+
+

मगर समुदायले पनि टुँडिखेलमा मनाए माघे सकराती (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ माघ १ गते १७:२५

१ माघ, काठमाडौं । आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् ।

‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को टुँडिखेलमा माघे साकराती मनाएका हुन् । उनीहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन मगर भेषभूषामा सडकमा भृकुटीमण्डपबाट झाकी र्‍याली निकालेका थिए ।

नेपाल मगर संघका अध्‍यक्ष ज्ञानेन्द्र पुन मगरले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको आयोजना गरिएको बताए ।

यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरिएको छ ।

नेपालको प्राय: सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे साकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।

माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ ।

यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ ।

यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

हेर्नुहोस् थप तस्वीरहरु

 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?