+
+

डेंगु मृत्युमाथि विश्लेषण : संक्रमित मृतकमा कस्ता-कस्ता रोग थिए ?

काठमाडौं उपत्यका र बाहिरका २३ अस्पतालमा डेंगुबाट मृत्यु भएका ८८ जनाको ‘हिस्ट्री’ संकलन गरेर मत्युको कारण अध्ययन गरिएको थियो । ती ८८ जनामध्ये ५५ जनामा कुनै न कुनै दीर्घरोगको समस्या थियो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ पुष २२ गते १९:५३

२२ पुस, काठमाडौं । काठमाडौं भोटेबाहल बस्ने ५३ वर्षीय (श्रेष्ठ) को डेंगु संक्रमणको उपचारका क्रममा ८ मंसिर २०७९ मा मृत्यु भयो । श्रेष्ठलाई श्वासप्रश्वास र ज्वरोका लगायतका समस्याका कारण शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उनलाई उच्च रक्तचाप, हेपाटाइसिस ‘सी’ र मधुमेह लगायतका (दीर्घरोग) समस्या पनि थिए । ‘ती बिरामी संक्रमण भएको दुईदिनमै श्वासप्रश्वास समस्या र अत्याधिक ज्वरो लिएर अस्पताल आइपुगेका थिए,’ डा. पुनले भने, ‘दीर्घरोग भएका बिरामीलाई डेंगु संक्रमण हुँदा शरीरका अंगहरु फेल हुने सम्भावना बढी हुन्छ ।’

यस्ता बिरामीमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसका कारण अस्पताल पुगेको एक दिनपछि नै श्रेष्ठको मृत्यु भयो ।

त्यस्तै, ललितपुरका ४३ वर्षीय एक पुरुषको ११ असोज २०७९ मा मृत्यु भयो । उनी पाँच दिनको ज्वरो लगायत अन्य समस्या लिएर टेकु पुगेका थिए । डेंगु संक्रमित ती पुरुषमा दमको समस्या थियो । डा. पुन भन्छन्, ‘पहिलेदेखि नै छाती लगायत अन्य अंगमा समस्या भएकाले डेंगु संक्रमणको थप जोखिमका कारण मृत्यु भएको देखिन्छ ।’

त्यसैगरी, अस्पतालले संकलन गरेको विवरणमा पनि ‘डेंगु संक सिन्ड्रोम’का कारण मृत्यु भएको औंल्याएको छ ।

सरकारले यस वर्ष डेंगु नियन्त्रणको काम गरिरहेको दाबी गर्दागर्दै नेपालमा डेंगु संक्रमणले देशव्यापी महामारीको रुप लियो । कमजोर नेतृत्व तथा उच्च तहले डेंगुलाई ‘मौसमी प्रकोप’ को रूपमा लिने गल्ती गर्दा ठूलो जनधनको क्षति थियो । अघिल्ला वर्षको डेंगुको रिपोर्टिङ तथा तथ्यांक संकलन गरेर विश्लेषण गर्न चुक्दा लाखौं संक्रमित हुनुका साथै सयौंले ज्यान गुमाए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार डेंगुले गत असारदेखि एक सयभन्दा बढीको मृत्यु गराएको छ । तर, अझै डेंगु संक्रमणमा मृत्यु भएका सयौंको तथ्यांक सरकारी निकायमा पुग्न सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असारदेखि काठमाडौं उपत्यका र बाहिरका २३ अस्पताल पुगेर डेंगुबाट मृत्यु भएका ८८ जनाको ‘हिस्ट्री’ संकलन गर्दै मत्युको कारणबारे एक अध्ययन गरेको थियो । इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार, मृत्यु भएका अधिकांश व्यक्तिमा कुनै न कुनै दीर्घरोगका समस्या थिए ।

‘डेंगुबाट भएका मृत्युका विवरण हामीले अस्पतालमा पुनः गएर लिएका थियौं,’ दाहालले अनलाइनखबरसँग भने, ‘बिरामी के लक्षण लिएर आएका थिए ? कति समय आइसीयू र भेन्टिलेटरमा राख्नुपरेको थियो ? कस्ता जटिलता र के कारणले मृत्यु भयो भन्ने लगायत विषयको अध्ययन गरिएको थियो ।’

संक्रमित मृतकमा कुन रोग र समस्या थियो ?

