+

मनाङलाई हराउँदै अमेरिकी टिम बीवाईएससी आहा रारा गोल्डकपको सेमिफाइनलमा

२०७९ पुष  १९ गते १६:२५ २०७९ पुष १९ गते १६:२५
मनाङलाई हराउँदै अमेरिकी टिम बीवाईएससी आहा रारा गोल्डकपको सेमिफाइनलमा

१९ पुस, पोखरा । अमेरिकी टिम भुटनिज युथ स्पोर्ट्स क्लब बीवाईएसी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै भुटानीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

६ पटकको आहा रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।

दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

मनाङलाई झड्का !

नेपाली फुटबल इतिहासमा सबैभन्दा चर्चित र सफल मानिएको मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको पनि सफल टिम हो । २२ औं संस्करणसम्म आइपुग्दा मनाङ १२ पटक फाइनल पुगेर ६ पटक उपाधि उचालिसकेको छ ।

यसपटक क्लबबाट पहिलेका अनुभवी खेलाडी बाहेकका नयाँ खेलाडी उतारेर पहिलो पटक मनाङ मैदान प्रवेश गरेको थियो । तर, पहिलो पटकमै मनाङलाई झड्का लागेको छ ।

पुराना खेलाडी सबै अन्य क्लबमा अनुबन्ध भएपछि सर्वाधिक सफल क्लबको परिचय बनाएको मनाङ नयाँ खेलाडीसहित मैदान उत्रिएको थियो । नयाँ प्रशिक्षक, खेलाडीसहित मैदानमा पहिलो पटक उत्रेको मनाङका लागि आजको खेल महत्वपूर्ण थियो ।

मनाङको नयाँ प्रशिक्षकमा किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक प्रविन श्रेष्ठ अनुबन्ध हुँदा टिममा अघिल्लो सिजन खेल्ने सरोज लामा एक्लो बनेका छन् ।

मनाङले यसै सिजनदेखि दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन, मानबहादुर तामाङ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, विसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन रानामगर अनुबन्ध भएका छन् ।

राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका अञ्जन विष्ट, मिड फिल्डर पुजन उपरकोटीलगायतले हालैमात्र मनाङ मर्स्याङ्दी छोडेर अन्य क्लबमा अनुबन्ध भएका छन् ।

बीवाईएससीसँग खेलेको मनाङको टिम । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

मनाङ २०५८ मा भएको आहा राराको पहिलो संस्करण ‘क्याराभान कप’मै फाइनलमा पुगेको थियो । तर, फाइनलमा विभागीय टिम नेपाल पुलिससँग पराजित हुँदै उपविजेतामा सीमित हुन पुग्यो ।

मनाङले ०६० सालको फाइनलमा नेपाल पुलिसलाई नै हराएर पहिलो पटक उपाधि उचाल्यो । उक्त खेलमा मनाङले पुलिसलाई ३–० पराजित गरेको थियो । ०६१ को फाइनलमा पनि विभागीय टोली नेपाल पुलिस र मनाङ नै भिडे । जसमा फेरि पनि मनाङले नै ३–२ ले विजयी हुँदै दोस्रो पटक उपाधि रक्षा गर्‍यो ।

०६३ मा पनि फाइनल पुगेको मनाङले तेस्रो पटक उपाधि रक्षा गर्न सकेन । फाइनलमा थ्रीस्टार क्लबसँग पराजित हुन पुग्यो । फाइनलमा निर्धारित समयमा थ्रीस्टार क्लबसँग १–१ को बराबरी टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा थ्रीस्टारले जित निकाल्यो ।

मनाङ ०६७ को फाइनलमा पनि थ्रीस्टारसँगै १–० ले पराजित भएको थियो । ०६८ को फाइनलमा भने जावलाखेलमाथि २–० ले जित निकाल्दै तेस्रो पटक उपाधि सुरक्षित ग¥यो । ०७० को फाइनलमा आयोजक सहारासँग १–० ले पराजित भयो ।

०७१ मा पनि थ्रीस्टारसँगै १–० गोलअन्तरले नै मनाङ पराजित भएको थियो । तर, ७२ सालको आहा रारा गोल्डकपको फाइनलमा भने त्रिभुवन आर्मीलाई १–०ले पछि पार्दै चौंथो पटक उपाधि चुमेको थियो ।

०७३ को फाइनलमा संकटा क्लबलाई १–० ले नै पराजित गर्दै पाँचौं पटक आहारारा पोखरा गोल्डकप जित्ने क्लब बन्यो भने ०७६ को फाइनलमा विभागीय टोली पुलिसलाई हराउँदै छैटौं पल्ट उपाधि विजेता बन्यो । उक्त खेल निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि ट्राइब्रेकरमा पुलिसलाई ४–३ ले पराजित गरेको थियो ।

०७८ को फाइनलमा भने अर्को विभागीय टोली एपीएफसँग स्तब्ध हुन पुग्यो । १४ वर्षपछि फाइनल पुगेको एपीएफसँग ट्राइब्रेकरमा ५–४ ले मनाङ पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

आहा रारा गोल्डकप मनाङ मर्स्याङदी क्लब

धेरै कमेन्ट गरिएका

लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय