधानमन्त्री हुने पूर्व सहमति नै बनेको थियो । सात प्रदेश मध्ये गठबन्धनबाट कांग्रेसका मुख्यमन्त्री बढी हुने सम्भावना थियो ।

प्राप्त अवसरलाई सदुपयोग गर्न कांग्रेस चुकेको छ । अन्तिम समयमा सहि निर्णय गर्न सभापति देउवा पहिलो दल प्रतिपक्ष दलमा सिमिति हुने अवस्था बनेको छ । १० पुसमा निर्णय गर्ने क्षमता देउवाले गुमाउँदा प्रचण्ड एमालेतिर लागे । प्रचण्ड एमालेतिर जानसक्ने आकलन नै देउवाले गर्न सकेनन् । प्रचण्डले भने मुताविक नै इतिहासको पुनरावृत्ति फरक तरिका यसपटक राजनीतिमा देखिएको छ ।

कांग्रेसमा सन्नाटा छाएको छ । २०७४ मा देउवालाई ढाडस दिनेहरु उनको प्रतिवाद गर्ने अवस्थामा अहिले देखिँदैनन् । कतिपयले देउवाको ओरालो यात्राका रुपमा पछिल्लो घटनाक्रमलाई बुझेका छन् ।

देउवाप्रति बढ्दो आक्रोश

२०७४ सालको निर्वाचनमा संसदको संख्यामा कमजोर हुँदा देउवाको राजनीनामा र विशेष महाधिवेशनको माग उठेको थियो । यसपटक पहिलो दल हुँदा समेत सोही माग उठ्न थालेको छ । ‘पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ’, नेता गुरुराज घिमिरे भन्छन् ।

घिमिरेले भने मुताविक विशेष महाधिवेशन बोलाउन सहजै भने छैन । विशेष महाधिवेशन बोलाउन केन्द्रीय समितिले आवश्यक ठान्नु पर्दछ । केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले लिखित माग पेश गरेमा तीन महिना भित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।

केन्द्रीय समितिमा देउवा पक्षधर ८२ प्रतिशत सदस्य रहेकाले उक्त निकायबाट विशेष महाधिवेशन बोलाउने परिकल्पना टाढाको विषय हुनेछ । अर्कोतिर, महाधिवेशन प्रतिनिधि नै देउवा पक्षीय बढी चुनिएकाले उनीहरुले विशेष महाधिवेशन माग गर्ने सम्भावना शून्यप्रायः छ ।

कांग्रेसको नियमित महाधिवेशन ४/४ वर्षमा हुने व्यवस्था छ । गत वर्ष १४ औं महाधिवेशन मार्फत देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

तालमेल गरेर चुनावमा जान हुने/नहुने विषयमा कांग्रेसभित्र स्पष्ट दुई धारमा विचार प्रकट हुँदै आए । स्थानीय तहमा तालमेल गर्नै नहुने विचार राख्ने संस्थापनइतर पक्ष संघको निर्वाचनमा लचिलो बन्यो । सरकारलाई मात्रै केन्द्रमा राखेर ‘प्रि अलायन्स’ गर्न नहुने पक्षमा आफूले भन्दै आए पनि पार्टीको निर्णय मान्ने अवस्थामा पुगेको महामन्त्री गगन थापा बताउँछन् ।

संस्थापनइतर समूहका नेताहरु ।

‘निर्वाचन अघिको गठबन्धन नगरौं भनि पटक पटक मैले पार्टी बैठक र सार्वजनिक रुपमा भन्दै आएको हुँ’, थापाले भने, ‘निर्वाचन अघि तालमेल हुनका लागि उन्नत खालको राजनीतिक संस्कृति चाहिन्छ । जुन हामीकहाँ छैन ।’

थापाको बोली अनुसार संस्थापनइतरका नेता डा. शेखर कोइराला अभिव्यक्ति आएको छ । फरकधारका दलको भविष्य शंकामा रहेको आवाज उठाउँदा पनि त्यसलाई अस्वीकार गरेको उनी बताउँछन् ।

‘राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो,’ कोइरालाले सोमबार विज्ञप्ति निकालेर मूल नेतृत्वप्रति असन्तुष्टि पोखेका छन् ।

दलको मूल नेतृत्वले गठबन्धनको औचित्य पुष्टि गर्न नसक्ने अवस्थामा छ । नयाँ गठबन्धन बनिसक्यो । जबकी, गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको सूची पठाउन भनि कांग्रेसले पुस १५ भित्र नाम पठाउन परिपत्र गरेको थियो । त्यसअनुसार, अन्तर्घात तथा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको नाम केन्द्रमा पठाउने अवधि थप तीन दिन छ । माओवादी केन्द्रको विश्वास गर्न नहुने भनि केन्द्रीय समितिमा आफूले राखेको विचार पुष्टि भएको पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए ।

चितवन–३ मा माओवादी केन्द्रको उम्मेदवार हुने भएपछि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धन दलका विरुद्ध उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई पार्टीबाट हटाएको थियो । ‘माओवादीको विश्वास पर्नु हुँदैन । तालमेल नगरौं भनि केन्द्रीय समितिमा बोलेको थिएँ’, कोइरालाले भने, ‘सभापति मेरो कुरा सुन्न तयार नै हुनभएन । मैले भनेको पुष्टि भयो नि ।’

सत्ताबाट विमुख हुने परिस्थितिले संस्थापन पक्षमा समेत असन्तुष्टि चुलिएको छ । देउवा पक्षीय केही केन्द्रीय सदस्य उनलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा सहभागी एक नेताका अनुसार ओलीले विश्वासघात गरेको देउवाले उनीहरुलाई सुनाएका थिए । ती नेताले भने, ‘देउवाका नजिकका केही व्यक्तिले गलत सल्लाह दिएका छन । नयाँ परिस्थिति बुझ्न नसक्ने छन् । ती व्यक्तिहरुको भर नपर्न सल्लाह दियौं ।’

पार्टीमा अपजसको पूर्ण भागिदार देउवा भएको भन्दै गरिएको प्रचारप्रति उनी पक्षीय नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । देउवालाई आरोप लगाउने र सहयोग नगर्ने प्रवृत्ति रहेको संस्थापन पक्षीय नेता वीरबहादुर बलायर बताउँछन् । ‘सभापतिलाई दोष लगाउनेहरुले लगाउँछन् । सहयोग नगर्ने अनि दोष सभापतिलाई मात्रै लगाउने ? सबै दोषी छन् ?’ उनले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?