+
+

नालापानी युद्धमाथि फिल्म बनाउँदै मनोज पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:०३
निर्देशक मनोज पण्डित । फाइल तस्वीर

काठमाडौं । सन् १८१४ मा नेपाल र अंग्रेजबीच भएको नालापानी युद्धमाथि आधारित रहेर निर्देशक मनोज पण्डितले फिल्म निर्माण गर्ने भएका छन् । दुई वर्षपछि फिल्मको छायांकन सुरु गर्ने उनको योजना छ ।

‘व्यक्तिको लागि नालापानी बनेको होला तर दर्शकको लागि अहिलेसम्म बनेको छैन । विश्वका दर्शक नालापानीको कथा हेर्न चाहन्छन्,’ निर्देशक पण्डितले अनलाइनखबरसँग भने ।

बेलायती साम्राज्यविरुद्धको कथावस्तुमा आधारित भारतीय फिल्म ‘आरआरआर’ले गोल्डेन ग्लोब्सको मौलिक गीत विधामा अवार्ड जितेको र सरकारले पुनः पृथ्वीजयन्ती मनाएको सन्दर्भमा फिल्म बनाउने घोषणा आफूले गरेको उनले जानकारी दिए ।

‘आजैदेखि यसबारे अध्ययन सुरु गरेको छु । दुई–तीन वर्षसम्म फ्लोरमा जाने योजना छ,’ उनले भने, ‘ग्रेटर नेपाल फिल्म बनाउँदा १८ वर्षदेखि मैले बिर्सेको कुरा सम्झिएँ । अब रफ्तारमा यो फिल्म बनाउने मेरो योजना छ ।’

‘आरआरआरले अवार्ड जित्दा मैले पनि बेलायती साम्राज्यविरुद्धको कथालाई पर्दामा देखाउन सक्छु भन्ने लाग्यो । यो राम्रो संयोग भयो’ पण्डितले भने, ‘काम सुरु गर्छु । फ्लोरमा जान दुईतीनवर्ष लाग्छ ।’ नालापानीको युद्ध पुर्खाले लडेको लडाइभन्दा पनि अनुभव भएको तर्क उनको छ । यसअघि नालापानी शीर्षकमा फिल्म बनेपनि शीर्षक चाहिँ अरु केही निधो गर्ने उनले जनाए ।

नेपाली फिल्मलाई विश्वमाझ लैजान पनि यो कथावस्तुमाथि फिल्म बनाउनु जरुरी भएको उनले बताए । ‘पश्चिमा मुलुकले आफ्नो इतिहास कहाँ छ भनेर बुझ्नुपर्‍यो । औपनिवेशिक शक्तिको कुरा उनीहरु र नेपाल दुवैलाई महत्वपूर्ण विषय हो भन्ने म ठान्छु । महत्वपूर्ण पाटो के हो भने यो लडाइँ गोर्खालीको उद्गम बिन्दु हो,’ निर्देशक पण्डितले भने ।

‘नालापानी युद्ध गोर्खाली भन्ने लडाकु जाति र समुदायलाई पहिलोचोटी विश्वले बुझेको घटना हो । जुन युद्धको कारण ब्रिटिशले गोर्खालीलाई सेनामा भर्ती गर्न थालेका थिए । त्यो हिसाबले पश्चिमको लागि नालापानी युद्ध गोर्खालीको पहिचानको सुरुवात थियो,’ उनले भने । साथै, नालापानीको भूगोल नेपालको पनि हो भन्ने कुरालाई फिल्मले योगदान दिने उनको भनाइ छ ।

पण्डितले अगाडि भने, ‘हिजो औपनिवेशिक शक्तिसँग हाम्रा पूर्खाले लडे तर पनि त्यो स्थिति आज पनि छ । त्यो संघर्ष अहिले पनि छ । राष्ट्रिय भाव जगाउन पनि यो फिल्म निर्माण गर्नु महत्वपूर्ण हुन आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?