+
+

स्पर्श र माया दिन सकिंदैन भने कुकुर किन पाल्ने ?

सुस्मिता रञ्जित सुस्मिता रञ्जित
२०७९ पुष २९ गते १३:४७

कति मान्छे देखासिकी वा लहडमा कुकुर पाल्छन् । अनि कुकुरले जथाभावी दिसा पिसाब गर्‍यो, फोहोर बनायो, रौं झर्‍यो, जुत्ता-चप्पल टोक्यो, धेरै भुक्यो भनेर साङ्लोले बाँध्छन् । खोरमा थुनेर राख्छन् । यसरी एउटा अवोध पशुलाई बन्दी बनाउँछन् ।

जब कुकुर बुढो हुन्छन्, रोगी हुन्छन् तब मान्छेले घरबाहिर लखेट्छन् । यसरी घरपालुवा कुकुर सडकमा आइपुग्छन् र एकदमै कष्टकर जीवन बिताउन बाध्य हुन्छन् ।

सडक कुकुर त जेनतेन खानेकुरा खोजेर बाँच्न सक्छन् । तर घरमा पालिएको कुकुर आफैं खानेकुरा खोजेर खान सक्दैनन् । जोगिएर हिंड्न जान्दैनन् । त्यसैले भोक र तिर्खाले भौतारिएरै वा गाडी-बाइकको ठक्करबाट घाइते भएर उनीहरुको मृत्यु हुने गर्छ ।

त्यसैले तपाईंसँग कुकुर पाल्ने खास जाँगर र समय छैन भने कुकुर पाल्दै नपाल्नुमा भलाइ छ । कुकुर पाल्ने मान्छेले उसको खानपान, स्याहारसुसार, आनीबानी, स्वास्थ्य स्थिति सबै कुरा थाहा पाउनुपर्छ । कुकुरलाई समय दिनुपर्छ । स्पर्श र ममता दिनुपर्छ । यदि सही खानपान, उचित रेखदेख गर्न सक्नुहुन्न भने तपाईंले कुकुर पाल्दै नपाल्नु बेस हो, कम्तीमा एउटा पशुले स्वच्छन्द जीवन त बाँच्न पाउँछ ।

यदि कुकुर पाल्नु नै छ भने तपाईंको आवश्यकता के हो ? तपाईं उसको लागि कति समय दिन सक्नुहुन्छ ? यो कुरा जान्नैपर्छ ।

कुकुरको विभिन्न जात हुन्छन् र त्यस अनुरुप उनीहरुको खुबी पनि बेग्लाबेग्लै हुन्छ । कुनै कुकुर तपाईंको घरको माहोललाई रमाइलो बनाउने खालको हुन्छ भने कुनैले घरको सुरक्षा गर्ने खालको हुन्छ । कुनै कुकुर तपाईंलाई सहयोग गर्ने प्रकृतिका हुन्छन् भने कुनै कुकुर सिकार गर्ने खुबीका । तपाईंको आवश्यकता के हो ? त्यही अनुसार कुकुरको जात खरिद गर्नुपर्छ ।

त्यससँगै कुकुरलाई सही समयमा, सही किसिमको खानपान गराउनुपर्छ । उसलाई नुहाउने, डुलाउने, खेलाउने, उपचार गर्ने कुरामा ध्यान दिनुपर्छ ।

कुकुरलाई कति समय डुलाउने ?

कुकुरलाई घर वरपर दिनको दुईपटकसम्म डुलाउनु राम्रो हुन्छ । यसबाट कुकुरलाई घर वरपरको वातावरणसँग घुलमिल हुन सहज हुन्छ । घरमै मात्र कुकुरलाई राख्दा बाहिरको संसारबाट कुकुर अनभिज्ञ हुन्छ । र, बाहिर जाँदा राम्रोसँग व्यवहार गर्न सक्दैन ।