महाशाखाको अनुसार मृत्यु भएका ८८ जनामध्ये ५५ जनामा कुनै न कुनै दीर्घरोगको समस्या थियो । अर्थात, ६२ प्रतिशत दीर्घरोगीको डेंगु संक्रमणपछि मृत्यु भएको देखिन्छ ।

‘डेंगु संक्रमणले मृत्यु भएका एक व्यक्तिमा चार–पाँच वटा समेत दीर्घरोग जोडिएका थिए । दीर्घरोग भएका व्यक्तिमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ,’ दाहालले भने, ‘कुनै पनि रोग तथा संक्रमण हुँदा दीर्घरोगीको मृत्यु हुने भएको पाइयो ।’

महाशााखाले उपलब्ध गराएको तथ्यांक अनुसार हामीले दीर्घरोगीको रोग अनुसारको विवरण पनि केलाएका छौं । जसमध्ये मृत्यु भएकामध्ये सबैभन्दा धेरैमा उच्चरक्तचापसँग सम्बन्धित रोग रहेको पाइएको थियो ।

तथ्यांक अनुसार ८८ जना मृतकमध्ये ३२ जनामा उच्च रक्तचापसहित अन्य दीर्घरोगका समस्या पहिलादेखि नै थियो । २२ जना मधुमेह, १७ जनामा फोक्सो सम्बन्धी रोग, ६ जनामा मुटु, ५ जनामा मदिरापानका कारण कलेजोको समस्या र अन्य दीर्घरोग पनि जोडिएको अध्ययनले देखाउँछ ।

यस्तै, ५ जनामा पुरानो मिर्गौलाको समस्या, पक्षघात तथा मष्तिष्क सम्बन्धी र २ जनामा होमोराइड लगायत अन्य दीर्घरोग पनि देखिएकोले संक्रमणपछि मृत्यु भएको देखिन्छ ।

त्यसैगरी, डेंगु संक्रमण भएसँगै अन्य संक्रमण जोडिएका कारण ३३ जना अर्थात ३८ प्रतिशतको मृत्यु भएको अध्ययनले देखाएको छ । डेंगुसँगै निमोनियाको संक्रमणले धेरै जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार डेंगुसँगै २२ जनामा निमोनिया, सात जनामा स्क्रब टाइफस र कोरोना संक्रमण, टाइफाइड, टीबी र लेप्टोस्पाइरोसिस संक्रमण जोडिएर मृत्यु भएको थियो ।

काठमाडौंमा डेंगुका बिरामी बर्षेनि भेटिन थाले पनि यस वर्षजस्तो प्रकोपको रुप भने लिएको भने थिएन । यसवर्ष काठमाडौंमा मात्रै कुल मृत्युको २६ प्रतिशत (२३ जना) मृत्यु भएको थियो । त्यसैगरी, ललितपुरमा ११ र पाल्पा र दाङ मा पाँच–पाँच जनाको मृत्यु भएको थियो ।

महाशाखाको तथ्यांक अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा मृत्यु भएको छ । बागमतीमा ५३, लुम्बिनीमा १७, प्रदेश १ मा ७, मधेशमा ४ र सुदुरपश्चिम, कर्णाली, गण्डकीमा दुइ–दुई जनाको मृत्यु भएको छ ।

डेंगुले सबैभन्दा बढी जेष्ठ नागरिकलाई असर

मृत्युको तथ्यांकलाई केलाउँदै सबैभन्दा बढी जेष्ठ नागरिकलाई असर गरेको देखिन्छ । महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार ५५ वर्षभन्दा माथिका ४९ जना अर्थात, (५५ प्रतिशत) को मृत्यु भएको छ । यस्तैगरी, २५ देखि ५४ वर्षसम्मका ३२ जना, १५ देखि २४ उमेरसमूहका ४ जना, ५ देखि १४ वर्षका १ र जन्मेदेखि ४ वर्षसम्मका २ जनाको मृत्यु भएको तथ्यांक छ ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटी ज्येष्ठ नागरिकमा भाइरससँग लड्ने क्षमता नै कमजोर हुने कारणले मृत्युदर बढी हुने बताउँछन् । ‘ज्येष्ठ नागरिकमा धेरै नै रोग देखिसकेको हुन्छ । उमेर ढल्दै जाँदा शरीरका विभिन्न अंगले काम गर्ने क्षमतामा कमी आउँदै जान्छ । उनीहरुमा सानो संक्रमण हुँदा पनि गम्भीर असर देखिन्छ,’ डा. बोगटी भन्छन् ।

‘डेंगुबाट हुने मृत्युलाई कुनै उमेर जिम्मेवार भएको पाइँदैन । युवा उमेरकै मानिसमा दीर्घरोगको समस्या भएको भए डेंगुले जटिलता ल्याएको देखिन्छ,’ डा. पुनले भने, ‘पहिलादेखि नै उच्च रक्तचाप, फोक्सो समस्या भएका बिरामी बढी डेंगु सिभियर भएको पाइयो । उनीहरू रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर कारण मृत्यु भएका छन् ।’

किन डेंगुले धेरै मृत्यु गरायो ?

