+
+

‘प्रधानमन्त्रीले यसपटक गुन तिर्छु भन्नुभएको छ’

तीनचोटी जितेर मन्त्री नपाएको सांसद कोही छैन । मबाट पार्टीलाई धोका हुने काम कहिल्यै भएको छैन, मूल्य–मान्यतामा उभिएको छु । लुछाचुडी हुँदा पनि म हुनुपर्छ भनेर कहिल्यै दबाव दिइनँ । अध्यक्षले सुदन किरातीलाई व्याजसहित ऋण तिर्नुपर्छ, रोजेको मन्त्रालय दिनुपर्छ भनेर बोल्नुभएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते १९:०८

१६ पुस, काठमाडौं । एकपछि अर्को चुनावमा नेकपा (माओवादी केन्द्र) को आकार खुम्चिदै गएको छ । यसपटक पनि धेरै माओवादी नेता चुनावमा पराजित भए । भोजपुरबाट भने सुदन किराती तीन पटक निर्वाचित भए ।

लगातार तेस्रो पटक चुनाव जितेका उनी यसपटक भने मन्त्री नियुक्त हुने आशामा छन् । प्रस्तुत छ, अनलाइनखबरकर्मी रामकुमार डिसीले किरातीसँग गरेको कुराकानी :

लगातार तेस्रो पटक निर्वाचित हुँदाको अनुभव कस्तो छ ?

जनताले यसपालि हामीले सोचेजस्तो भोट खसाएनन् । ६०–६५ प्रतिशत भोट खसेको भए हाम्रो जित अलिक सहज हुन्थ्यो । ५० प्रतिशत मात्र मतदान भएकाले प्रतिस्पर्धा एकदमै पेचिलो थियो ।

गठबन्धनबाट चुनाव जित्नुभयो । अन्यत्र भोट ‘ट्रान्सफर’ भएन भन्ने सुनियो । तपाईंको हकमा कस्तो भयो ?

पार्टीहरुले उर्दी गरेको बाटोमा जनता हिँड्न छोडे । मेरो हकमा भने त्यहाँको माटोसँग सधै घुलमिल भएको पात्र भएकाले सहज रुपमा स्वीकृत भएँ । नयाँ उम्मेदवार गएपनि भोट ट्रान्सफर भइहाल्छ भन्ने सोचेको भए परिणाम उल्टो हुने देखियो ।

तपाईंलाई त्यहाँका जनताले पटक–पटक जिताएरै पठाउनुपर्ने कारण के रहेछ ?

हामी कम्युनिष्ट हौं । हाम्रा गुरुहरुले सुस्पष्ट बाटो देखाउनुभयो । काल माक्र्सले दर्शन, लेलिनले राज्यसत्ता र माओले जनता चिनाउनुभयो । म जहिल्यै जनताको साथमा छु । मेरो गुण यही हो जस्तो लाग्छ । जनताले गुणको जवाफ गुणैले दिए ।

जनताका स–साना कुरा सुनिदिनाले, काम गरिदिनाले चुनाव जितेको भन्ने हो ?

हामी ठूल्ठूला परियोजनाको कुरा गर्छौं । हामीलाई ‘गेमचेन्जर’ आयोजनाहरु चाहिन्छन् पनि । तर, जनता सा–साना कुराले समस्यामा परिरहेका हुन्छन् ।

यसपालिको चुनावमा पनि मलाई त्यही अनुभव भयो । बजार र बुद्धिजीविमाझ जाँदा सडक, पुलहरु चाहिन्छ भन्ने कुरा आयो । गाउँमा पुग्दा बिजुलीको पोलको विषय पाँच वर्षदेखि अड्किएको पाएँ । १३० घरको एउटा गाउँमा ट्रान्सफर्मर नभएर बिजुली नबलेको रहेछ ।

जनतालाई सियो, धागो चाहिएको छ, हामी तरबार दिने रहेछौं । यो चिजको पनि सापेक्षता हुँदोरहेछ भन्ने गहिरो महसुस छ मलाई ।

ठाउँ अनुसार जनताका मागहरु छन् । गाउँमा बाँदर आतंक यति ठूलो छ कि गाउँलेहरु बसाईँ हिँड्न बाध्य छन् । ती मान्छेका पीडा पेटी, सुकुल–गुन्द्रीमा बसेर मात्र सुन्न बुझ्न सकिन्छ ।

मेरा प्राध्यापक भनेका तिनै गाउँले र विश्वविद्यालय गाउँहरु हुन् । उहाँहरुले बाँदरको कुरामा आजित हुँदै भन्नुभयो– सरकारी मान्छे तरकारी रोप भन्छन् । अर्को आएर वन बढाउन भन्छ । वनबाट स्याल आएर कुखुरा खाइदिन्छ । कुखुराले साग खाइदिन्छ । कसैले वनमा डढेलो लगाइदिन्छ, अन्तिममा हामी नांगै ।

जनताले प्रकट गर्ने इच्छा के हुँदो रहेछ ?

जनता त आप्mना प्रतिनिधिलाई नजिक पाउँदा पनि आनन्द मान्छन् । जनता रिसाउँछन् पनि । वडाध्यक्षले काम गरिदिएन भनेर मलाई फोन गर्छन् ।

जनताको कुरा सुनेपछि दिमागमा बनेका योजना के–के छन् ?

सांसद मात्र रहे नीतिका कुरा उठाउने हो, कार्यकारी पदमा गए नीति कार्यान्वयन गर्ने हो । सांसद मात्र भए जनताको आवाज उठाउने, अधुरा योजना र नयाँ प्रतिवद्धताहरु पुरा गर्नेतिर लाग्ने हो । पुलपुलेसा, बाटोघाटो सारा कुरा सांसदसँग जोडिदिएको नबिर्सने हो ।

तपाईंको पार्टीको जनमत निरन्तर घट्दो छ । तपाईं सफल भइरहने पार्टी चाहिँ घटिरहनुको कारण के हो ?

पार्टी कहिले ठूलो होला, कहिले सानो । एजेन्डाका दृष्टिले भने हामी अगाडि छौं । तर, एजेन्डा र सिद्धान्तले मात्र भोको पेट भरिन्न । त्यस निम्ति जनजीविकाको सवालले महत्व पाउनुपर्छ ।

पढाइमा मास्टर्स गरेको मान्छेले प्रमाणपत्र सिरानीमा राखेर आँसुले भिजाउन परेको अवस्था छ अहिले । विमानस्थलमा हरेक दिन १२–१५ सय मान्छे लाइन लागेको हुन्छ । बाकसमा लास आउने त्यत्तिकै छ ।

गाउँमा किसानको किवीलाई किलोको ४० रुपैयाँ भाउ छैन, सहरमा भारत, न्युजिल्याण्डबाट आयातित किवी किलोको ५–६ सयमा बिक्री भइरहेको छ । हाम्रो पार्टीको घोषणा पत्रमा भएको जनजीविकाको सवालमा हेलचेक्र्याई हुँदा आज यस्तो भएको छ ।

किन भइरहेको छ यस्तो ?

सरकारले बजार नियन्त्रण गर्न सकेको छैन । असली किसानले मल–बीऊ पाउँदैन, झोले किसानले करोडौं सरकारी अनुदान उडाइरहेको छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राजनीतिकरण भएको छ ।

व्यवहारमा उतार्न नसके सिद्दान्त अर्थहीन हुन्छ । सिद्धान्तको माला जपेर बस्ने दिन पनि गइसके । डेलिभरी दिन नसके जनताले हामीलाई पर्खेर बस्दैनन् ।

अघि तपाईंले माओवादी कमजोर भएको कुरा गर्नुभयो । हामी जनयुद्धमा जाँदा ९ सिटको थियौं । जनयुद्धबाट फर्केर सबभन्दा ठूलो दल भयौं । अहिले तेस्रो भएका छौं । अब ‘रिभाइभ’ हुन निकै ठूलो कसरत गर्नुपर्नेछ ।

धेरैले माओवादी पार्टी अब ‘रिभाइभ’ हुन नसक्ने बताउन थालेका छन् । तपाईंका विचारमा सुधारका लागि के गर्न सकिन्छ ?

माओवादी पार्टी नभएको भए आज यो देश संघीय गणतन्त्र हुने थिएन । सामाजिक रुपान्तरण पनि हुने थिएन । यति ठूलो विचार बोक्ने पार्टीले आप्mनो अवस्था बदल्न सक्नुपर्छ, सक्छ । समाप्त नै भएछ भने पनि अर्को रुपान्तरकारी शक्ति निर्माण भइहाल्छ नि ।

यसका लागि मुख्य नेतृत्व तयार छ ?