कुकुरलाई डुलाउने स्थान सुरक्षित छ छैन त्यसमा ध्यान दिनुपर्छ । कुकुरको हुल कम हुने क्षेत्र रोज्नु उपयुक्त हुन्छ । कुकुरसँगै हिंड्दा अन्य धेरैवटा कुकुरले आक्रमण गरे बचाउन कठिन पर्न सक्छ । त्यसैले कुकुरलाई घरनजिकै डुलाउने, खेलाउने गर्नुपर्छ । घरमा कम्पाउण्ड छ भने त झन् वरपर खेलाउन झनै सजिलो हुन्छ ।

कुकरको सरसफाइ

कुकुरलाई दिनको अनिवार्य दुईपटक कपाल कोरिदिनुपर्छ । दैनिक दुईपटक कपाल काट्ने गरिएको छ भने ६ महिनामा एकपटक नुहाइदिंदा पुग्छ । सफा गरिदिने भन्दै धेरै पटक नुहाइदिंदा कुकुरलाई चिसो लाग्छ । ६ महिनाभन्दा अगाडि नै कुकुरबाट गन्ध आइरहेको छ भने ड्राई बाथ गराउन सकिन्छ । कुकुरको लागि नुहाइदिने स्याम्पू र साबुनको प्रयोग गर्न सकिन्छ तर धेरै भने प्रयोग गर्नुहुँदैन ।

त्यसबाहेक नङ काटिदिने, अनुहारमा चाउरी पर्ने कुकुरको चाउरी परेको ठाउँमा फोहोर पर्छ । त्यसलाई सफा गरिदिनुपर्छ । ६ महिनामा एकपटक नुहाइदिंदा पुग्छ । सफा गरिदिने भन्दै धेरै पटक नुहाइदिंदा कुकुरलाई चिसो लाग्छ । ६ महिनाको अवधिभित्र कुकुरबाट गन्ध आइरहेको छ भने ड्राई बाथ गराउन सकिन्छ ।

कुकुरलाई लाग्ने रोग र लगाउनुपर्ने खोप 

जुकाको रोग, रेबिज, कोरोना भाइरस, छालासम्बन्धी रोग, ब्याक्टेरियाको संक्रमण र क्यानिन डिसटेम्पर जस्ता रोग कुकुरलाई लाग्छ । कुकुरलाई रोग लाग्नबाट बचाउन सरसफाइ  ध्यान दिनेबाहेक अनिवार्य रुपमा खोप लगाउनुपर्छ । रेबिज,  क्यानिन डिसटेम्परलाई कुकुर जन्मिएको ४५ दिनभित्र, कोरोना भाइरसविरुद्धको खोप ७० दिन पुगिसकेपछि र रेबिजको खोप कुकुर तीन महिना पुगेपछि लगाइने गरिन्छ । त्यसको बुस्टर डोज खोप लगाइएको एक महिनापछि र त्यसपछि ६ महिनाको अन्तर र एक-एक वर्षपछि लगाइने गरिन्छ ।

कुकुरको रौं कसरी व्यवस्थित गर्ने ?

वर्षमा दुईपटक मौसम बदलिंदा कुकुरको रौं झर्ने गर्छ । पटकपटक कपाल कोरिदिने र आहारमा सन्तुलन मिलाउन सकियो भने कुकुरको रौं झर्न कम हुन्छ । असामान्य रुपमा झर्न थाल्यो भने चिकित्सकलाई देखाउनुपर्छ ।

कुकुरलाई रहरले मात्र भन्दा पनि कुकुर पाल्नुअघि त्यसको जातको ज्ञान, दिन सक्ने समयदेखि पालनपोषण गर्ने क्षमता र राख्ने सहज ठाउँ भएपछि मात्र पाल्नु राम्रो हुन्छ । किनभने रहरकै भरमा पाल्दा कुकुरलाई आवश्यक पर्ने सबै कुरा नपुग्न पनि सक्छ । जसले कुकुरको दैनिकी बिग्रिन सक्छ । कुकुरलाई जनावर भन्दा पनि परिवारकै सदस्य जस्तै मानेर राख्नुपर्छ ।

