+
+

प्रेम गरौं आफैंसँग

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ पुष २७ गते १६:३८

काठमाडौं । प्रायः हामी अरूलाई माया गर्छौं । बालबच्चालाई, आमाबुवालाई, प्रेमी–प्रेमिकालाई, जीवनसाथीलाई । उनीहरुको विभिन्न तरिकाले ख्याल राख्छौं, माया दर्शाउँछौं । तर के हामी आफू स्वयंलाई माया गर्छौं त ?

सायद धेरैका लागि यो प्रश्न अनुत्तरित हुन सक्छ । बाल्यकालदेखि नै अरूलाई माया गर्नुपर्छ, राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाइन्छ । अरूलाई माया गर्‍यौं भने अरूले हामीलाई मन पराउँछन्, माया गर्छन् भनिन्छ ।  तर आफूलाई पनि माया गर्नुपर्छ भनेर हामीलाई कसैले सिकाउँदैन ।

जिन्दगीको दौडमा हामी यति व्यस्त हुन्छौं कि हामीले सास तानिरहेका छौं कि फालिरहेका छौं भन्ने थाहा पाउन बिरामी नै हुनुपर्ने अवस्था रहेको अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिंखडा बताउँछिन् ।

‘आफू भएपछि मात्र परिवार, समाज हुन्छ । त्यसैले सबैभन्दा पहिले त आफूलाई माया गर्न सिक्नुपर्छ,’ उनी भन्छिन्, ‘आफूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्ने प्रयास गर्नुपर्छ । के कुराले खुसी दिन्छ त्यो पनि सोच्नुपर्छ ।’

प्रायः मानिस आफ्नो लागि भन्दा पनि परिवारको खुसीको लागि बाँचिरहेका हुन्छन् । अरूलाई माया गर्ने ध्यानमा हामीले आफूलाई माया गर्न बिर्सने गरेको सिंखडाको बुझाइ छ ।

‘हामीले आफूलाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ, आफूलाई स्वीकार गर्नुपर्छ । जसरी हामीले अरूलाई माया र आदर गर्छौं त्यसरी आफूलाई प्रेम र आदर गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रत्येक व्यक्तिले आफ्नो लागि पनि समय निकाल्नुपर्छ ।’

शोभिता सिंखडा

जरुरी छ आफैंलाई माया गर्न

आफूलाई प्रेम गर्दा सकारात्मक सोच निर्माणका लागि सहयोग पुग्छ । आफूलाई माया गर्दा मानसिक र भावनात्मक रूपमा शान्त र खुसी हुने सिंखडा बताउँछिन् ।

‘दुःखी वा डिप्रेसनबाट गुज्रिरहेका मानिसहरूका लागि यो उपचार जस्तै  हो,’ उनी भन्छिन्, ‘आफूलाई प्रेम गरियो भने विभिन्न समस्याबाट बाहिर निस्कन सकिन्छ ।’

आफूलाई माया गर्दा अरुले पनि हामीलाई माया गर्छन् । खुसी र प्रेमका लागि पहिले आफैंले आफैंलाई स्वीकार्नुपर्ने सिंखडा बताउँछिन् ।

आफैंलाई किन माया गर्न सक्दैन मानिस ?

सिंखडा भन्छिन्, ‘यदि कसैले आफूलाई माया गर्छ भने उसलाई स्वार्थी भनिन्छ । अरूसँग आफूलाई तुलना गर्ने व्यक्तिले पनि आफूलाई माया गरिरहेको हुँदैन ।

‘कुनै पनि व्यक्तिको बाल्यकाल कसरी बित्यो त्यसले पनि उसले आफूलाई माया गर्ने नगर्ने कुरालाई प्रभाव पार्छ,’ उनी भन्छिन्, ‘यदि बाल्यकालमा बच्चालाई माया र हौसला मिलेको छ भने उनीहरूले आफूलाई माया गर्छन् र अरूले पनि आफूलाई मन पराउन माया गर्न योग्य ठान्छन् ।’

बाल्यकालमा त्यति माया नपाउने तथा अरुबाट गाली र तुलना मात्रै पाएका व्यक्तिले आफू माया गर्न योग्य छैन कि भनेर सोच्ने सिंखडा बताउँछिन् । आफूलाई माया नगर्नुको अर्को कारण जीवनमा घट्ने नराम्रा घटना पनि हुन सक्छन् ।

‘कोही व्यक्तिको जीवनमा बारम्बार नराम्रो घटना भइरहेको छ भने उसले सोच्न थाल्छ कि ऊ राम्रो छैन, उसको भाग्य राम्रो छैन ।  यदि ऊ राम्रो थियो भने उसलाई किन नराम्रो हुन्थ्यो ? यसले आफ्नो लागि उसको प्रेमलाई घटाउँछ,’ सिंखडाको बुझाइ छ ।

कसरी गर्ने आफैंलाई माया ?

आफूले आफैंलाई माया भन्नुको अर्थ शरीर र मन कसरी रमाउँछ त्यसमा ध्यान दिने भन्ने हो । पर्याप्त निद्रा, स्वस्थ खाना, वरपरका मानिसलाई भेट्ने र दिमागमा के कुरा चलिरहेको छ भन्ने कुरामा ध्यान दिने कुरा यसमा पर्छन् ।

‘जीवनमा धेरै चीज आउँछन्, जान्छन् तर एक पटक आफूले आफैंलाई माया गर्न सिकियो भने यो सधैंभरि आफूसँग रहिरहन्छ,’ सिंखडा भन्छिन् ।

आफूलाई माया गर्नका लागि पहिले आफूभित्रका गुणहरूलाई चिन्नुपर्छ र स्वीकार गर्नुपर्छ ।  त्यसलाई सम्मान गर्दा आफूलाई अरुभन्दा फरक बनाउने सिंखडा बताउँछिन् । एक्लै समय बिताउनु आफूलाई बुझ्ने मौका हो ।

‘त्यसैले आफ्नो लागि समय निकाल्नुहोस् । त्यो समयमा आफूलाई मनपर्ने फिल्म हेर्ने, मन पर्ने ठाउँ घुम्न जाने, किताब पढ्ने र गीत सुन्ने गर्न सकिन्छ । यी सबै कुराले आफैंलाई माया गर्न सिकाउँछ र राम्रो महसुस गराउँछ,’ उनी सुझाउँछिन् ।

अन्य व्यक्तिसँग आफूलाई तुलना गर्दा दुःखी बनाउँछ । त्यसले मसँग केही पनि छैन, म सक्षम छैन भन्ने जस्ता भावना मनमा आउँछ । यस्तो विचारले मनमा सधैं शून्यता महसुस हुने सिंखडा बताउँछिन् । आफूसँग के छ, आफूले के पाएँ भन्ने कुरामा ध्यान दिने र त्यसमा खुसी हुन उनी सुझाउँछिन् ।

आफूलाई माया गर्न पहिले नकारात्मक सोच र नकारात्मक मान्छेलाई आफ्नो जीवनबाट हटाउनुपर्छ । सधैं निराश हुने मानिसबाट टाढा रहनुपर्छ ।

सिंखडाको सुझाव छ, ‘नकारात्मक सोच र त्यस्तो सोच भएका मान्छेका कारण आफ्नो आत्मसम्मान र आत् प्रेम दुवै गुमाउने  अवस्था पनि आउन सक्छ । त्यसैले उत्प्रेरित गर्ने, गल्तीहरूमा सही मार्ग देखाउने र राम्रो चाहने व्यक्तिसँग मात्र मित्रता गाँस्नुहोस् ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?