
२ माघ, काठमाडौं । ‘काबुलको बगराम एयरबेसमा जतिबेला अमेरिका र उसका मित्र देशका सेनाको उपस्थिति थियो, त्यतिबेला त्यहाँ जबर्जस्त उज्यालो हुन्थ्यो, मेरो एउटा सपना थियो कि मैले त्यो एयरबेसमा आफ्नो गाडी लगेर चलाउँ ।’
‘मलाई यो एउटा सपना नै हो जुन कहिल्यै पूरा हुँदैन जस्तो लागेको थियो, तर अहिले पूरा भयो । तालिवानी शासकले अफगानिस्तानको बगराम एयरबेसमा मेरो गाडीको प्रदर्शन गरे, उस्तै उज्यालो बनाए जुन मेरो सपना थियो ।’
यो सपना अफगानिस्तानको राजधानी काबुलका एक इन्जिनियर मोहमद रजा अहमदीको हो, जसले युद्धग्रस्त अफगानिस्तानमा पहिलो सुपरकार तैयार गरे ।
एनटप नामको स्थानीय डिजाइन स्टुडियोको सामाजिक सञ्जालमा उनको यो भिडियो सन्देश पोस्ट भएको छ । यो कार अफगानिस्तानका प्राविधिक तथा व्यावसायिक संस्थानको अनुमतिमा एनटप कार डिजाइन स्टुडियोमा तयार गरिएको हो ।
मोहमद राजा अहमदीका सचिवका अनुसार यो कार बनाउन १०–१२ जनाको एउटा समूहले काम गरिरहेको थियो । उनका अनुसार टोयोटा कारको इञ्जिन जडान गरिएको यो एउटा प्रोटोटाइप स्पोर्टस कार हो ।
अफगानिस्तानको शिक्षा तथा प्राविधिक शिक्षा प्रमुख मौलवी गुलाम हैदर शहामतले यो कार बनाउने काम ५ वर्षअघि सुरु भएको जानकारी दिए । पूर्व सरकारको पालामा सुरु भएको काम अहिले तालिवान सरकारको पालामा पूरा भएको हो ।
शहामतका अनुसार गाडीमा भित्री सजावटको काम बाँकी नै छ । अहिलेसम्म ४० देखि ५० हजार डलर खर्च भएको छ ।
– बीबीसी उर्दुबाट
प्रतिक्रिया 4