+
+
समीक्षा :

‘ले मिजरावल’, फ्रान्सेली क्रान्ति र भ्रातृत्व

मनेश श्रेष्ठ मनेश श्रेष्ठ
२०७९ पुष २३ गते १९:३४

आफ्नो सबैभन्दा प्रख्यात कृतिबारे भिक्टर ह्युगोले लेखेका थिए, ‘म मानव अपरिहार्यतालाई नाश गर्न चाहन्छु, म दासत्वको निन्दा गर्छु, म गरिबीलाई लखेट्छु, म अज्ञानतालाई निर्देशन दिन्छु, म रोगको उपचार गर्छु, म रातलाई उज्यालो बनाउँछु, म घृणालाई घृणा गर्छु । यही हो म र त्यसैले मैले ‘ले मिजरावल’ लेखेको छु । मेरो बुझाइमा ‘ले मिजरावल’ भ्रातृत्वलाई आधार बनाएको प्रगतिलाई शिखरमा राखेको एक पुस्तक हो ।’ अर्थात् ‘ले मिजरावल’ एक महत्वाकांक्षी उपन्यास हो ।

बीसौं शताब्दीमा प्र्रथम र दोस्रो विश्वयुद्ध जस्ता घटनामा देखिएको हिंसा र मानवीय क्रूरता र एक्काइसौं शताब्दीमा छाएको निराशाले ह्युगोको माथि उल्लिखित विचार अप्राप्तीय मासूम आदर्श अवश्य लाग्न सक्छ । तर ह्युगो इतिहासको एक कालखण्डका उपज थिए, जुन कालखण्डमा प्रगतिको अवधारणा उदाउँदो थियो । आजभोलि भने प्रगतिको अवधारणा विश्वव्यापी भइसक्यो । उनी फ्रान्सेली क्रान्तिका मूल्य र मान्यताका वाहकका रूपमा आफूलाई देख्थे, एक ‘रोमान्टिक’ थिए । उनी एक लोकप्रिय साहित्यकार, राजनीतिज्ञ र पत्रकारका रूपमा उन्नाइसौं शताब्दीमा फ्रान्समा भएका राजनैतिक उथलपुथलहरूको नजिकको साक्षी थिए ।

करिब १३०० पृष्ठ लामो ‘ले मिजरावल’ को फ्रान्सेली शीर्षक अंगे्रजी अनुवादमा पनि त्यही रहोस् भन्ने ह्युगोको चाहना थियो । उनको विचारमा उनले प्रयोग गरेको ‘मिजरावल’ शब्दको अंगे्रजीमा अनुवाद गर्न सकिंदैनथ्यो । फ्रान्सेली, ‘ले मिजरावल’ को ठाडो अनुवाद अंग्रेजीमा ‘द रेचेड’ र नेपालीमा ‘दुःखीहरू’ हुन्छ ।

यो उपन्यास सन् १८१५ देखि १८३३ सम्मका ऐतिहासिक घटनाहरूका पृष्ठभूमिमा मुख्यतः एक पूर्व कैदीको पाप मोचनका प्रयासहरूको कहानी हो । अरू उपकथाहरू त छँदैछन् । सन् १८१५ मा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको पतन पछि सन् १७९२ मा फ्रान्सेली क्रान्तिकारीहरूले घाँटी उछिनेर मारेका लुई सोह्रौंका भाइ लुइ सत्रौं सम्राट भए । फ्रान्समा राजतन्त्र फर्कियो र सन् १८४८ सम्म रह्यो । तीन वर्षको गणतान्त्रिक अन्तरालपछि चुनावमा राष्ट्रपति निर्वाचित भएका नेपोलियन बोनापार्टका भतिजा लुई नेपोलियन बोनापार्ट तेस्रोले आफूलाई सम्राट घोषणा गरे । सन् १८७० मा जर्मनीसँगको युद्धमा पराजित भएपछि फ्रान्स सदाको लागि गणतन्त्र बन्यो ।

सन् १८०२ मा जन्मेका भिक्टर ह्युगो नेपोलियन बोनापार्टको सेनाका एक रथीका छोरा थिए । उनको मृत्यु सन् १८८५ मा भयो । आफूले देखेको फ्रान्सको त्यसबखतको सामाजिक परिस्थितिबारे उपन्यास लेख्ने विचार उनले सन् १८३० को दशकमा गरे पनि १८४५ मा मात्र लेख्न सुरु गरे । १८५१ मा लुइ नेपोलियनले ‘कु’ मार्फत सम्राट भएपछि १८५२ मा स्वनिर्वासनमा गए र लुइ नेपोलियनको अन्त्यपछि मात्र फ्रान्स फर्के । थाती राखेका ‘ले मिजरावल’ १८६० मा फेरि लेख्न थाले र १८६२ मा प्रकाशन गरे ।

