+
+

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पाठक र न्यौपाने को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २०:२८

२८ पुस, काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गर्‍यो ।

उनीमाथि ३ वर्ष ३ महिना कैद अनि ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । अख्तियारका आयुक्त भएका पाठक विवादास्पद पात्र हुन् ।

आयुक्त पाठक अख्तियारमा रहँदा काठमाडौ विश्वविद्यालयको प्रवेश परीक्षा अनियमिततामा मुछिएका थिए । साथै उनी अख्तियारबाट मेडिकल कलेजमाथि हस्तक्षेप भएको घटनामा समेत संलग्न थिए ।

अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित पाठकको टोलीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको थियो । आयुक्त राजनारायण पाठकले आईओएमका प्राध्यापकहरु विमलकुमार सिन्हा र शरद वन्तलाई घरमा बोलाएर छोरी प्रिया पाठकलाई पोष्ट ग्राजुएसन (पीजी) मा भर्ना गर्न दवाव दिएका थिए ।

२०३९ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवा प्रवेश गरेका महोत्तरीका पाठकले करिब १० वर्ष सोही पदमा विताएका थिए । कानूनमा स्नातक गरेका पाठक पछि सरकारी वकिल समूहको उप, सह–न्यायाधिवक्ता हुँदै ६ कात्तिक २०६६ देखि विशिष्ठ श्रेणी (सचिव स्तर) को नायव महान्यायाधिवक्ता बने । उनले ५ वर्षे सेवा अवधि पूरा गरेर ६ कात्तिक २०७१ मा पदबाट अवकाश पाएका थिए ।

नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने अर्का विवादास्पद पात्र हुन् । उनले कलेजको नेतृत्व गर्दा कलेजका सञ्चालक तथा अन्य पदाधिकारीहरुले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ गैरकानूनी खर्च गरेको भनी छानबिनले औल्याएको थियो । त्यसक्रममा न्यौपानेको नाममा झण्डै ८ करोड ९८ लाख रुपैयाँ गैरकानूनी रुपमा भुक्तानी भएको थियो ।

न्यौपाने विरुद्ध प्रहरीले भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा चलाएको थियो । जिल्ला अदालतले सफाइ दिएको त्यो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

उनीमाथि सामाजिक संस्थाको रुपमा स्थापित नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी खडा गरेको र सम्पत्ति हत्याउन खोजेको आरोप छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा अर्को मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?