१३ पुस, काठमाडौं । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग चित्त दुखाएर बाहिरिएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टले यसै सिजनदेखि ए डिभिजनमा डेब्यू गर्ने तयारीमा रहेको चर्च ब्वाइज युनाइटेडबाट प्रशिक्षण थालेका छन् ।
पुस १५ गतेदेखि पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकपदेखि अन्जनले औपचारिक रुपमा चर्च ब्वाइजको जर्सी लगाउनेछन् । विगतलाई बिर्सेर नयाँ क्लबलाई सफलताको लक्ष्यमा पुर्याउने जिम्मेवारी आएको उनको बुझाइ छ ।
‘यो क्लब ए डिभिजनमा नयाँ भए पनि बी र सी डिभिजनमा आफूलाई च्याम्पियनका रुपमा प्रमाणित गरिसकेको छ,’ सातदोवाटोमा चर्च ब्वाइजका लागि पहिलो प्रशिक्षण सत्र सकेपछि अन्जनले भने, ‘सामुहिक र सन्तुलित खेललाई विश्वास गछौं । युवा खेलाडीहरुको जोश पनि उत्कृष्ट छ । केहि अनुभवी खेलाडी पनि थपिँदैछन् ।’
यसपल्ट चर्च ब्वाइजले ए डिभिजनमा शानदार रुपमा प्रस्तुत गर्ने योजनाअनुसार खेलाडी अनुबन्धनलाई आक्रामक बनाएको छ । राष्ट्रिय टिमका प्रभावशाली स्ट्राइकर अन्जनसहित आशिष चौधरीलाई अनुबन्धन गरिसकेको छ । अन्य केहि राष्ट्रिय खेलाडीसँग पनि सम्झौतानजिक पुगेको छ ।
चर्च ब्वाइजसँग अन्जनले १ वर्षको सम्झौता गरेका हुन् । तर, दुवै पक्षले रकम सार्वजनिक गरेका छैनन् । अघिल्लो दिन मनाङ छाडेर भोलिपल्टै अर्को क्लबमा अनुबन्धित हुनुलाई धेरैले आर्थिक सम्झौतासँग पनि जोडेर हेरेका छन् । तर, अन्जन आफैं र चर्च ब्वाइजका अध्यक्ष रुवेन राई दुवैले यो आरोपको खण्डन गरे । ‘अन्जनसँग हाम्रो सम्झौता तलब सुविधाको मापनमा मात्र सीमित छैन,’ राईले अनलाइनखबरसँग भने ।
अन्जनले पैसा भन्दा पनि जिम्मेवारी बोध गरी चर्च ब्वाइजमा आएको बताए । ‘हामीलाई फुटबलसँग मात्र मतलव छ । जसले राम्रो फुटबल खेल्छ, टिम राम्रो जसको छ त्यसलाई रोजेको हुँ,’ अन्जनले मनाङबाट यहाँ आउँदा आफूले पैसाका लागि बार्गेनिङ नगरेको दावी गरे ।
राष्ट्रिय टिमका खेलाडीहरु अन्जन र आषिशसँगै अन्य केहि खेलाडी तथा विदेशी खेलाडीको अनुबन्धनका लागि चर्च ब्वाइजले सम्पर्क गरिरहेको छ । सी र बी डिभिजन लिगमा लगातार च्याम्पियन बनेको चर्च ब्वाइजलाई ए डिभिजनमा पनि डेब्यूमै विजेता बनाउने अन्जनको अठोट हो ।
‘योपल्ट धेरै ठाउँबाट अफर आएको थियो । तर, चर्च ब्वाइज नयाँ टिम र नयाँ जोशका साथ आउँदैछ । हाम्रा साथीहरु पनि छन्, जो अनुबन्धनको क्रममा छन्,’ अन्जनले भने, ‘हामी सबै मिलेर नयाँ टिमलाई माथि उठाउने अठोट लिएका छौं । लिग जित्ने हिसाबको लक्ष्य छ ।’
‘मनाङ छाड्नुपर्दा खुसी छैन’
एपीएफ हुँदै करिब चार वर्ष मनाङ मस्र्याङदीमा बिताएका २४ वर्षे अन्जनले मनाङलाई आफ्नो दोस्रो घर बताउँथे । तर, क्लबका केहि पदाधिकारीको व्यवहारका कारण आफूले क्लब छाड्न बाध्य भएको उनले प्रष्ट्याएका छन् ।
मंगलबार साँझ फेसबुकमार्फत समर्थकका लागि जारी गरेको सन्देशमा पनि अन्जनले आफू ‘दोस्रो घर’ छाड्नुपर्दा खुसी नभएको बताएका छन् । ‘म मनाङबाटै खेल्छु भनेर हुर्किएको हो । खेल्न पाए, कप्तानी गर्न पाएँ त्यहाँभित्र बस्ने वातावरण भएन क्लबले भन्दा पनि त्यहाँ भएका एकदुई जना मान्छेहरुले खेलाडीलाई सम्मान गरेनन्,’ उनले भने, ‘ममात्र होइन टिमको कुनै पनि खेलाडीलाई राम्रो व्यवहार गरिएको छैन । सबै पीडित छन् ।’
२०७५ सालमा आयोजित रेलिगेसनबिनाको लिगमा मनाङले उपाधि जित्दा अन्जन टिमका प्रमुख खेलाडी थिए । देशको शीर्ष क्लबबाट पुनः एकपल्ट लिग जित्ने योजना भए पनि त्यहाँ बस्नै नसकिएको उनको भनाइ छ ।
‘सबै कुरा आफूले आफूले मात्र चाहेर नहुने रहेछ । एउटा क्लब र खेलाडीको सहकार्यमा दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ । हामीले हाम्रो तर्फबाट शतप्रतिशत दिँदा पनि क्लबबाट हामीलाई राम्रो व्यवहार भएन,’ उनले थपे ।
 
                    










 २०७९ पुष  १३ गते १५:४१
                        २०७९ पुष  १३ गते १५:४१                     
                         
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4