+
+

पोखरा विमानस्थलमा तामझाम, भैरहवामा एउटै छैन अन्तर्राष्ट्रिय उडान

जजिराले किन रोक्यो भैरहवा उडान ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ पुष १७ गते १९:५५

१७ पुस, काठमाडौं । आइतबार उत्साहपूर्वक पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । तर, यही समयमा भैरहवामा गत २ जेठमा उद्घाटन भएर सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । यसले नेपालमा राष्ट्रिय गौरबका आयोजनाका रुपमा एकैसाल निर्माण सकिएका दुई विमानस्थलले भविष्यमा कसरी सञ्चालन खर्च उठाउलान् भन्ने चिन्ता थपेको छ ।

८ महिनाअघि तामझामसहित सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग एउटा पनि अन्तर्राष्ट्रिय उडान तालिका छैन । फाट्टफुट्ट आउने चाटर्ड विमानबाहेक कुनै अन्तर्राष्ट्रिय वायुयान नआएपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल झन् सुनसान बनेको छ । उद्घाटनयता जजिरा एयरलाइन्सले नियमित उडान गरेका कारण एक सय ५४ वटा उडान र अवतरणबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका छन् ।

तर, अब जजिरा एयरलाइन्सले भैरहवाका आफ्ना नियमित उडानहरु काठमाडौं सारेको छ । हप्ताका तीन दिन शनिबार, मंगलबार र बिहीबार उडान गरिरहेको जजिराले उडान–अवतरण समस्याको कारण देखाउँदै भैरहवाबाट उडान बन्द गरेको हो । झन् अब विदेशबाट आउने चार्टर्ड उडानमा मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको ‘बिजनेस’ सीमित भएको छ ।

भैरहवा विमानस्थलका प्रवक्ता सुवास झा बिहानको समयमा विमानस्थलमा लाग्ने बाक्लो हुस्सुका कारण प्राविधिक समस्या परेपछि जजिराले आफ्ना उडान काठमाडौंमा ल्याएको बताउँछन् ।

‘२० डिसेम्बरदेखि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान ठप्प छ,’ उनले भने, ‘बिहान जजिरा एयरलाइन्सको विमान आउने समयमा पटक–पटक अवतरणमा समस्या परेर लखनउमा डाइभर्ट भइरहनु परेपछि जजिराले भैरहवाबाट तत्कालका लागि उडान रोकेको हो ।’

मौसमका कारण लखनउ जानुपर्दा जजिराले सञ्चालन खर्च बढेको गुनासो गरेको थियो । त्यसको आधारमा अझै २ हप्तासम्मका लागि भैरहवाबाट जजिराको उडान तालिका ‘सस्पेन्ड’मा राखिएको छ ।

झाका अनुसार मौसम राम्रो हुँदै गएपछि जजिराको पुराना उडान भैरहवा नै फर्किने अपेक्षा छ । जजिराले सुरुदेखि नै भैरहवाबाट हप्तामा ३ वटा उडान गरेको थियो । गत दशैंको समयमा यात्रुको चाप बढेपछि हप्प्ताको सातै दिन विमानस्थल सञ्चालनमा थियो ।

तर, यात्रुको चाप घटेसँगै जजिरालो पुनः हप्तामा ३ वटा उडान गरिरहेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले १३ कात्तिकदेखि नेपाली वायुसेवा कम्पनीलाई ‘विन्टर सिजन’को उडान तालिकामा भैरहवाबाट नियमित उडान गर्न बाध्य पारेको थियो । त्यसका लागि नेपाल वायुसेवा निगमको दिल्ली उडानको तालिका नै कटौती गरिएको थियो ।

त्यसपछि निगमले मलेसियाबाट काठमाडौं फर्किने विमानलाई भैरहवामा ट्रान्जिट गराउने बताएको थियो । तर, त्यसअनुरुप उडान गर्दा कम्पनीहरुले घाटा बेहोर्न पर्ने भएपछि निर्णय कार्यान्वयन भएन ।

१७ कात्तिकबाट हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डिलिङको सुविधा दिने शर्तमा मलेसियाबाट भैरहवामा दैनिक चार्टड उडान थालेको थियो । तर, हिमालयले प्रतिवद्धताअनुरुप चार्टर्ड उडान गरेन भने प्राधिकरणले हिमालयले यसअघि पाएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिपत्र पनि खारेज गरिरिदएको छ । जसले गर्दा हिमालय एयरलाइन्स र प्राधिकरणबीच मनमुटावको अवस्था सिर्जना भएको छ ।

यस्तो अवस्थामा जजिराले नियमित उडान पनि रोकेपछि भैरहवा आन्तरिक हवाई अड्डाका रुपमा मात्रै चलिरहेको छ । यूएईबाट उडान गर्न इच्छा देखाउँदै टिकट बेच्न समेत अनुमति लिइसकेको ‘विज’ एयर’ अन्तिम समयमा भैरहवाबाट उडान गर्न नसक्ने भन्दै पन्छिएको छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु आउने आशामा विमानस्थल त २४ घण्टा नै खुला छ, तर भैरहवामा अन्तर्राष्ट्रिय वायुयान र यात्रु छैनन् । अझ भइरहेको उडान समेत मौसमको कारण देखाएर काठमाडौं सारिएपछि प्राधिकरणभित्रै विमानस्थलको भविष्यप्रति चिन्ता व्यक्त भइरहेको छ ।

आईएलएस नचल्दा पाएको बिजनेस पनि गुम्यो

तर, प्राधिकरणका एक अधिकारी विमानस्थलको सुरक्षा सम्बद्ध आधुनिक उपकरण भने चलाउन भारत सरकारले अनुमति दिए मौसमी कारणले यसरी उडान–अवतरण रोकिने अवस्था नै नरहेको बताउँछन् ।

कमजोर भिजिबिलीटी हुँदा पनि उडान–अवतरण गर्न सकियोस् भनेर भैरहवाको विमानस्थलमा झण्डै एक अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरवाहीका कारण आईएलएस भारत सरकारको अनुमतिविना प्रयोग हुन नसक्ने अवस्था छ ।

आईएलएस एक चुस्त रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरुलाई रातमा वा खराब मौसममा रन–वेमा ‘अप्रोच’ गर्न उपकरणबाटै मार्गदर्शन दिन्छ । यो प्रणाली जडानपछि करिब ५०० मिटरको मात्रै भिजिबिलिटीमा नै विमान अवतरण गर्न सकिन्छ ।

नेपालमा आईएलएस जोडिएको गौतमबुद्ध नै पहिलो विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आइतबार उद्घाटन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भिजुअल फ्लाइट रुल्स (भीएफआर) अर्थात् तोकिएको ‘भिजिबिलिटी’ पुरा भएको अवस्थामा मात्रै विमान अवतरण हुने प्रणाली छ ।

गौतमबुद्ध विमानस्थलमा जडान गरिएको आईएलएसले खराब भिजिबिलिटीमा पनि रेडियो संकेतमार्फत अवतरणमा चालक दललाई ‘गाइड गर्छ । क्याटेगोरी अनुसार प्रणालीको कार्यदक्षता फरक छन् । प्राधिकरणले सुरुमा आईएलएसको क्याटेगोरी–१ (पुरानो) को उपकरण जोड्ने गरी डिजाइन गरेको थियो, जसको फ्रिक्वेन्सी नेपाली भूमिभित्र रहने निश्चित गरिएको थियो ।

तर, निर्माणका क्रममा आईएलएसको क्याटेगारी–२ (मध्यम दक्षताको) करिब ५० करोडभन्दा बढीका उपकरणहरु जोडिएका छन् । प्राधिकरणले क्याटेगारी–२ को मापदण्डअनुसार नै विमानस्थलको रन–वेमा लाइटिङ सिस्टमको पूर्वाधारमा थप करिब २५ करोड खर्च गरेको छ ।

असावधानीका कारण यो उपकरणको रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने एंगल र कभरेज एरियाको केही भाग भारतीय भू-भागमा पनि परेपछि आईएलएस सञ्चालनको प्रोसिड्योरलाई नेपालसँगै भारत सरकारले पनि स्वीकृत गर्नुपर्ने अवस्था आएको हो । आईएलएस प्रयोगको अनुमति माग्दै नेपाल सरकारले पटक–पटक पत्राचार गरेको छ, तर भारतले कुनै जवाफ दिएको छैन । अधिकारीहरुका अनुसार भारतले आफ्नो कुशीनगरस्थित विमानस्थलमा असर पर्ने भन्दै आईएलएस प्रयोगका लागि ‘नो अब्जेक्सन’ दिन मानेको छैन । यदि भारतले प्रोसिड्योर स्वीकृत नगरेमा आईएलएस प्रविधिको प्रोसिड्योर अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)बाट स्वीकृत हुँदैन ।

विमानस्थलका प्रवक्ता झा भारतबाट अनुमति नपाएका कारण आईएलएसको वैधानिक प्रयोग गर्न नसकिएको बताउँछन् । आईएलएस प्रयोग गर्न सकिए शीतलहर चल्दा वा ठूलो वर्षात भइरहँदा भैरहवामा विमान अवतरण र्गा सकिने हुन्छ ।

‘कमजोर भिजिबिलिटीका कारण उडान–अवतरण हुन नसक्दा आईएसलको प्रयोगले धेरै हदसम्म सहज हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, भैरहवामा विहान आईएलएस प्रयोग गर्दा पनि समस्या पर्ने खालको मौसम हुन्छ ।’

 

भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएपछि नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पुगेर उडान नियमित गर्न माग गरेका छन् । त्यहाँका कर्मचारीलाई ढाका टोपी लगाइदिंदै उनीहरुले लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताका लागि सक्रिय हुन आग्रह गरे ।

पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र भैरहवा आसपासमा विमानस्थल लक्षित गरेर सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भइरहेको बताए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएको भन्दै पर्यटन व्यवसायीले तत्काल आईएलएस सञ्चालन गर्न माग गरेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?