+
+

उपेन्द्रको प्रस्ताव समाजवादी एकता, झलनाथको जोड वाम ध्रुवीकरण

‘एमाले र माओवादीले वाम एकता गरेकै थिए त्यो टिकेन । उही पात्र र प्रवृत्तिका बीच फेरि जसपाले वाम एकता भन्न सक्दैन् । बरु समाजवादी एकता अहिलेको आवश्यकता हो’ अध्यक्ष यादवको भनाइ उदृत गर्दै ती नेताले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते २०:१५

१५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी एकतामा जोड दिएका छन् । चुनाव अगाडि न नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा छलफल चलाएका अध्यक्ष यादवले चुनाव पछाडि पनि यो प्रयासलाई ठोस रुपमा अगाडि बढाउन चाहेका छन् । समाजवादी एकताको प्रस्ताव लिएर शुक्रबार अध्यक्ष यादवले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरे ।

नेताहरुका अनुसार डल्लुस्थित खनाल निवासमा डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको छ । समाजवादी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार रहे पनि सम्मानित नेता खनाल भने वाम ध्रुवीकरण र एकतामा जोड दिने नेताहरूमध्ये अगाडि देखिन्छन् ।

शुक्रबारको भेटमा पनि यादव र खनालबीच समाजवादी एकता र वाम ध्रुवीकरण र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे विषयमा छलफल भयो ।

‘अध्यक्ष यादवले समाजवादी एकताको विषयलाई आफूले अगाडि बढाउन चाहेको भनी राख्नुभयो । तर, खनालले वाम ध्रुवीकरणमै जोड दिनुभयो’, खनालको निजी सचिवालयले दुई नेताबीच भएको डेढ घण्टा लामो छलफलको निचोड सुनाएको छ ।

नेताहरुका अनुसार ४ मंसिरको आम चुनाव अगाडि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो । तर, त्यसले मूर्त रुप लिन सकेन र त्यसबेला समाजवादी एकताको विषयलाई स्थगित गरिएको थियो ।

चुनावी परिणामले समाजवादी एकताका लागि थप दवाव दिएको अध्यक्ष यादव निकट नेताहरु बताउँछन् ।

तर, एकीकृत समाजवादीमा जनता समाजवादीसँग एकता गर्ने विषयमा एकमत छैन् । खासगरी नेता खनालले समाजवादी एकता भन्दा बढ्ता वाम एकतामा जोड दिँदै आएका छन् । जसपामा पनि नेता अशोक राई लगायतका नेताहरु समाजवादी एकता भन्दा वाम एकताको पक्षमा देखिएका छन् ।

तर, वाम एकतामा आफ्नो राजनीतिक हैसियत नदेखेका जसपा अध्यक्ष यादवले समाजवादी एकतामै जोड दिइरहेका छन् । ‘अध्यक्ष यादव नै वामपन्थी हो । उहाँलाई वाम एकताका लागि कुनै समस्या छैन्, बरु वाम ध्रुवीकरण र एकताको वातावरण बनाउन उहाँले भूमिका खेल्नुपर्छ’, समाजवादीका खनाल निकट एक नेता भन्छन् ।

अध्यक्ष यादवले भने वाम एकताको प्रयास विगतमा असफल भएको तर्क गरिरहेका छन् । ‘एमाले र माओवादीले वाम एकता गरेकै थिए त्यो टिकेन । उही पात्र र प्रवृतिका बीच फेरि जसपाले वाम एकता भन्न सक्दैन् । बरु समाजवादी एकता अहिलेको आवश्यकता हो’, अध्यक्ष यादवको भनाइ उदृृत गर्दै ती नेताले सुनाए ।

समाजवादी एकतामा स्वयम् माओवादी तयार हुनुपर्ने जसपा नेताहरुको भनाइ छ । चुनाव अगाडि नै समाजवादी केन्द्र निर्माणको पैरवी माओवादीले गरेका कारण त्यसबाट अहिले पछाडि फर्किन नहुने जसपा नेताहरुको भनाइ छ । एमालेले सरकार निर्माणमा साझेदारी लिएर सहयोग गरेको स्मरण गर्दै साझेदारीकै हदसम्म त्यसलाई राखेर समाजवादी केन्द्र निर्माणका माओवादी तयार हुनुपर्ने उनीहरुको तर्क छ । तर, अहिले अध्यक्षज्युले माओवादीसहितको समाजवादी एकता भन्दा एकीकृत समाजवादी र जसपाबीच एकताको प्रयास गर्नुभएको हो’, यादव निकट नेताको भनाइ छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत एकीकृत समाजवादीबाटै एकताका लागि प्रस्ताव आएको बताउँछन् । उनका अनुसार उपेन्द्र यादव र माधव नेपालबीचको भेटमा पनि एकताको विषयमा अनौपचारिक छलफल भएको छ । तर ठोस रुपमा समाजवादी एकताको विषय अगाडि बढिसकेको भने छैन् । उनी भन्छन्, ‘एमालेसँग पनि उहाँहरुको एकताको विषय अगाडि आएको छ । यस सन्दर्भमा एकीकृत समाजवादीले के चाहेको प्रष्ट भएपछि यसले एउटा आकार लिन सक्छ ।’

एकताका सन्दर्भमा दुबै पार्टीमा दुई÷दुई धार देखा परेको दुबै पार्टीका नेताहरु स्वीकार्छन् । ‘स्वभाविक रुपमा एकीकरण प्रक्रियामा जोडिनुहुन्न भन्ने केही छन् । जोडिनुहुन्न भन्नेहरुको तर्क सैद्धान्तिक, वैचारिक विषय नै हो’, जसपाका प्रचार विभाग प्रमुख बस्नेत भन्छन् ।

जसपा नेता राजकिशोर यादव विचारमिल्ने पार्टीसँगको एकता लगायत आगामी यात्राबारे शनिबार बस्ने कार्यकारिणी समिति बैठक र यही पुस १७/१८ गते बस्ने राजनीतिक समितिको बैठकमा छलफल हुने बताउँछन् । ‘हामी छलफल गर्छौं र आगामी यात्रा कसरी तय गर्ने भनेर पार्टीको ठोस धारणा ल्याउँछौं’, यादवले अनलाइनखबरसित भने ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्ननाथ खतिवडा पनि समाजवादी एकताको विषयमा शीर्ष तहमा छलफल भइरहेको बताउँछन् । तर, यसले तत्कालै आकार लिनेमा भने उनलाई आशंका छ । ‘चुनाव अगाडि पनि समाजवादी केन्द्र निर्माणको प्रयास भएको हो । तर, त्यो छलफलको गर्भमै रह्यो । यसपटक फेरि छलफल भएका छन् । तर, पार्टीमा आधिकारिक रुपमा छलफल हुने तहमा आइपुगेको छैन्’, पार्टीभित्र अन्य पार्टीसँग एकता भन्दा पार्टी निर्माणमै लाग्नुपर्ने मत रहेको पनि उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?