+
+

पोखराको सडकमै थुप्रियो फोहोर, महानगरले भेटेन ठाउँ

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष १३ गते १६:५६

१३ पुस, पोखरा । फाल्ने ठाउँको टुंगो नलाग्दा पोखरा महानगरपालिकाले फोहोर उठाउनै छाडेको छ । यसअघि फोहोर फाल्दै आएको पोखरा महानगरपालिका–१४, बच्छेबडुँवास्थित ल्यान्डफिल साइटमा फोहोर फाल्न बन्द भएसँगै महानगरले फोहोर उठाउन छाडेको हो ।

पोखरा विमानस्थलको दुई किलोमिटर टाढा रहेको उक्त ल्याण्डफिल साइटमा आउने चराका कारण दुर्घटना हुन सक्ने भन्दै फोहोर फाल्न बन्द गरिएको हो । तर महानगरले वैकल्पिक ठाउँ फेला पार्न नसक्दा फोहोरहरु घर र सडकमै थुप्रिएका हुन् ।

पोखरा विमानस्थलमा १ जनवरी (१७ पुस) देखि व्यवसायिक उडान सञ्चालन गर्ने तयारी छ । महानगरका अनुसार फोहोर फाल्ने नयाँ ठाउँको खोजी भइरहेको छ । त्यसैले फोहोर कहिलेदेखि उठाउने भन्ने प्रश्नको उत्तर महानगरपालिकासँग पनि छैन । ‘अहिले हामी यसको व्यवस्थापनकै प्रक्रियामा छौं । नयाँ ठाउँ खोजेर पनि स्थानीयसँग सहमति गर्नुपर्‍यो, मान्नुपर्‍यो,’ महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले भनिन्, ‘अब कहिलेसम्म उठ्दैन भन्न सकिँदैन ।’

३ दिनदेखि सडकमै फोहोर थुप्रिँदा पर्यटकीय शहर पोखराको सौन्दर्यमा प्रश्न उठेको छ भने कुहिले फोहोरहरुका कारण दुर्गन्धसमेत बढेको छ । विकल्प नभेटिँदासम्म विभिन्न ६ ठाउँमा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने महानगरपालिकाको तयारी थियो । तर, ती ठाउँ वरपरका वासिन्दाले अवरोध गरेपछि महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेन । सरसफाइ महाशाखा प्रमुख बराल भन्छिन्, ‘फोहोर भनेपछि सबैको बुझाइ गलत छ । तर, हामी सकेसम्म प्रयास गर्दैछौं ।’

नेपाल नागरिक उड्ड्यन प्राधिकणले मंसिर ५ गते नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरेको थियो । त्यतिबेलादेखि प्राधिकरणले पोखरा महानगरपालिकालाई बच्छेबडुँवास्थित ल्याण्डफिल साइटमा फोहोर नफाल्न आग्रह गरेको थियो । तर, महानगरले वैकल्पिक ठाउँ खोज्न १८ मंसिरसम्मको समय मागेको थियो ।

१८ मंसिरदेखि महानगरले उक्त ल्याण्डफिल साइटमा औपचारिक रुपमा फोहोर फालेको छैन । तर एक–दुई पटक रातको समयमा फोहोर फालेपछि विवाद भएको थियो । त्यसपछि भने महानगरले फोहोर नै उठाएको छैन ।

तर, विमानस्थलमा नियमित उडान सुरु हुन एक हप्ता बाँकी हुँदासम्म महानगरपालिकाले फोहोर फाल्ने वैकल्पिक स्थान भेट्न सकेको छैन । महानगरको अघिल्लो कार्यपालिका बैठकले पोखरा महानगरपालिका–३२ लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णयसमेत गरेको थियो । त्यहाँका वासिन्दाले विरोध गरेपछि फोहोर फाल्न सकेन । पोखरा शहरमा दैनिक २०० टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?