+
+

सामाजिक सञ्जालको गञ्जागोलमा त परिरहेका छैनन् किशोरकिशोरी ?

मनिषा थापा मनिषा थापा
२०७९ पुष २७ गते १४:१८

काठमाडौं । किशोरावस्थामा चञ्चल उमेरमा मनमा धेरैथरी कुरा खेल्छन् । के राम्रो के नराम्रो भनेर किशोरकिशोरीहरुले छुट्याउन सक्दैनन् । यस्तो बेला उनीहरुको दिमागमा खेलिरहेका कुरा र दैनिक क्रियाकलापलाई बुझ्नुपर्ने मनोविद् श्रेया गिरी बताउँछिन् । उनीहरुका कुरा राम्ररी बुझिदिएर सोही अनुसार सुझाव, सल्लाह दिन सके जीवन गुणस्तरीय बाटोतर्फ लैजान सकिने उनी बताउँछिन् ।

सामान्यतः बच्चाहरू स्कुलपछि कहाँ जान्छन् ? कोसँग घुम्न जान्छन् ? त्यतिमा मात्र सीमित नराखी उनीहरुले सामाजिक सञ्जाल कसरी चलाउँछन् भन्ने कुरामा पनि अभिभावकले ध्यान दिन जरुरी छ । यी कुरामा ध्यान नदिएको खण्डमा उनीहरु ‘साइबर बुलिङ’मा पर्न सक्छन् ।

अहिलेका किशोरकिशोरीमा साझा रुपमा साइबर सेक्युरिटी र साइबर बुलिङजस्ता सम्बन्धित मनोवैज्ञानिक समस्या देखिरहेको छ । ‘फेक प्रोफाइल बनाएर अवोध किशोरी वा किशोरलाई प्रेमजालमा पार्ने, त्यसपछि उनीहरुको नाजायज फाइदा उठाउने र धम्काउने, गोप्य गरिएको म्यासेज फैलाइदिने, अरुको फेक प्रोफाइल बनाउँदै अनेक किसिमका कुरा गर्दै वास्तविक व्यक्तिको छवि बिगारिदिने जस्ता समस्या यसमा पर्छन्,’ मनोविद् गिरी भन्छिन् ।

एक उदाहरण प्रस्तुत गर्दै उनी भन्छिन्, ‘स्कुलमा दुई जनाबीच प्रेम सम्बन्ध चल्यो । पछि ब्रेकअप भएपछि त्यो जोडीमध्ये एकले बदला लिने हिसाबले एकअर्कालाई फेसबुकमा पठाएको गोप्य म्यासेजहरु आवेशमा आएर लिक गरिदियो । त्यो भाइरल हुँदै जाँदा सम्बन्धित व्यक्ति पीडित वा पीडक बन्न पुग्छन् । यस्ता धेरै केसहरु मैले देखेको छु । यो उमेरमा आवेशमा आउँदा सही गलत नसोची यस्ता कार्य भइरहेका छन् ।’

यस्ता समस्या भोगिरहेका किशोरकिशोरी न अरुलाई भन्न सक्छन्, न यसविरुद्ध लड्न नै सक्छन् । परिणाम स्वरूप उनीहरु धेरै तनाव लिइरहने, रिस बढी उठ्ने, अरु कसैलाई भएको छैन मलाई मात्र भयो भन्ने तनाव हुने, एक्लोपन, धेरै सोच्ने र निन्द्रा नलाग्ने, अरुप्रतिको विश्वास नहुन सक्ने समस्या देखिन्छ ।

‘पहिलाको जति काम गर्न नसक्ने, आत्मविश्वासमा कमी आउने, जिन्दगी देखेरै दिक्क लाग्ने पनि हुन सक्छ,’ गिरी भन्छिन्, ‘त्यसबाहेक आफूलाई भएको समस्या पोख्दा झनै नसुनिदिने हो वा झनै बेइज्जत गरिदिने हो भन्ने त्रास पनि मनभित्रै गुम्साउनेसम्म हुन सक्छ ।’

यस्तो समस्यालाई मनभित्रै गुम्साउँदा एन्जाइटी र डिप्रेसन जस्ता मनोरोग निम्तिन सक्ने उनी बताउँछिन् ।

साइबर बुलिङबाट प्रभावित किशोरकिशोरीहरु कहाँ जाने त भन्ने कुरामा नै अनभिज्ञ हुन सक्छन् । यो समस्या बढ्दै गयो र समयमै पहिचान हुन सकेन भने आफ्नो प्राणलाई नै जोखिम पुर्‍याउन सक्ने उनी बताउँछिन् ।

सामाजिक सञ्जाल प्रयोगमा सावधानी

हिजोआज बच्चालाई फकाउन सानो उमेरदेखि नै मोबाइल दिने गरिन्छ । मोबाइलबाट उनीहरुले धेरै किसिमका सामग्री हेर्न थाल्छन् । राम्रो नराम्रो जुनसुकै विषय उनीहरुले चाख दिएर हेर्न थाल्छन् ।

