+
+
पोखरा विमान दुर्घटना :

त्यो अस्वभाविक छोटो फन्को

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ १ गते २२:०६

१ माघ, काठमाडौं । आइतबार विहान १०ः५० मा यती एयरलाइन्सको ९ एन–एएनसी विमानले अवतरणका क्रममा निकै तल आएर एउटा अस्वभाविक छोटो फन्को मार्‍यो र सेती खोँचतिर हानियो । यो दृश्य दख्ने धेरैले विमान दुर्घटनाको अड्कल गर्न नपाउँदै आगोको मुस्लो र धुँवाले विमानस्थल नजिकैको क्षेत्र ढाकिन पुग्यो ।

यो विमान तिनै व्यक्तिले उडाइरहेका थिए, जसले ७ पुस, २०७९ को दिन २ बजेर २७ मिनेट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक विमान अवतरण गराएपछि भनेका थिए, ‘सुविधासम्पन्न विमानस्थल बनेछ र पोखराको उडान सुरक्षित हुन्छ ।’

क्याप्टेन प्रमोदराज पौडेलसँग सफल डेमो उडानपछि क्याप्टेन कमल केसीले भैरहवामा समेत पहिलो पटक अवतरण गरेको खुसी स्मरण गर्दै पोखरामा पनि पहिलो पटक अवतरण गर्न पाउनु खुसीको क्षण भएको बताएका थिए ।

हुन पनि पोखरा र भैरहवा विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान एरोथाईको जहाज अवतरण गर्नु अगाडि कुनै पनि व्यवसायिक जहाज ती विमानस्थलमा अवतरण भएका थिएनन् ।

पहिलो पटक पोखरामा जहाज ओराल्न यती एयरलाइन्सले आफ्नो सबैभन्दा अनुभवी पाइलट केसीलाई यो जिम्मेवारी सुम्पेको थियो । दूर्भाग्यवश पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा प्रदर्शनी उडान गरेको विमान मात्रै हैन, सो डेमो उडान भर्ने एक विमान चालक केसी पनि आइतबार विमानस्थलमा अवतरणकै क्रममा दुर्घटनमा पर्नु एउटा नमीठो संयोग बन्न पुगेको छ ।

पोखरामा डेमो उडानपछि सञ्चारकर्मीसँग केसीले पोखरा डाडाँकाडाँले घेरिएका कारण अन्य अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा केही गाह्रो हुने प्रतिक्रिया दिएका थिए । ‘वरिपरीको डाँडाकाडाँले अलिकति डिस्टर्ब गर्छ, उनले भनेका थिए, ‘अर्कोतर्फ काठमाडौं र भैरहवाको तुलनामा पोखराको धावनमार्गको लम्बाइसमेत कम छ ।’

सानो उपत्यकामा राम्रो विमानस्थल बन्दा पोखरेलीले पाएको सुविधा पर्फेक्ट रहेको समेत केसीले बताएका थिए । अब रातमा पनि पोखरामा उडान गर्न मिल्ने भन्दै उनी प्रफुल्ल देखिएका थिए ।

अर्का पाइलट प्रमोद पौडेलले धावनमार्ग, ट्याक्सी–वे, लाइटहरु एकदमै राम्रो भएको प्रतिक्रिया दिएका थिए । प्राविधिक हिसाबले विमानस्थल पर्फेक्ट रहेको उनले प्रतिक्रिया दिएका थिए । पोखरा विमानस्थलको मूख्य चूनौती उपत्यका जस्तो भौगोलिक अवस्थिति र चराको गतिविधि बढी रहेको उनको भनाइ थियो ।

पाइलट पौडेलले यही विमानस्थल नजिक आइतबार आफ्ना सहकर्मी मात्रै हैन, विमानमा केसीसँगै विमान उडाइरहेकी आफ्नै नजिकको आफन्त क्याप्टेन अञ्जु खतिवडा समेत गुमाउनु परेको छ ।

आइतबार पोखरामा भएको दुर्घटनाका दृश्य देखेर विज्ञहरु नै अचम्मित छन् । प्राधिकरण कार्यालय पोखराका अनुसार जहाज दुर्घटना पर्नु केही सेकेन्ड अगाडिसम्म पाइलट टावरको सम्पर्कमा थिए । विमानस्थलमा कुनै समस्या आएको जानकारी पाइटलहरुले गराएका थिएनन् । जहाजका लागि धावनमार्ग खाली थियो ।

एयर ट्राफिक कन्ट्रोलरले पाइलटलाई धावनमार्गको एक छेउ ‘३०’बाट अवतरणका लागि अनुमति दिएका थिए । तर, पाइलट कमल केसीले जहाजलाई घुमाएर अर्को छेउ ‘१२’बाट अवतरण गर्ने जानकारी गराए ।

दुई पाइलट ककपिटमा भएका बेला भएको दुर्घटनाले धेरै प्रश्न एक साथ उठाएको एक वरिष्ठ पाइलट बताउँछन् ।

‘वेदर क्लियर छ, रन–वे क्लियर छ, प्लेनमा प्राविधिक समस्या आएको जानकारी छैन, तर पनि जहाज दुर्घटनामा प¥यो, यसले गम्भीर प्रश्न भने उठाउँछ’, उनले भने ।

रनवे ३० बाट अवतरण नगरी रेनवे ‘१२’बाट अवतरण गर्न टर्न लिन खोज्दा आवश्यक पावर कम हुँदा जहाजले सन्तुलन गुमाएको हुन सक्ने उनको अनुमान छ ।

तर, दुर्घटना जाँच आयोगको कम्तीमा प्रारम्भिक प्रतिवेदन नआएसम्म कारणबारे भन्न नसकिने उनले बताए । उचाइमा रहँदा विमानले जति छोटो टर्न लिएपनि खासै फरक नपर्ने उनको भनाइ छ ।

‘सामान्यतयाः उचाइमा लामो टर्न लिएर जहाज घुमाउँदा समस्या हुँदैन,’ उनले भने, ‘तल आएपछि छोटो टर्न किन लिइएको हो भन्ने कुरा अनुमान गर्न नै सकिएन ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?