+
+

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १३:१६

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् ।

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो ।

तर, साह ज्ञापनपत्र बुझ्न पुगेनन् । बालेनको सचिवालयले मेयरलाई माघको पहिलो हप्तासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेललाई अकुपाई टुडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताए ।
साह नआएपछि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझेका छन् ।

ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताइन् ।

‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन,’ उनले भनिन्,’लोकतान्त्रिक पद्धति सबैभन्दा माथि जनता हो । जनतासँग परामर्शविना कुनै काम महानगरले केही गर्दैन ।’

ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताए । ‘वरिपरि सबैतिर पार्किङ हुदा फेरि त्यहीँ किन चाहियो ? काठमाडौको जनभावाना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत हुदैन,’ उनले भने,’जनताको कुरा सुन्न पर्छ, बरु अझै नयाँ खुला पार्क बनाउनुपर्छ । टुडिँखेल भित्र कुनैपनि हालतमा पार्किङ हुनुहुदैन ।’

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिको गेटमा धर्ना दिन पुगेका थिए ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको थियो ।

टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो । सो अभियानमा ऐक्यबद्धता जनाउन आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको हो ।

यसअघि स्थानीयहरुले सार्वजनिक रुपमा नै योजनामा अघि नबढ्न महानगरपालिकालाई चेतावनी दिंदै आएका थिए । तर, महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाइछाड्ने बताएपछि आन्दोलन सुरु भएको छ ।

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।

महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।

महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि स्थानीयदेखि शहरी यातायात विज्ञहरूसम्मले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?