तमाम बिषयमा तीतोमिठो समीक्षा गरेर अगाडि बढ्नपर्छ भन्ने अनुभूति नेतृत्वमा छ । कहाँ कमजोरी भयो, कहाँ कमजोरी भइरहेको छ भन्ने कुरा नेतृत्वले बुझेको छ । धारा–धारामा विभाजित माओवादी नेताहरुले पनि समीक्षा गर्दै होलान् ।

सरकारमा नजाने कि भन्ने कुरा पनि माओवादीमा उठेको थियो । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भइसकेपछि त्यो सन्दर्भ सकियो । तेस्रो पार्टी भएपनि पाएको यो अवसर सदुपयोग गर्न सरकारले सक्ला त ?

हामीले नेतृत्व पाउने अवस्थामा सरकारमा जाने भन्ने नै थियो । अब चुनौतीलाई अवसरमा बदल्ने बेला आएको छ । हामीले जनजीविकाको प्रश्नलाई प्रखर रुपले उठाउनुपर्छ । जनतालाई डेलिभरी दिनुपर्छ ।

प्रधानमन्त्रीको पहिलो निर्णय नै पासपोर्ट र लाइसेन्समा लाइन हटाएर सुलभ सेवा दिने भन्ने छ । त्यसबाट हाम्रो काम सुरु भएको छ ।

अहिले २०–२५ हजार दिन सक्नेको घरमै लाइसेन्स आउँदोरहेछ । नसक्नेले चाहिँ रातिदेखि नै लाइनमा बस्नुपर्ने रहेछ । राति १२ बजे नै लाइनमा बस्दा पनि भित्र ‘इन्ट्रि’ नपाउने अवस्था रहेछ ।

बेथिती धेरै नै छ है ?

बेथितीको त सगरमाथा नै छ । त्यसलाई सच्याउनु छ ।

नयाँ प्रधानमन्त्रीले त्यो हटाउन सक्नुहोला त ?

नसकी त सुखै छैन ।

तपाईं तीन पटक निर्वाचित भएर आइसक्नुभयो । यो पालि प्रचण्डको क्याबिनेटमा पर्नु होला त ?

परिन्छ होला । किन पनि भने, तीनचोटी जितेर मन्त्री नपाएको सांसद कोही छैन । मबाट पार्टीलाई धोका हुने काम कहिल्यै भएको छैन, मूल्य–मान्यतामा उभिएको छु । लुछाचुडी हुँदा पनि म हुनुपर्छ भनेर कहिल्यै दबाव दिइनँ ।

अध्यक्षले सुदन किरातीलाई व्याजसहित ऋण तिर्नुपर्छ, रोजेको मन्त्रालय दिनुपर्छ भनेर सार्वजनिक सभाहरुमा बोल्नुभएको छ । मेरो किताब बिमोचनमा पनि उहाँले त्यही कुरा भन्नुभयो । यी कारणहरुले गर्दा मेरो नाम पहिलो सूचीमै आउने सम्भावना छ यसपालि ।

प्रधानमन्त्री बनेपछि पनि पार्टी अध्यक्षबाट त्यस्तो संकेत आएको छ ?

उहाँ प्रधानमन्त्री भएको अघिल्लो दिन भेटेर फिल्ड रिपोर्टसहित केही सुझाव पनि राखेको थिएँ । उहाँले तपाईंका बारेमा कुनै विवाद छैन, यसपालि राम्रै हुन्छ भन्नु भएको थियो । त्यसपछि भेट भएको छैन । फुल, उपहार बोकेर घरमा धुइरो लाग्ने बानी मेरो छैन ।

तपाईंको रोजाइको मन्त्रालय चाही कुन हो ?

मैले अध्यक्षसंग मागेको चाहिँ सिधै जनतासँग जोडिएको, काम देखाउन सकिने मन्त्रालय हो । सभा–गोष्ठी, भ्रमण गर्ने मन्त्रालय मलाई चाहिँदैन । तर, सरकारमा यति धेरै दल छन्, नेतृत्वलाई अप्ठ्यारोमा पार्नु पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?