+
+

विवादास्पद टी-२० लिगले घटाएको क्रिकेट क्रेज

नमिता दाहाल नमिता दाहाल
२०७९ पुष २७ गते १९:५४
विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबिचको इलिमिनेटर खेलमा टस गर्दै दुई टिमका कप्तान ।

२७ पुस, काठमाडौं । विवादै विवादका बीच सकिएको नेपाल टी–२० लिग क्रिकेटको उपाधि लुम्बिनी अलस्टार्सले जितेको छ ।

प्रतियोगितामा सहभागी ६ टिममध्ये लुम्बिनी नै यस्तो टिम हो, जुन टिम विवादमा परेको थिएन । प्रतियोगिताको सुरुवात देखि नै उपाधिको दाबेदार देखिएको थियो ।

यो प्रतियोगिता आयोजक नेपाल क्रिकेट संघ क्यान, व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसमात्र होइन सहभागी टिम नै विवादमा परेका थिए ।

अन्य टिमका खेलाडीले पारिश्रमिक नपाएको, टिम व्यवस्थापकले राम्रो व्यवहार नगरेको लगायतका कारण देखाउँदै खेल्न अस्वीकार गर्ने, खेलका लाग मैदानमा ढिलो आउने गरे पनि उपाधि विजेता लुम्बिनीमा यस्तो कुनै समस्या देखिएन । तर प्रतियोगिता र आयोजक नै विवादमा परेपछि त्यसको असर भने टिममा पर्‍यो ।

‘हाम्रो व्यवस्थापन निकै राम्रो रह्यो । केही पनि समस्या रहेन । अन्य टिमहरुमा भने पैसाको विवाद आइरह्यो । जसले गर्दा समग्रमा भन्नुपर्दा यो प्रतियोगिता खासै राम्रो रहेन,’ उपाधि जितेपछि कप्तान दिपेन्द्र सिंह ऐरीले भने, ‘उत्साह धेरै थियो तर सोचे अनुरुप भएन ।’

उपविजेता टिमका कप्तान रोहितकुमार पौडेललाई पनि पनि प्रतियोगिता समग्रमा अझ राम्रो हुन सक्थ्यो जस्तो लागेको छ । उनले भने, ‘समग्रमा भन्नुपर्दा हामीले खेल्न पायौं, त्यो सबैभन्दा राम्रो कुरा हो । तर विभिन्न विवादहरु आइरहे, जुन नभएको भए प्रतियोगिता अझ राम्रो हुन सक्थ्यो ।’

राष्ट्रिय टिमका कप्तान समेत रहेको रोहितको मुल्यांकनमा यो प्रतियोगिताबाट केही नयाँ खेलाडीको उदय भएको छ र खेलाडीले आफ्नो प्रतिभा देखाउन पाएका छन् । उनले भने, ‘राम्रो पक्ष सूर्य (सूर्य तामाङ) जस्ता खेलाडी आए, खेल खेल्न पायौं । राम्रै भयो तर केही पक्ष सुधारेको भए टुर्नामेन्ट अझै राम्रो हुन सक्थ्यो ।’

घटेको क्रिकेट क्रेज

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मात्र होइन, घरेलु स्तरका प्रतियोगितामा पनि दर्शकको उपस्थिति गज्जबको हुन्थ्यो ।

तर विदेशी खेलाडी समेत सहभागी भएको नेपाल टी-२० लिगमा भने दर्शकको रोजाईमा परेन ।

मैदानमा पुगेका दर्शकले पनि नेपाल क्रिकेट संघ क्यानको विरोधमा नारा लगाए । क्यानका पदाधिकारीलाई गाली गरे ।

प्रतियोतिगा अयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिने निर्णय नै विवादमा परको थियो । अझ पछि त प्रतियोगितामा नै फिक्सिङ र बेटिङ भएको भन्ने आरोप लागेपछि क्यान समर्थकको निसानामा परेको थियो र प्रतियोगिताले समर्थक गुमाएको थियो ।

कीर्तिपुरमा समर्थकको साथ नपाउनुलाई उपविजेता टिमका कप्तान रोहित विवादलाई नै कारण मान्छन् ।

लुम्बिनी अलस्टार्सक खेलाडी ।

‘हामीले पछिल्लो समय राम्रो गर्न सकिरहेका छैनौं । जसका काण समर्थकहरु घट्नु भएको छ,’ उनले भने, ‘तर हामीले राम्रो खेल्न थालेपछि फेरी हामीलाई समर्थन गर्न आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नेपाली क्रिकेटलाई माया गर्ने दर्शक घट्नुको कारण प्रदर्शन नै रहेको लुम्बिनी अलस्टार्सका कप्तान तथा नेपाली राष्ट्रिय टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी पनि बताउँछन् । भन्छन्, ‘यो प्रतियोगिताभर दर्शकको उपस्थिति थिएन । तर फाइनलमा अलिकति आउनुभयो । नेपालको क्रिकेटले अहिले राम्रो गरिरहेका थिएन, अब राम्रो गर्छ । हामीले राम्रो गरे हाम्रो दर्शक गुम्ने डर छैन ।’

निराशाकै बीच क्रिकेट हेर्न मैदान पुगेका क्रिकेट समर्थक अब्दुल मियाँ खेलाडीबीचको गुटबन्दीले विग्रिएको ठान्छन् । ‘नेपाली क्रिकेटमा खेलाडीको गुटबन्दीले क्रिकेट बिग्रिएको हो,’ उनले भने, ‘जो पनि प्रशिक्षक आउँछ, यसो टाइमपास गर्छ अनि जान्छ । विकास भन्दा पनि चरम लापरबाहीले अहिले खासै क्रिकेट हेर्न मन लाग्दैन ।’

ब्याटिङ नै समस्या

नेपाली क्रिकेटको सबैभन्दा ठूलो लिग भनेर चिनिएको नेपाल टी-२० लिगको फाइनल खेल सोचेजस्तो प्रतिस्पर्धात्मक देखिएन । यी दुवै टिमले चार–चार जना विदेशी खेलाडीको साथमा मैदानमा उत्रिएका थिए ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा रन जोडे पनि त्यसपछि लगातार विकेट गुमायो । फलस्वरुप १९.२ ओभरमा १३३ रनमा अल आउट भयो । जवाफमा ब्याटिङमा उत्रेको विराटनगर सुपरकिङ्गले २० ओभर खेलेर पनि १०९ रन मात्र बनाउन सक्यो ।

विराटनगरका कप्तान पौडेल मैदानको कन्डिसन ब्याटिङ फेभरको नभएकाले कम रन बनेको बताउँछन् । भन्छन, ‘कन्डिसनमा पनि भर पर्छ । आजको कन्डिसन ब्याटिङ फेभर गर्ने खालको थिएन । ३०/३५ खेल एउटै विकेटमा भइरहेको थियो, जसले गर्दा ब्याटिङ गर्न सहज थिएन ।’

प्रतियोगिताका सबै ३४ खेल एउटै मैदानमा खेलाइएको थियो । जसले गर्दा पिचले आफ्नो स्वरुप गुमाएको थियो । उपाधि विजेता टिमका कप्तान दिपेन्द्र भन्छन, ‘ब्याटिङ विकेट थिएन । स्पिनर आउनेबित्तिकै विकेट गइहाल्थ्यो । जसले गर्दा रन बन्न समस्या भयो । आजको खेलमा पावरप्लेमा केही रन बनेकाले जित्न सहज भयो ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?