कथा जँ भालजँ नामक युवावस्थामा एक रूख छाँट्ने काम गर्ने व्यक्तिको हो । आफ्नो गरिब दिदीका छोराछोरीलाई खुवाउन पाउरोटी चोर्न खोज्दा पक्रिइन्छन् र जेल पर्छन् । जेलबाट भाग्न खोज्दा फेरिफेरि पक्राउ पर्छन्, सजाय लम्बिरहन्छ । आखिर उन्नाइस वर्षपछि मात्र मुक्त हुन्छन् । जाभेर नामक एक प्रहरी अधिकृत उनको जहिले पछि परिरहेका हुन्छन्, ‘परोल’ (मुक्त हुनुको अवस्था) पालना नगरेकाले । कहानीमा जँ भालजँ पछि एक पटक फेरि पक्राउ पनि पर्छन् तर भाग्न सफल हुन्छन् ।

अति लामो भए पनि उपन्यास रोचक छ, आज पढ्दा पनि । उपन्यास त्यसबखतको शैलीको अनुसरण गर्दै नाटकीय शैलीमा छ । यसमा भएका घटनाले पाठक मन्त्रमुग्ध हुन्छन् र पढिरहुँ जस्तो लाग्छ । तर अर्कोतिर आधुनिक पाठकहरूलाई आकर्षण नगर्न पनि सक्छ किनभने ह्युगोले नाटकीयता र आफ्नो सन्देशलाई जोड दिन खोज्दा वास्तविकपनलाई बेवास्ता गरिएको पाइन्छ । अस्वाभाविक घटना धेरै छन् । तैपनि फ्रान्सेली बौद्धिकहरूमा गरिएको एक सर्वेक्षण अनुसार, फ्रान्सको प्रतिनिधित्व गर्ने कृतिहरूमध्ये ‘ले मिजरावल’ पहिलो हो ।

‘लिवर्ते, इगालिते, फ्रातर्निते’ (स्वतन्त्रता, समानता, भ्रातृत्व) नारा भएको फ्रान्सेली क्रान्तिका सिद्धान्तहरूबाट गहिरो रूपमा प्रभावित भएका भिक्टर ह्युगोलाई सामाजिक परिवर्तन र प्रगतिका सम्भावनाहरूमा पूर्ण विश्वास थियो । प्रगति र परिवर्तनमा कानुनी राज्यबाट सिर्जित समाज भन्दा पनि भ्रातृत्व अथवा इसाइ धर्मको मायाको धारणाले समाज क्रान्ति र प्रगतिका आदर्शतिर अघि बढ्छ भन्ने उनको विश्वास थियो । आजको युगमा परिवर्तन र प्रगतिबारे कुनै विवाद नभए पनि शताब्दीयौंदेखि चलिआएको हरेक व्यक्तिको आफ्नो ठाउँ छ भन्ने सिद्धान्तको परिवेशमा त्यस कालखण्डमा परिवर्तनबारे यो विचार क्रान्तिकारी नै थियो ।

‘ले मिजरावल’ मा ह्युगोले जँ भालजँको पापमोचनको प्रयासमा अन्ततः सफल हुन्छन् । जँ भालजँले जस्तै सबै मानिसले आफू सुध्रिने मौका पाउनुपर्छ र यसको लागि सिर्फ इसाइ मायामा आधारित भ्रातृत्वको भावनाको खाँचो हुन्छ भन्ने सन्देश उपन्यासकारले दिएका छन् । अस्थिर राजनैतिक परिस्थितिबाट गुज्रिरहेको उन्नाइसौं शताब्दीका फ्रान्सका जनतालाई मानवको असल हुनसक्ने सम्भावनाहरू भएको आशा झल्काउने कहानीको सायद खाँचो पनि थियो होला । त्यसैले उपन्यास सफल भयो । हुनत संसारमा हुने अन्याय, शक्ति भएकाहरूले जनताको पीरमर्काप्रतिको बेवास्ता र संसार र जीवनको निरशतामा आशा जगाउने आदर्शले निर्देशित कहानीबाट थोरबहुत मात्र अप्रभावित होला ।

उन्नाइस वर्षको जेल जीवन व्यतीत गरेर भर्खर मुक्त भएका जँ भालजँले एक पादरीको घरबाट चाँदीका मैनबत्ती राख्ने प्लेट र स्ट्याण्ड चोर्छन् । उनी भूतपूर्व कैदी भएको थाहा भएपछि कसैले उनलाई बास नदिंदा उनलाई ती पादरीले बास दिएका हुन्छन् तर जँ भालेजँ उनलाई गुन लगाएका पादरी कहाँबाटै चोर्छन् । जँ भालजँ पक्राउ पर्छन् र पुलिसले उनलाई पादरीको घरमा ल्याउँदा पादरीले जँ भालजँलाई ती चाँदीका सामान उपहार दिएको भनी उनको बचाऊ गर्छन् । पादरीको त्यो महानताले जँ भालजँ चकित पर्छन् । पादरीले भने उनलाई एउटै मात्र सन्देश दिन्छन् । ती चाँदी बेचेर अरूलाई गुन लगाउनु !

जँ भालजँ एउटा सानो शहरमा चाँदी बेचेको पूँजीले गहना बनाउने उद्योग खोल्छन् र केही वर्षमै धनी उद्योगपति बन्छन् । आफ्नो नाम म्याडेलिनमा परिवर्तन गर्छन् । चोरबाट उनी एक दयालु मानिसमा परिवर्तित हुन्छन् । आफ्ना कामदारलाई राम्रो व्यवहार गर्छन्, परेको बेला उनीहरूको सहयोग गर्छन् । म्याडेलिन शहरको मेयर पनि नियुक्त हुन्छन् ।

उनको कामदारमध्ये फ्यान्टिन भन्ने महिला पनि हुन्छिन् । एक युवकले फ्यान्टिनलाई गर्भवती बनाएर छोडेका हुन्छन् । एउटा छोरीको जन्म हुन्छ । फ्यान्टिनले आफ्नो छोरी कोसेटलाई एक भट्टी चलाउने दुई झण्डै कोसेटका उमेरका छोरी भएका दुष्ट दम्पतीलाई सुम्पेर कामको खोजीमा जँ भालजँको उद्योगमा काम गर्न आइपुगेका हुन्छन् । थेरनाडियर दम्पतीले सकेसम्म बढी काम कोसेटलाई लगाउँछन् र फ्यान्टिनसँग सकेसम्म बढी पैसा धुत्छन् ।

उता फ्यान्टिनलाई कर्मचारीले कामबाट निकाल्छन् । कोसेटको हेरचाहको लागि पैसा पठाउन नसकेपछि फ्यान्टिन वेश्या बन्छिन्, बिरामी पर्छिन् । जँ भालजँसँग उनको भेट हुन्छ र उनी कोसेटलाई थेरनाडियर दम्पतीबाट मुक्त गर्न लागिपर्छन् ।

तर त्यसबखत प्रहरी अधिकृत जाभेर त्यही शहरमा आइपुग्छन् र जँ भालजँलाई चिन्छन् । कहानीले नाटकीय मोड लिन्छ । एक निर्दोष व्यक्तिलाई बचाउन म्याडेलिनले आफू नै जँ भालजँ भएको स्वीकार्छन् । उनी फेरि कैदी हुन्छन् । उता फ्यान्टिनको भने मृत्यु हुन्छ ।

कैदी जँ भालजँ भाग्न सफल हुन्छन् र कोसेटलाई उनको कैदबाट मुक्त गर्छन् । ‘द मिजरावल’ को धेरै भाग जँ भालजँले कोसेटलाई हुर्काएको कथाले ओगटेको छ । उनीहरू पेरिसमा बस्छन् । जाभेरले आफूले चिनेको थाहा पाएपछि जीवनयापन गर्न पुग्ने रकम जँ भालजँले गाडेका हुन्छन् र त्यही पैसाले जीविका चलाउँछन् । उपन्यासमा धेरै नाटकीय उतारचढाव हुन्छ र यो सबैजसो जाभेर जँ भालजँको पछि लागेको र जँ भाजलँले आफूलाई बचाउने प्रयासहरूमा केन्द्रित छन् ।

कालान्तरमा, कोसेटको मोरियस नामक युवकसँग पे्रम भए पनि असमझदारीले गर्दा दुईको विछोड हुन्छ । यो पे्रमकथा पनि उपन्यासको एक उपकथा हो । उपन्यासमा थेरनाडियर परिवार फेरिफेरि देखापर्छन् र उनीहरूको अनुभव र भोगाइमार्फत उन्नाइसौं शताब्दीको पेरिसको गरिबहरूको परिस्थिति देखाउन खोजिएको छ ।