पहिलो– सेरोटाइप (प्रकार) परिवर्तन ।

दोस्रो– बिरामी ढिलो गरेर अस्पताल पुग्नु ।

तेस्रो– गाउँदेखि केन्द्रसम्म समन्वय शून्य तथा कमजोर नेतृत्व ।

नेपालमा २०६१ सालदेखि डेंगु संक्रमण देखिए पनि २०७६ सालमा भने यसले प्रकोपको रूप लिएको थियो । त्यो बेला ५६ जिल्लामा फैलिएको डेंगुबाट १२ जनाको मृत्यु भएको थियो । तर, त्यसयता पनि डेंगु नियन्त्रणमा सरकारले दीर्घकालीन रणनीति बनाउन नसक्दा प्रत्येक वर्ष यसले महामारीको रुप लिइरहेको छ ।

केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड चढ्दै ७७ जिल्लामा पुगिसकेका छन् । नेपालमा यस वर्ष डेंगुको प्रकोप फैलिनु र मृत्यु हुनेमा ‘सेरोटाइप’ ३ को मुख्य भूमिका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

डेंगु महामारीले हामीलाई विगतको गल्ती नदोहोर्‍याउन पाठ सिकाएको छ । भविष्यमा अर्को यस्तै दुःखद दिन आउने पक्का नै छ, आगामी वर्ष झ्नै चुनौतीपूर्ण बन्नेछ । तर, समयमै डेंगु विरुद्ध लड्नका सरकारी सम्बन्धित निकाय चुस्त हुन र नागरिकहरू जिम्मेवार बन्नुपर्छ ।

ईडीसीडीले गरेको दुई महिना पुरानो अध्ययनमा यस वर्ष सेरोटाइप ३ बढी फैलिँदा डेंगुबाट हुने जटिलता पनि थपिएको हो । डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन । सबै सेरोटाइप नेपालमा देखिसकेका छन् । सन् २०१९ मा परीक्षण गर्दा सेरोटाइप १ र २ मात्रै पुष्टि भएको थियो । तर, यसवर्ष सेरोटाइप ३ पनि थपिएको छ ।

‘यसभन्दा अगाडि डेंगुको १ र २ बढी मात्रामा फैलिएको देखिएको थियो । तर, यसवर्ष सेरोटाइप ३ बढी फैलिँदा संक्रमणका साथ–साथै जटिलता बढेको देखिन्छ,’ डा. दाहाल भने, ‘यसवर्ष फरक सेरोटाइपले संक्रमण गर्दा लक्षणमा देखिने जटिलता कारण धेरै मानिसको मृत्यु भएको देखिन्छ ।’

पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप) को डेंगु संक्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने उपचारमा संलग्न चिकित्सक बताउँछन् । फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने डा.पुन बताउँछन् ।

पुनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गरेमा भने स्वास्थ्य जटिलता न्यून हुन्छ । तर, दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

‘चार प्रकारका सेरोटाइपमध्ये पहिले जुन प्रकारले संक्रमण गर्‍यो पुनः त्यही सेरोटाइपले संक्रमण गर्‍यो भने जटिलता हुने सम्भावना न्यून हुन्छ । तर, फरक सेरोटाइपले संक्रमण गर्दा भने त्यो धेरै कडा हुनसक्छ,’ डा. पुनले भने, ‘अघिल्ला वर्षभन्दा यसवर्ष धेरै बिरामीमा जटिलता देखिएको थियो ।’

‘अस्पताल आइपुग्दा केही बिरामीमा गिजा तथा नाकबाट रगत आउने, दिसा–पिसाबबाट रक्तस्राव हुने देखिएको थियो । महिलाहरुमा महिनावारी नभएको बेलामा पनि योनीबाट धेरै रगत गएको थियो । यस्तो जटिलता तुलनात्मक रुपमा सन् २०१९ मा देखिएको भन्दा बढी अनुभव गरियो,’ डा. पुनले भने ।