मनोविद् गिरी भन्छिन्, ‘मोबाइल दिंदा कति समय चलाउने, के हेर्ने र के नहेर्ने हुँदैन भन्ने जस्ता कुरा सिकाइएको हुँदैन । जसले गर्दा चेतनशील न भइसकेका उनीहरु दुरुपयोग गर्न पनि सक्छन् ।’

१५ वर्षमाथिका किशोरकिशोरी साइबर बुलिङको सिकार हुन सक्ने सम्भावना बढी हुन्छ । कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा नहुँदा उनीहरु यस्ता समस्यामा पर्न सक्ने सम्भावना उच्च हुने मनोविद् गिरी बताउँछिन् ।

किशोरावस्थामा पुग्ने बित्तिकै अहिले सबैका हातहातमा मोबाइल हुन्छ । यो जिज्ञासु उमेरमा उनीहरुलाई  फेसबुक, इन्स्ट्राग्राम, स्न्याप च्याट, ह्वाट्स एप जस्ता माध्यममा हुने परिचित र अपरिचित व्यक्तिसँगको कुराकानी पनि नौलो र रमाइलो लाग्छ ।

‘अपरिचित व्यक्तिले कुन नियतले बोलिरहेको छ भन्ने कुराको पनि हेक्का नहुन सक्छ । जसले पछि गएर उनीहरु फस्न सक्ने जस्ता अप्रिय घटना सुन्दै र देख्दै आएका छौं । धेरैभन्दा धेरै समय उनीहरु त्यसमै बिताउँछन् । त्यही क्रममा कसैले मीठो बोलेको मन पर्न सक्छ,’ गिरी भन्छिन्, ‘बोल्दा बोल्दै उसले फसाउन पनि धेरै कुराको माग गर्न सक्छ । जायज नै ठानेर मागेको कुरा पनि उनीहरुले दिंदा फस्न सक्छन् ।’

त्यसैले आफ्ना सन्तानले के हेर्छन्, के गरिरहेका छन् भन्ने कुरामा अभिभावकले ध्यान दिन आवश्यक रहेको उनी बताउँछिन् ।

सचेत बन्दा बच्न सकिन्छ’

सामाजिक सञ्जाल चलाउँदा किशोरकिशोरीहरु आफैं पनि सचेत हुन जरुरी रहेको गिरी बताउँछिन् । ‘कतिपय केसहरु यस्ता पनि हुन्छन् सामाजिक सञ्जालमार्फत कोही जोडिन आयो र उसले भेट्न प्रस्ताव राख्यो वा प्रेम प्रस्ताव राख्यो तर अर्को व्यक्तिलाई त्यो स्वीकार्य छैन भने अस्वीकार गर्न सकिन्छ,’ उनी सुझाउँछिन् ।

अस्वीकार गरेको खण्डमा उसलाई जबर्जस्ती बोल्न लगाउने, धम्की दिन थाल्यो भने सहेर बस्ने भन्दा घरमा कुरा गर्न सकिने उनी बताउँछिन् ।

सचेतना घरबाट नै सिकाउन आवश्यक’

साइबर बुलिङ जस्ता समस्याबाट जोगिन परिवारबाट नै सचेतना बढाउनुपर्ने गिरी बताउँछिन् । उनका अनुसार परिवारबाट नै सामाजिक सञ्जालको प्रयोगबारे चेतना दिनु जरुरी छ । त्यसपछि सिक्ने भने स्कुलबाट नै हो । स्कुलले पनि यसको लागि कुन छुवाई सकारात्मक, कुन नकारात्मक हुन सक्छ ।

‘कस्तो सामाजिक सञ्जालको विषयवस्तु राम्रो र कुन नराम्रो भन्ने जस्ता खालको पाठ सिकाउन आवश्यक छ । ताकि उनीहरु पहिला नै त्यसबारे सचेत हुन् । यो साइबर बुलिङ, दुर्व्यवहारबारे सचेतना फैलाउने किसिमको कार्यक्रम सरकारले नै ल्याउनुपर्छ,’ गिरी भन्छिन् ।

हुर्किंदै गरेका सन्तानको क्रियाकलापमा ध्यान दिने

आफ्नो सन्तानले पहिलाको भन्दा फरक व्यवहार देखाएको छ भने उनीहरु समय बिताउने, सहज बातावरण बनाएर उनीहरुको समस्या सुन्ने, हौसला दिने र हरेक पाइलामा साथ छौं आफूलाई बलियो बनाउनुपर्छ भनेर सम्झाउन सकियो भने उनीहरु खुलेर आफ्नो समस्या राख्न सक्छन् । जसले राम्रो र नराम्रो पक्ष बुझ्न उनीहरुलाई सहज हुन जान्छ ।

‘उनीहरुले केही समस्या सुनाइरहेको छ भने त्यो सबैलाई हुने कुरा हो भनेर हल्काले लिएर गम्भीरतापूर्वक नलिएको खण्डमा उनीहरुले पछि सबै कुरा नखोल्न पनि सक्छन्,’ उनी भन्छिन्, ‘उनीहरुलाई सानोदेखि नै उनीहरुसँग बस्ने के भइरहेको छ, केही समस्या छ भने सुन्दिन्छौं । भनेर भन्नुपर्छ । यसले गर्दा उनीहरुले आफ्नो समस्या भन्न सक्छन् ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
मनिषा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?