‘ले मिजरावल’ मा एकातिर विभिन्न पात्रहरूको जीवनको उतारचढाव समाविष्ट छ भने अर्कोतिर ऐतिहासिक घटनाको वर्णन ।

उपन्यास लेख्ने क्रममा ह्युगो नेपोलियन बोनापार्टको अन्तिम लडाइँको युद्धस्थल वाटरलु गएका थिए । उनको उद्देश्य नेपोलियन बोनापार्टको अन्तिम लडाइँको भूमि हेर्नु थियो । १८ जून, १८१५ को दिन प्रसियन (आधुनिक जर्मनीको जन्म भइसकेको थिएन त्यस बखत) र बेलायती सेनाले नेपोलियनलाई वाटरलुमा हराएको थियो । त्यो अन्तिम लडाइँलाई ह्युगोले करिब पचास पृष्ठ लामो आफ्नो काल्पनिक वर्णनमा उतारेका छन् ।

सन् १८१४ को मे महिनामा युरोपका अरू देशहरूको संयुक्त फौजसँग हारेपछि एल्बा टापुमा कैदी बनाइएका नेपोलियन मार्च १८१५ मा करिब एक हजार बफादार सैनिकहरूका साथ त्यहाँबाट निस्कन्छन् । फ्रान्सेली राजाका सेना माथि लडाइँमा जित मार्दै फेरि फ्रान्सका शासक बन्छन् र युरोपेली शक्तिहरूसँग फेरि लड्छन् । यो पृष्ठभूमिमा वाटरलुको लडाइँको आफ्नै आकर्षण छ र ‘रोमान्टिक’ लेखक ह्युगोले यसको भरपुर उपयोग गरेका छन् रंगीन तरिकाले वर्णन गरेर । नेपोलियनको सबैभन्दा प्रसिद्ध विजय भएको अस्टरलिट्जको युद्धको भने चर्चा छैन ।

उपन्यासमा जून १८३२ को फ्रान्समा गणतन्त्र स्थापनाको लागि भएको विद्रोहको शाही सेनाले गरेको दमनको पनि वर्णन गरिएको छ । हुन त यो विद्रोहलाई दुई दिनमा नै दबाइयो तर ह्युगोले यसलाई महत्वपूर्ण स्थान दिएका छन् ।

तानाशाही प्रवृत्ति भएका चाल्र्स दशौंले गद्दी त्याग गरेपछि सन् १८३० मा लुई फिलिप राजा बन्छन् । सन् १८३२ मा फ्रान्समा फैलिएको हैजाको महामारीमा उनका उदारवादी प्रधानमन्त्रीको मृत्यु भएपछि गणतन्त्र स्थापनाको माग भएको विद्रोहलाई उपन्यासकारले रंगीन ढङ्गमा प्रस्तुत गरेका छन् । प्रेमको विछोडले भौंतारिरहेका मारियसलाई जँ भालजँले यो विद्रोहमा मृत्युबाट बचाउँछन् । थेरनाडियरका कान्छा छोरा गाभरोसको बहादुरी सहभागिता दर्शाएका छन् र यसमार्फत ह्युगोको मानवतामा असल गर्न सक्ने क्षमताको प्रतिबिम्बन गर्छन् । कुनै व्यक्तिको पृष्ठभूमि जस्तोसुकै भएतापनि उसमा असल गुण हुन्छ । यस विद्रोहको वर्णनमा विद्रोहको नेतृत्व गरिरहेका एक युवा समूहको ‘रोमान्टिक’ आदर्शवाद पनि प्रस्तुत छ ।

यो विद्रोह हुँदा ह्युगो पेरिसमा नै थिए र विद्रोहको उनको समर्थन भने थिएन । ह्युगोले आफ्नो राजनैतिक जीवनमा पटक–पटक काँचुली फेरेका थिए । कहिले राजतन्त्रको पक्षमा थिए भने कहिले विपक्षीमा । एक रंगीन जीवन बिताएका ह्युगो उन्नाइसौं शताब्दीको फ्रान्सको साहित्यिक जीवनको अग्रपथमा थिए, चुनाव लडे र पत्रिका सुरु गरे ।

आजको मानवअधिकारका मूल्य र मान्यताहरूको जन्म फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रताको घोषणामा राजनीतिक रूपमा बीजारोपण भएको मानिन्छ । मानवअधिकार आज संसारको प्रायः सबै देशको राजनैतिक आधार बन्न पुगेको छ । तर मानवअधिकारको हनन् जहिले पनि भइरहेको पाइन्छ । ‘ले मिजरावल’ मा जँ भालजँलाई बचाउने पादरीको विचारहरू पढ्दा मानवअधिकारको आधारभूत जग इसाइ धर्मको मायाका अवधारणामा आधारित छ जस्तो लाग्छ ।