‘डेंगु कारण जटिलता देखिएपछि मात्रै बिरामी अस्पताल पुगेको पाइएको छ । धेरै मानिसमा आफैं ठीक हुन्छ भन्ने मानसिकता रहेको पाइयो,’ दाहालले थपे, ‘ढिला अस्पताल जानुले पनि केही बिरामीको मृत्यु भएको देखिन्छ ।’

त्यसैगरी, यसवर्ष डेंगुले महामारीको रुप लिइसक्दा समेत विगतको तथ्यांक विश्लेषण गर्न नसक्नु, सरकारी निकाय बीच समवन्यको कमी, दक्ष जनशक्तिको अभाव, ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी नहुनु र मुख्य रुपमा मन्त्रालयमा कमजोर नेतृत्व हुनुका कारण प्रकोपले रूप लिनुका साथै धेरै मानिसको मृत्यु भएको जनस्वास्थयविद्को भनाइ छ ।

सरकारले डेंगु नियन्त्रणका लागि रणनीति र योजना बनाउन नसक्नुले डेंगुले प्रकोपको रुप लिएको दाहाल स्वीकार गर्छन् । ‘यसभन्दा अगाडी दीर्घकालीन रूपमा योजना बनाउन सकिएन । न त डेंगु कसरी फैलिरहेको छ भन्ने अध्ययन गर्ने काम नै भयो,’ दाहालले भने, ‘जतिबेला मात्रै केस देखिन्छ । त्यसपछि मात्रै खोजीको कार्यक्रम सुरू हुन्थ्यो । तर, अहिलेको प्रकोपले हामीलाई पाठ सिकाएको छ ।’

त्यसैगरी, डेंगुको ‘चेनब्रेक’ रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरु खोजेर नष्ट गर्नुबाहेक अरु उपाय छैन । जनस्वास्थ्यविद्का अनुसार डेंगुले महामारीको रुप लिन लागेको अवस्थामा राज्यका सबै स्रोत–साधन परिचालन गरेर जनचेतना अभियान चलाउनु अनिवार्य नै हुन्छ । तर, यसकाममा पनि तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङको निष्क्रियताले डेंगुले ठूलो रूप लियो ।

विगतका गल्ती नदोहोर्‍यायौं

डेंगु महामारीले हामीलाई विगतको गल्ती नदोहोर्‍याउन पाठ सिकाएको छ । भविष्यमा अर्को यस्तै दुःखद दिन आउने पक्का नै छ, आगामी वर्ष झ्नै चुनौतीपूर्ण बन्नेछ । तर, समयमै डेंगु विरुद्ध लड्नका सरकारी सम्बन्धित निकाय चुस्त हुन र नागरिकहरू जिम्मेवार बन्नुपर्छ ।

‘यसभन्दा अगाडी हाम्रो आकलन जेठदेखि असोजसम्म मात्रै डेंगुको केस देखिन्छन् भन्ने अनुमान थियो । त्यही अनुसार कार्यक्रम बनेका थिए,’ दाहाल भन्छन्, ‘तर, डेंगु वर्षभरी नै देखिने भएकाले त्यही अनुसारको कार्यक्रम बनाउनुपर्ने देखिएको छ ।’

डेंगु नियन्त्रण तथा रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसँग समवन्य र कार्यक्रमका लागि यथोचित बजेटको विनियोजन गर्नुपर्ने देखिएको दाहालको भनाइ छ ।

त्यसैगरी, डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर, त्यसका लागि नागरिक स्वयम् नै जिम्मेवार हुनुपर्छ ।

यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जनस्वास्थ्यविद् बुझाइ छ ।

अहिले संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै भएकाले त्यसले आगामी दिनमा डेंगु फैलाउन सहज वातावरण बनाउने हुन्छ । त्यसले अण्डाबाट लार्भा, प्यूपा हुँदै लामखुट्टे भएर भएर सीधै डेंगु भाइरस सार्न सक्छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ र संक्रमण फैलाउन मद्दत गर्छ ।

काठमाडौं लगायत ठूला शहरमा पानी थापेर राख्नुपर्ने बाध्यताको कारण पनि लामखुट्टेलाई हुर्कन सहज भइरहेको छ । यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, कौसी, गमलामा पानी जम्मा हुँदा अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु फैलिरहेको विज्ञ बताउँछन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?