+

पिरो चाउचाउले स्वास्थ्यमा हानि त गर्दैन ?

२०७९ पुष  २२ गते १७:३१ २०७९ पुष २२ गते १७:३१
पिरो चाउचाउले स्वास्थ्यमा हानि त गर्दैन ?

काठमाडौं । अहिले बजारमा पिरो चाउचाउ चल्तीमा छ । बालबच्चादेखि युवायुवतीसम्मलाई यो चाउचाउले आकर्षित गरिरहेको देखिन्छ ।

चाउचाउलाई कसरी पिरो बनाइन्छ ? खुर्सानी नै हुन्छ कि अरु केही मिसाइन्छ ? अधिकांश उपभोक्तालाई यसको हेक्का नहुन सक्छ । यस्तो चाउचाउ उपभोग गर्दा पेटमा कुनै हानि गर्छ कि गर्दैन ?

अस्पतालमा ग्यास्ट्रिकको समस्या लिएर आउने १५ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले दैनिकजसो पिरो चाउचाउ खाने गरेको पाइएको पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

द जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अनुसन्धान अनुसार चाउचाउको अत्यधिक सेवनले हृदयघात, मधुमेह र स्ट्रोक जस्ता समस्या निम्त्याउन सक्छ । अनुसन्धानकर्ताले चाउचाउको खपतलाई कार्डियोमेटाबोलिक सिन्ड्रोम भनिने अवस्थासँग जोडेका छन्, जसमा हृदय र मेटाबोलिक समस्याको बढ्दो जोखिम हुन्छ ।

पिरो चाउचाउमा अतिरिक्त मसलालाई पिरो बनाउन त्यसमा खुर्सानीको धुलोको साथै ‘ओलियोरेजिन’ एसेन्सियल ओएल मिसाइन्छ । जसले खुर्सानीमा भएको पिरो तत्त्वलाई टिकाइराख्न भूमिका खेल्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।

‘पिरो चाउचाउमा प्रयोग भएको पिरो खुर्सानीको नै हो । तर चाउचाउ कम्पनीले भने जस्तो अकबरे मात्र नभएर अन्य खुर्सानी र फ्लेभर पनि मिसाइएको हुन सक्छ,’ उनी भन्छन् ।

यस्तै चाउचाउमा स्वाद बढाउन ‘मोनोसोडियम ग्लुटामेट’ प्रयोग गरिएको हुन्छ । चाउचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन निकै कम हुन्छ । मैदाबाट बनेको हुनाले त्यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसमा अतिरिक्त पिरो पनि मिसाउँदा स्वास्थ्यमा झन् बढी असर असर पुर्‍याउने र पेटसम्बन्धी विभिन्न समस्या निम्त्याउने रायमाझी बताउँछन् ।

‘हामीले खाएको खानेकुरा पचाउनका लागि पाचनप्रणालीले विभिन्न हर्मोन उत्पादन गर्छ । पिरो खाना पचाउन पनि हाम्रो पाचनप्रणालीले केही हर्मोन उत्पादन गर्छ,’ रायमाझी भन्छन्,  ‘तर अत्यधिक पिरो सेवन गर्दा त्यसलाई पचाउन पाचनप्रणालीलाई पनि गाह्रो हुन्छ । जसले गर्दा पेट पोल्ने, पायल्स जस्ता समस्या देखा पर्छन् ।’

पिरो चाउचाउको सेवन, स्वास्थ्यलाई हानि

खासमा त चाउचाउलाई खासै स्वस्थकर खानेकुरा मानिंदैन । यसले पेटमा नकारात्मक असर पुर्‍याउँछ । चाउचाउ जंकफुड हो, जसमा ‘मोनोसोडियम ग्लुटामेट’ हुन्छ ।

मोनोसोडियम ग्लुटामेटको प्रयोग स्वाद बढाउने पदार्थको रूपमा गरिन्छ । जसले सम्पूर्ण पाचनप्रणालीलाई नै बिगार्छ । यसले ग्यास्ट्रिक बढाउने, डायरिया गराउने र कब्जियत गराउने पाचनप्रणालीको तीनवटा कुरामा यसले असर गर्ने पेट तथा कलेजोरोग विशेषज्ञ डा. भण्डारी बताउँछन् ।

‘सामान्यतया जब हामी केही खानेकुरा खान्छौं । त्यो खानेकुरा पाचनप्रणालीमा जान्छ र त्यहाँ त्यो खाना टुक्रिएर शरीरलाई चाहिने पोषकतत्त्व छुटिन्छन्,’ उनी भन्छन्, ‘तर चाउचाउ खाएपछि त्यो पाचनप्रणालीमा जम्मा हुन्छ, सजिलै पच्दैन । चाउचाउमा शरीरलाई चाहिने पोषक तत्त्व पनि हुँदैन ।’

पिरो चाउचाउ खाँदा त्यसमा भएको पिरोले असर गर्‍यो भन्ने धेरैले भनेको सुनिन्छ । ‘पिरोले मात्र असर गर्ने भए त अकबरे खुर्सानी खाँदा पनि असर गर्नुपर्ने हो,’ डा. भण्डारी भन्छन्,  ‘खासमा पिरोले मात्र भन्दा पनि चाउचाउमा प्रयोग हुने सामग्री मैदा, मोनोसोडियम ग्लुटामेट लगायतले असर गर्ने हो । पेट पोल्ने समस्या भने पिरोले मात्र पनि गर्छ ।’

पिरो चाउचाउको सेवन गर्दा पेटमा एसिड बढी निस्कन्छ र ग्यास्ट्रिकको समस्या हुने, आन्द्रामा घाउ हुने, कब्जियत हुने जस्ता समस्या देखिने उनी बताउँछन् । चाउचाउमा क्यालोरी बढी हुन्छ, जसले मधुमेह, मोटोपनको समस्या बढ्न सक्छ ।

मधुमेह, मुटुरोग र पेटसम्बन्धी समस्या भएका व्यक्तिले चाउचाउ नखाएकै राम्रो हुने भण्डारी सुझाउँछन् ।

चाउचाउ पिरो
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय