+
+

नेवारी भोजनको पारखी हुनुहुन्छ ? ‘भुटु’ पुग्नैपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ७:३०

काठमाडौं । नेवारी भोजनको पारखी हुनुहुन्छ भने ‘भुटु’ त पुग्नैपर्छ । तिक्खर बफ छोयला, कचेला, भुटन, फोक्सो फ्राइ, जिब्रो फ्राइ, सुकुटी अनि धनियाँ र गोलभेंडाको अचार । त्यसमा चिउरा थपेपछि अरु के चाहियो ?

परम्परागत नेवारी मासुको यो थालीले आगन्तुकलाई तृप्त तुल्याउँछ । नेवारी मिट प्लाटर अर्थात् मासुको थाली मात्र होइन, अरु थुप्रै नेवारी स्वाद चाख्नका लागि पनि भुटु गज्जब गन्तव्य हुनसक्छ । भनिहालौं, भुटु बुटिक रेस्टुरेन्ट पुग्न तपाईंले ठमेलको चर्चित रात्रिक्लब एलओडीलाई पछ्याए हुन्छ । एलओडीको मूल गेटबाट थोरै अगाडि बढ्नासाथ भुटुको प्रवेशद्वारमै पुग्नुहुनेछ ।

‘भुटु’ खासमा नेवारी पाकशाला हो । भुटुको अर्थ नै परम्परागत नेवारी चुल्हो हो । यसका सञ्चालक राजु सिंह भन्छन्, ‘नेवारी भान्सामा जस्तै हामीले परम्परागत ढंगले विभिन्न परिकार पस्किएका छौं ।’ खासगरी नेवारी व्यन्जनमा खोकनाको तेल, घरमै पिसेको मरमसला प्रयोग गरिन्छ ।

थाहा भएकै कुरा हो, नेपालको भोजन भण्डारमा नेवारी व्यञ्जनको आफ्नो विशिष्ट स्थान छ । समयबजी, छोयला, कचिला, बारा, चटामरी, यमोरी जस्ता परम्परागत व्यञ्जन नेवारी भान्साबाट अहिले पाँचतारे होटलदेखि विश्वका कतिपय रेस्टुरेन्टसम्म फैलिसकेको छ । नुनिलो, पिरो, टर्रो, अमिलो स्वाद मिश्रित नेवारी व्यञ्जन नेपाली पाकशालाको मौलिक परिचय पनि हो ।

भुटुको भोजन

नेवारी व्यञ्जनको जति बखान गरे पनि पुग्दैन । अनि खानेकुराको बखानभन्दा पनि स्वाद लिने हो । स्वादका लागि त भुटु पुगे हुन्छ, जहाँ तपाईंले थरीथरी नेवारी व्यन्जन चाख्नुहुनेछ । त्यसमध्ये पनि भुटुको विशेष भनेको चाहिं मिट प्लाटर अर्थात् मासुको थाली हो ।

मासुको थालीमा छोयला, कचेलादेखि चार-पाँचथरी मासुको परिकार पाइन्छन् । त्यस्तै बफ सेकुवा यहाँ धेरै रुचाइने परिकारमध्ये पर्छ । नेवारी मिट प्लाटर, भुटु सुकुटी, भुटु आलु, बन्दीपुर चिकेन चाहिँ छुटाउन हुन्न । यद्यपि नेपाली दालभातदेखि इटालियन तथा कन्टिनेन्टल परिकार यहाँको भान्सामा पाक्छ ।

मदिराको चुस्कीमा रमाउने हो वा तात्तातो कफीको स्वादमा ? परम्परागत नेवारी भोजनले स्वाद फेर्ने हो वा कन्टिनेन्टलले ? तपाईंका लागि सबै सुविधा उपलब्ध छ । किनभने भुटु पुग्नु भनेकै स्वादका लागि हो ।

‘हामीले सबैभन्दा बढी ध्यान दिने भनेकै यहाँको परिकारमा हो,’ सञ्चालक राजु सिंह भन्छन्, ‘त्यसैले हामी घरेलु मरमसलालाई घरेलु तरिकाले नै पकाएर पस्किने गर्छौं ।’ गीत सुन्ने, सेल्फी खिच्ने भन्दा पनि परिकारकै स्वाद लिने हो भने भुटु सही गन्तव्य हुन सक्छ ।

सहज अनि शान्त पनि

भुटुको माहौल शान्त छ । फराकिलो अनि खुला ठाउँ । तपाईं एक्लै जानुहोस् वा साथीभाइसँग । बस्नका लागि खोजेजस्तै स्थान भेट्नुहुनेछ । त्यसो त पारिवारिक माहोलमा रमाउन चाहनुहुुन्छ भने पनि भुटुले स्वागत गर्नेछ ।

अलग्गै परिवारसँग बसेर मीठोमसिनो परिकार खानका लागि पनि यहाँ उपयुक्त ठाउँ छन् । भुटुमा एकसाथ दुई सय जनाले बसेर खानको आनन्द लिन सक्छन् । यो कुनै एकखाले ग्राहकका लागि मात्र होइन, सबैथरीका लागि उत्तिकै उपयुक्त छ । त्यसैले त यहाँ विदेशी आगन्तुकदेखि रैथानेहरुसम्मको जमघट हुन्छ ।

भुटुमा पार्किङको व्यवस्था छ । चिया–नास्ताका लागि बिहान ७ बजेदेखि यसको ढोका खुल्छ । खाजा, नास्ताका लागि भने ११ बजेपछि भुटुको भान्सा खुला हुन्छ । राति १० बजेसम्म यहाँको सेवा सुचारु रहन्छ ।

डिजेइङ छुट्यो, रेस्टुरेन्ट अविछिन्न रह्यो

सञ्चालक राजु सिंह

अब कुरा गरौं, सञ्चालक राजु सिंहकै । उनको खास चिनारी त डिजेइङको रुपमा छ । जतिबेला नेपालमा डिजेइङ संस्कृति सुरु हुँदै थियो, त्यसको जग बसाल्नमा राजु सिंहहरु अग्रपंक्तिमा खटिन्थे । उनले पूर्णकालीन डिजेको रुपमा एक दशक बढी काम गरे ।

‘च्याङ्बा होइ च्याङ्बा’, ‘तिम्रो त्यो हँसिलो मुहारको’ जस्ता गीतलाई डिजेइङ भर्सनमा ल्याएका राजु खासमा खानपानका सौखिन रहेछन् । त्यही कारण उनले डिजेइङसँगै रेस्टुरेन्ट व्यवसायमा पनि हात हाले ।

‘म खानाको सौखिन मान्छे, त्यही भएर विगत १३ वर्षदेखि रेस्टुरेन्ट व्यवसायमा लागिरहेको छु,’ राजु भन्छन्, ‘डिजेइङमा भने विगतमा जस्तो सक्रिय रहन सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?