+
+
ब्लग :

कारुणिक दृश्यमाथि संवेदनाहीन रमिता

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ २ गते २०:१५

टुक्राटुक्रामा परिणत भीमकाय जहाज दुर्घटनापछिको भयानक दृश्य । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा लामबद्ध लास । ओहोरदोहोर गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र, अस्पताल परिसरमा सल्लाझैं सुसाइरहेका मृतकका आफन्तहरु ।

दृर्घटना भएको दोश्रो दिनको खोज तथा उद्धार रोकिँदासम्म ७० जनाको मात्रै शव फेला परेको छ, २ जना अझै बेपत्ता छन् ।

हामी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह अगाडि थियौं । आइतबारबाटै शव पहिचान गरेर घर लैजान नपाएका मृतकका आफन्तहरु पीडासँगै आक्रोशमा थिए । सुरक्षाकर्मीसँग उनीहरुको नोंकझोंक चलिरहेको थियो ।

भावविह्वल दृश्य देखेर थकित थिएँ । उनीहरुको अवस्था देखेर भित्रभित्रै गलिसकेको थिएँ ।

तर, बाध्यता थियो । चुपचाप, रिर्पोटिङका लागि उभिइरहें । तर, भिडमा धेरैबेर उभिनै सकिनँ । ‘जाऊँ हामी, यहाँ धेरै बस्न सकिँदैन,’ सँगै रिपोर्टिङमा जानुभएका विनोद (ढुंगाना) जीले भन्नुभयो ।

‘हुन्छ । जाऊँ,’ केही प्रश्न नगरी हठात् जवाफ फर्काएँ ।

अफिस पुग्नुअघि खाजा खाने सल्लाह भयो । एउटा रेस्टुरेन्टमा पस्यौं । खाजाकै पर्खाइमा थियौं । विनोदजीले एउटा टिकटक भिडियो लाइभ देखाउनुभयो । जहाज दुर्घटना भएको ठाउँबाट लाइभ गरिएको भिडियो थियो त्यो । विपिन गुरुङ नामबाट भइरहेको टिकटक लाइभ भिडियो ४ हजारभन्दा बढीले हेरिरहेका थिए ।

बीचबीचमा कसैले फूल उपहार पठाउँथे । उनी बदलामा खुसी हुँदै प्रतिक्रिया पठाउँथे, ‘थ्यांक्यू … ! थ्यांक्यू … ! लाइभमा जोडिनुस् है ! आउनुस् लास निकाल्दै छ हेरौं । यो लास निकालेर ऊ त्यहाँ राख्छ …. ।’

भिडियो पनि लामो समयसम्म हेरिरहन सकिनँ । हातगोडा फतक्क गले ।

अहो ! हामी त कति संवेदनाहीन भइसकेछौं । सामाजिक सञ्जालको पछि लाग्दालाग्दै कति हो कति एक्लो भइसकेछौं, मानवीयताहीन भइसकेछौं । यो कारुणिक, वियोगपूर्ण क्षणमा पनि मजाक । रमिते बनिरहेका संवेगविहीन प्रवृत्तिप्रति केही लेख्नुपर्छ ।

०७९ माघ १, बिहान करिब ११ बजे

कुनैबेला दैनिक जाने गरेको ठाउँ पोखरा रिडर्स कर्नरमा लामो समयपछि पुगें । काठमाडौंबाट पोखरा आइपुगेपछि केहीबेर फुपुको डेरामा पुगेर त्यसतर्फ गएको थिएँ । चिया खाँदै प्रदीप कुमाल दाइसँग चेस खेल्न थाले । पहिलो खेल बराबरीमा टुंगिएपछि दोस्रो चरण सुरु भएको थियो ।

‘ए भाइ, पोखरामा प्लेन क््रयास भएछ नि ! कुरो के हो बुझ त !’ रिडर्स कर्नरका सञ्चालक दाइ विजय भण्डारीले मलाई रोक्दै भन्नुभयो ।

चेसका गोटी चाल्न अगाडि बढेका हात रोकिए । ‘के भन्नुहुन्छ दाइले ?’ भन्दानभन्दै मोबाइल हेरें, यती एअरलाइन्सको विमान दुर्घटनामा परेको रहेछ ।

सिधैं घटनास्थलतर्फ लागें । पृथ्वीचोक, बसपार्कबाट भित्र छिर्न के खोजेको थिएँ, भिड यति भइसकेको रहेछ कि जाम हुन सुरु भइसकेको थियो । भिड छिचोल्दै छिटोभन्दा छिटो घटनास्थलमा पुग्नु थियो । तर, विवश बनें । ट्याँट्याँ र टूँटूँ हर्न बजाउँदै अघि बढिरहेका मोटरसाइकलको बीचमा कतै हराएँ ।

