+
+

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने बालेनको योजनामा उपमेयरको फरक मत

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष १८ गते २०:५४

१८ पुस, काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयको विरोधमा रहेको स्थानीय वासिन्दा र सम्पदाप्रेमीले सोमबार काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन गरे ।

प्रदर्शनपछि ज्ञापनपत्र बुझाउन गएका उनीहरुले मेयर बालेन्द्र (बालेन) शाहलाई भेट्न पाएनन् । उपमेयर सुनीता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै उनले अभियन्ताहरुसँग भनिन् ‘जनतासँग छलफल खुल्लामञ्चबारे कुनै निर्णय हुँदैन ।’

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार पार्न नगर विकास कोषलाई जिम्मा दिने निर्णय गरेको थियो । तर उपत्यकाको मुटुमा रहेको टुँडिखेलको खुला क्षेत्र मास्न नहुने भन्दै स्थानीय वासिन्दा र संरक्षणकर्मीहरु विरोधमा छन् ।

विगतदेखि नै अकुपाई टुँडिखेल नाममा टुँडिखेल संरक्षणको आवाज उठाउँदै आएको समूहले सोमबार महानगरपालिकालाई ज्ञापनपत्र बुझाउन गएको थियो ।

अभियन्ताहरुका अनुसार मेयर बालेनले माघको पहिलो सातासम्म आफूलाई फुर्सद नभएको भन्दै भेट्न अस्वीकार गरेका थिए । अभियन्ता आलोक मानन्धर खुल्लामञ्चको विषयमा बालेनले बेवास्ता गरेको बताउँछन् ।

‘उहाँलाई जिताएर पठाएको हो तर उहाँ के बन्न खोज्दै हुनुहुन्छ, थाहा छैन । कुरै नसुन्ने, छलफल नै नगर्ने पनि हुन्छ ? बारम्बार भेट्न खोज्दा बेवास्ता गरेपछि हिजो (आइतबार) मात्रै मेल रिप्लाई आयो त्यो पनि अहिले भेट्न नमिल्ने भन्दै ।’

उनले मेयर बालेनमा ‘म राजा, तिमीहरु रैती’ भन्ने प्रवृत्ति देखिएको बताए । महानगर जबरजस्ती अगाडि बढे थप आन्दोलनको कार्यक्रम तय गर्नुपर्ने मानन्धरले बताए ।

‘अकुपाइ टुँडिखेल’ अभियानका प्रवक्ता सञ्जय अधिकारीले मेयर बालेन जनप्रतिनिधि बन्न छोडेर शासक बन्न खोजिरहेको आरोप लगाए । ‘रक्षक हुन छोडेर भक्षक हुन खोज्नुहुन्छ भने उहाँहरुलाई हामीले सर्वोच्च अदालतमा फेस गर्ने हो । यदि महानगरले जनताको कुरा सुनेन भने हाम्रो अभियान आन्दोलनको रुपमा परिणत हुनसक्छ’ उनले भने ।

अधिकारीका अनुसार स्थानीयवासिन्दा र संरक्षणकर्मीसँग मेयर पन्छिरहेका छन् । तर उपमेयरले भने केही हदसम्म कुरा सुनेको उनले बताए ।

‘मेयरबाट केही सुनुवाइ भएन तर कम्तीमा उपमेयरले त सुन्नुभयो । अघिल्लो चोटीको मेयर जसरी ५ वर्ष जनतासँग भागेर हिँड्नुभएको थियो, बालेन पनि यही बाटो हिँड्न थाल्नुभएको छ । उहाँ बेलैमा सुध्रिनुपर्छ’, अधिकारीले भने ।\

उपमेयर सुनीता डंगोलले भने खुलामञ्चमा पार्किङ नबनाउन माग गर्दै आएको टोलीको कुरा सुनिन् । र सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने कुरामा विमति नरहेको भन्दै उनीहरुलाई आस्वस्त पार्न खोजिन् ।

बृहत छलफल नगरी खुलामञ्चमा पार्किङ नबनाउने पनि बताइन् । ‘पहिलो प्राथमिकता भनेको (पार्किङ) आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन’, उनले भनिन्, ‘लोकतान्त्रिक पद्धतिमा सबैभन्दा माथि जनता हो । जनतासँग परामर्शविना कुनै काम महानगरले गर्दैन ।’

उनले खुल्लामञ्चमा पार्किङ बन्ने विषय अध्ययनकै क्रममा रहेको भन्दै जनभावना विपरीत कदम नचाल्ने बताइन् ।

नरोकिने मुडमा बालेन

उपमेयर डंगोलले सोमबार अभियन्ताहरुसँग व्यक्त गरेको धारणा र मेयर बालेन्द्र साह (बालेन) को तयारी आपसमा विपरीत छ । बालेनको सचिवालय अनुसार खुल्लामञ्चमा पार्किङ बनाउन वातावरणीय पक्षबाट उचित हुने देखियो भने बालेन रोकिँदैनन् ।

बालेनका पूर्वाधार सल्लाहकार सुनील लम्साल भन्छन् ‘महानगरले अहिले सम्भाव्यता अध्ययन गरिरहेको छ । त्यसपछि डीपीआर बनाउँछौं, समुदायसँग छलफल गर्छौं । अनि मात्रै निर्माणको काम अगाडि बढ्छ’, उनले थपे ।

लम्साल अगाडि भन्छन्, ‘मेयरज्यू वातावरणीय रुपमा असर नपर्ने भएमा खुल्लामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउन सकारात्मक हुनुहुन्छ । यसको धेरै फाइदा छ, केही घाटा पनि छ ।’

लम्सालले खुल्लामञ्चमा पार्किङ बनाउन सकेमा न्यूरोड, असनलगायतका भित्री शहरमा सवारी निषेध गरेर साँस्कृतिक र व्यापारिक क्रियाकलाप बढाउन सकिने तर्क गरे ।

‘खुल्लामञ्चमा वातावरणीय असरबारे नगर विकास कोषसँग समन्वय गरेर महानगरले अध्ययन गरिरहेको छ । प्रतिवेदनले पानी संकलन, भूअध्ययन जस्ता कुराले उपयुक्त देखाए अण्डरग्राउण्ड पार्किङ अगाडि बढ्छ । तर त्यसअघि समुदायसँग छलफल पक्कै गरिन्छ’, उनले भने ।

बन्न नदिने अडान

टुँडिखेल संरक्षणका लागि अभियान चलाइरहेका अभियन्ताहरु भने खुलामञ्च मास्न नदिने पक्षमा छन् । कांग्रेस नेता तथा पूर्वसांसद भीमसेनदास प्रधान टुडिँखेल र खुल्लामञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताए ।

‘वरिपरि सबैतिर पार्किङ हुँदा फेरि त्यहीँ किन चाहियो ? काठमाडौको जनभावाना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत हुदैन’, उनले भने, ‘जनताको कुरा सुन्न पर्छ, बरु अझै नयाँ खुलापार्क बनाउनुपर्छ । टुँडिखेलभित्र कुनैपनि हालतमा पार्किङ हुनुहुँदैन ।’

तस्वीरहरु : आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?