तालिम आवश्यक

कुकुरलाई खान खाने, दिसा-पिसाब गर्ने, आदर सम्मान गर्ने, सदस्यलाई कसरी व्यवहार गर्ने, फोहोर गर्न नहुने जस्ता कुरा जान्न सक्छ । उसले एकपटक सिकेको कुरा हत्तपत्त बिर्सिन पनि सक्दैन । कुकुरलाई दैनिक जीवनमा सानो-सानो कुरा सिकाउनुपर्छ । जस्तै, कुकरलाई हात मिलाउन सिकाइन्छ । यसले कुकुरले हात मिलायो भन्ने मात्र बुझिंदैन । हात मिलाउँदा उसको हातको कुना-कुनामा भएको फोहोर र नङको फोहोर पनि हेरेर निकाल्न सकिन्छ । तालिमपछि कुकुर चाहिने भन्दा बढी उग्र हुँदैन । उसमा मानिसले चिन्ने खुबी विकास हुँदै जाने, आज्ञाकारी हुने र सबैको साथी कुकुर बन्न सक्छ ।

कुकुरलाई घरमा नै परिवारको सदस्यले सामान्य उठबसको कुरा सिकाउन सकिन्छ । कुकुरकै तालिमकर्ताद्वारा प्रशिक्षण गरायो भने झनै कुकुर अनुशासित र आज्ञाकारी हुन्छन् । कुकुरको स्वभाव पनि मानिसको स्वभावजस्तै फरक-फरक हुन्छ । जस्तै कोही बुल, कोही शान्त, कोही अल्छी र कोही भावुक हुने खालको हुन्छन् । प्रशिक्षकले कुकुरको व्यवहार अनुसार तालिम गराउने गर्छन् ।

कुकुरलाई बोल्न पनि सिकाइन्छ, जसलाई गार्ड ट्रेनिङ भनिन्छ । यो सिक्दा कुकुरले कहाँबाट कस्तो आवाज आएको भन्ने कुरा पहिचान गर्न सक्ने र आवाजअनुसारको प्रतिक्रिया दिन सक्ने र चनाखो हुने हुन्छ ।

हामीले कुकुरले शौचालय नै प्रयोग गरेर दिसा गरेको देखेका छौं । त्यो पनि तालिमबाट नै मानिस जस्तै दिसा पिसाब गर्दा शौचालयमै गर्ने बानी हुन्छ । कसैलाई कुनै खुल्ला क्षेत्रमा गएर गराउने बानी हुन्छ । जुन सधैं नियमित लैजाने ल्याउने गर्दा उसको बानी त्यही अनुसारको विकास हुन्छ र मनलाग्दो ठाउँमा दिसा पिसाब कुकुरले गर्दैन । कुकुरको बानी बसाउन कुकुरलाई एकछिन खेलाएपछि शौचालय वा छुट्टाएको सिमानामा लगेर राखिदिने गर्नुपर्छ । अन्तकतै दिसा गरेको छ भने त्यो क्षेत्रमा लगेर दिसा राखिदिने गर्दा उसले त्यसको गन्धले पनि आफैं बुझेर त्यही दिसा पिसाब गर्ने बानी गर्छ ।

कुकुरको खाना

कुकुरलाई भात, उसिनेको मासु, उसिनेको अण्डा, सागसब्जी, सीमित फलफूल दिन सकिन्छ । खासगरी मासु, सागसब्जी, चामल मिसाएर खिचडी जस्तो खानेकुरा दिनु एकदमै राम्रो हुन्छ । गाँजर, सिमी, काउली मिसाएर बनाएको खानेकुरा पनि उनीहरुको लागि राम्रो हुन्छ ।

सानो बच्चा अर्थात एक बर्षभन्दा कम उमेरको कुकुरलाई दिनमा चार पटक खुवाउनुपर्छ । ठूलो कुकुरलाई दिनमा दुई पटक खुवाए हुन्छ

प्राय मान्छेले आफुले खान पकाएको तरकारीको झोलसँग भात दिने गर्छन् । तेल, नुन, मसला मिसाइएको यस्तो खानेकुरा कुकुरको लागि हानिकारक हुन्छ । यसैगरी चकलेट वा चिनिजन्य खानेकुरा, वोसो, घिउ, पकाएको मासुको हड्डी कुकुरको लागि विषाक्त हुन्छ । अंगुर, एभोकाडो जस्तो फलफूल पनि कुकुरलाई दिनै हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?