बाइक रोकेर दौडिएँ, एकछिन पनि रोकिन छुट थिएन ।

असिनपसिन हुँदै सीताराम कोलोनी (पुरानो पोखरा विमानस्थल पछाडि, जहाँ विमान दुर्घटना भएको थियो) मा पुगें । भिड यति बढिसकेको थियो कि खुट्टा राख्ने ठाउँ बाँकी थिएन । टाढैबाट नियाल्दा आगोको मुस्लोको मात्रा घटेकै थिएन । आँखा नै बिझाउने गरी मडारिरहेकै थियो ।

हजारौंको संख्यामा जम्मा भएकाहरुको हातमा हजारौं मोबाइल थियो । र, ती मोबाइल सेती खोंचमा सोझिएको थियो । कोही फोटो, भिडियोमात्रै खिचिरहेका थिए त्यहाँसम्म ठीक थियो । मान्छेको मन न हो, अकल्पनीय कुनै घटना सकभर सप्रमाण राख्न चाहन्छ ।

तर, त्यहाँ भिडले अर्कै ‘अपराध’ गरिरहेको थियो ।

अधिकांश मानिस पृष्ठभूमिमा दुर्घटनाग्रस्त विमान राखेर फोटो सेसन गरिरहेका थिए । कोही सामाजिक सञ्जालमा ‘लाइभ’ दिइरहेका थिए । सामाजिक सञ्जालमा व्यक्तिपिच्छे मनगढन्ते प्रत्यक्ष प्रसारणबाट भ्रम फैलाइरहेका थिए ।

दुर्घटनामा परेको जहाजमा उद्धार गर्न दौडिएका सुरक्षाकर्मीका गाडी, एम्बुलेन्स र वारुणयन्त्र नै रोकिएको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मी, कर्मचारी आफैं सडकमा आएर बाटो खुलाउने प्रयत्न गर्नुपरेको थियो ।

केही गर्दा पनि बाटो खुला गर्न नसकेपछि एउटा वारुण यन्त्रले पानी नै छ्याप्नुपरेको थियो । तर, त्यो प्रयास पनि असफल बन्यो । पानी बन्द भएसँगै फेरि बाटो छेक्दै उसैगरी रमितेहरु ओर्लिए । अत्यधिक भिड र नेटवर्क व्यस्त हुँदा फोन सम्पर्क नै बिच्छेद हुने स्थिति बनेको थियो । पत्रकारहरुलाई खबर सम्प्रेषण गर्नसमेत सकस परेको थियो ।

तर, भिडलाई यसको कुनै परवाह थिएन । केवल उनीहरु सेकेन्डपिच्छे पाइरहेको रियाक्सन र भ्युज गणनामा मस्त थिए । कोही पाइलटको दोष देखाउन मस्त थिए, कोही विमान कम्पनीको । उनीहरुको कुरा सुन्दा लाग्थ्यो, यो भिडमा उनीहरुभन्दा विज्ञ कोही छैनन् । सायद उनीहरुले नै जहाज उडाएको भए त्यो अकल्पनीय घटना हुदैनथ्यो ।

बिहान विमान दुर्घटना हुँदा एकजना ‘केटा’ले एक्लै उद्धार गरेको थाहा पाएपछि फेरि भिडमा उनलाई खोज्नतिर लागें । दर्जनौंलाई सोधेपछि पत्ता लगाएँ, विकास बस्याल । जो विमान दुर्घटनाको पहिलो प्रत्यक्षदर्शीमध्येका एक थिए अनि पहिलो उद्धारकर्ता पनि ।

विकास बस्याल ।

उनका अनुसार जहाज खोंचमाथि ठोक्किँदा उछिट्टिएका ७ जनाको उनी एक्लैले उद्धार गरेका थिए । जसमा २ जना जीवितै थिए । तर, पछि मृत्यु भयो । बस्याल भिड अत्याधिक जम्मा भएपछि एकान्त खोज्दै पर पुगिसकेका रहेछन् ।

बस्यालको कुरा सुनिसकेपछि उनको हृदयमा जीवित रहेको मानवीयताप्रति गर्व लाग्यो । उस्तै दुख पनि । बस्यालका अनुसार उनले हतारहतार दौडिँदै गएर उद्धारमा खटिँदा केही भने भिडियो बनाएर बसेका थिए ।

‘घटना हुँदा १४–१५ जना नजिकै थिए । तर, त्यहाँ कोही बचाउन आएनन् । अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे’, उनले पंक्तिकारसँग भनेका थिए, ‘अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्… ।’

घाँटीमा ‘प्रेस कार्ड’ भिरेर सुरक्षाकर्मीको आँखा छल्दै केही युट्युबरले युट्युब कन्टेन्ट बनाइसकेका छन् । पत्रकारिताको मर्म विपरीतका संवेदनशील केही भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । ती भिडियोबाट उनीहरुले केही डलर आम्दानी त गर्लान् ! केही भ्युज बढाउलान् !

तर, सोचिरहेछु–पीडितको आँसुमाथि ‘रमिता’ देखाएर जोडेको खुसीले के उनीहरुको मन मान्दो हो ?

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?