‘ले मिजरावल’ लाई जँ भालजँको मानवताप्रतिको माया र जावेर ऐन कानुनप्रतिको विश्वास बीचको द्वन्द्वको रूपमा पनि लिन सकिन्छ । उपन्यासको अन्त्यमा जाभेरले आफ्नो हार स्वीकार गर्छन् र जँ भालजँको माया अथवा फ्रान्सेली क्रान्तिको नारामध्ये भ्रातृत्वको विजय हुन्छ । ‘लिवर्ते इगालिते, फ्रातर्नित’ मा सबैभन्दा महत्वपूर्ण ‘फ्रातर्निते’ (भ्रातृत्व) हो भनी भिक्टर ह्युगोले यस प्रकार स्थापित गर्छन् ।

भिक्टर ह्युगोले फ्रान्सेली क्रान्तिको आत्मसात् गरेका मूल्य र मान्यताहरू प्रकट हुने वाक्यहरू उपन्यासभरि भेटिन्छन् । जस्तै ः ‘न्यायको आफ्नै क्रोध हुन्छ र त्यही क्रोध प्रगतिको एउटा तत्व हो’, ‘सामाजिक हितको सबै ज्योतिको उत्पत्ति विज्ञान, साहित्य, कला र शिक्षाबाट हुन्छ’, ‘हामीले पे्ररित गर्ने हर्ष प्रतिबिम्बित हुँदा मधुरो हुनुको सट्टा हामीकहाँ झन् उज्यालो भएर फर्कन्छ’ र ‘सभ्यताको दम कल्पनाशक्तिबाट नापिन्छ ।’ कानुनको आधारमा जँ भालजँपछि लागिरहेका जाभेरका उपन्यासको अन्त्यतिर विडम्बना दर्शाउन उनीबारे ह्युगो लेख्छन्– ‘सोच्नु उनको (जाभेरको) आदतमा थिएन, सोच्नु उनको लागि अनौठो तरिकाले कष्टकर थियो ।’ नेपालको निजामती प्रशासनका माड्सापहरू (अथवा महोदयहरू) को सामना गर्नु परेका हामी धेरैले जाभेर जस्ताहरू सामना गरेको हुनुपर्छ ।

अनि सदैव फोहोरमैलाको समस्या भोग्नुपरेको काठमाडौं उपत्यकालाई सुहाउँदो वाक्य पनि लेखेका छन् भिक्टर ह्युगोले ‘ले मिजरावल’ मा, ‘मानिसको इतिहास फोहोरको डङ्गुरमा प्रतिबिम्बित हुन्छ ।’

के मानवअधिकार ह्युगोले प्रतिपादन गर्न खोजेको माया या भ्रातृत्व विना सम्भव होला ? कानुनको अगाडि सबै समान अवश्य हुन्छ । तर कानुनलाई व्याख्या गर्ने, कानुनको आधारमा राज्य चलाउने मानव नै हुन् । हामीमा मानवता चाहिन्छ, भ्रातृत्वको भावना चाहिन्छ र यी विना प्रगति र परिवर्तन सफल हुन सक्दैन – यही हो भिक्टर ह्युगोको सन्देश ।

भिक्टर ह्युगोले ‘ले मिजरावल’ लेखेको बेलादेखि अहिलेसम्म उपन्यास लेखनकलामा धेरै परिवर्तन भइसकेको छ । पात्रहरूको मनोवैज्ञानिक अवस्था, उनीहरूको सोच्ने प्रक्रिया, पात्रहरू बीचको सम्बन्ध र अतीतलाई प्रतिबिम्ब गर्दा पात्रहरू घटना कसरी सम्झन्छन् जस्ता कोणहरूबाट आजभोलि उपन्यास लेखिन्छ । अवश्य पनि यी आधुनिक प्रयोगहरू मनपराउने पाठकहरूलाई घटनाको विवरण र ती विवरणमार्फत फ्रान्सेली क्रान्तिको सन्देशहरू अभिव्यक्त भएको ‘ले मिजरावल’ मन नपर्न सक्छ । तर ‘ले मिजरावल’ को आकर्षण अझै पनि छ । विश्व साहित्यमा उत्कृष्ट स्थान छ ।

लेखकको बारेमा
मनेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?