+
+
ब्लग :

चर्चा र आशंकाको घेरामा नयाँ सरकार

बालकोटबाट तानिएको धागोबाट नाँच्ने पुतली बन्न प्रचण्डलाई जति असजिलो हुनेछ, फरक–फरक उद्देश्य र शर्तहरू राखेर मन्त्री खान आएका आफ्नै मन्त्रिमण्डलका सदस्यहरूलाई एउटै लयमा हिंडाउन पनि उत्तिकै गाह्रो हुनेछ प्रचण्डलाई ।

दिनेश भुसाल दिनेश भुसाल
२०७९ माघ ३ गते ११:३१

पछिल्लो आम निर्वाचनको परिणामले दलतान्त्रिक राजनीतिका अनुयायी सबैलाई जुनस्तरको सर्वव्यापी खुसी प्रदान गर्‍योे, त्यस अर्थमा यो चुनावको चर्चा धेरै पछिसम्म हुने नै छ ।

अराजनैतिक गठबन्धनको आडमा कांग्रेस पहिलो दल बन्न सकेकोमै मख्ख छ । धेरै खस्किएको नतिजाका बावजुद पनि समानुपातिक मतमा पहिलो बनेको एमाले अप्रत्यासित तरिकाले सत्ताको साँचो आफ्नै हातमा लिन सकेकोमा गजक्क छ भने आधा खुम्चिंदा पनि प्रधानमन्त्री पद पड्काउन सकेकोमा माओवादीहरू बुरुक्क उफ्रँदै छन् ।

राप्रपा फेरि संसदमा फर्किन सकेकोमा, राष्ट्रिय स्वतन्त्र पार्टी फस्र्ट इनिङमै छक्का हानेकोमा, दुई लाख पनि मतदाता नभएको नेकपा एकीकृत समाजवादी दश सिट जितेकोमा, मधेशवादी दलहरू अस्तित्व जोगिएकोमा र अरू केही दलहरू संसद छिर्न सकेकोमै आल्हादित भएका छन् । यसरी राजनैतिक दल र तिनका दलदलमा भासिएका समर्थकहरू सबैलाई एकैचोटि खुसी दिनसक्ने चुनाव नेपालको निर्वाचन इतिहासमा यसअघि कहिल्यै देखिएको थिएन ।

चुनावको पूर्वार्धसम्मै शत्रुता र कपटपूर्ण प्रतिस्पर्धामा रहेका दलहरू चुनाव सकिनासाथ एकाएक मित्रवत् सम्बन्धमा गाँसिएर सत्ता साझेदारी गरेको र वैधानिक हिसाबले प्रतिपक्षविहीन सरकार बनेको अर्को अनौठो दृश्य पनि यही निर्वाचन सन्दर्भको अर्को चर्चायोग्य परिघटनाका रूपमा रहनेछ ।

हुनत, चुनाव जित्नैका लागि सिद्धान्तहीन गठबन्धनमा बाँधिएका दलहरू सत्ताको रसास्वादनका लागि फेरि एकै ठाउँमा उभिनु कुनै नौलो विषय होइन, तर सत्ता र शक्तिका लागि जे पनि गर्न नडराउने दल र नेताहरूबाट आम नागरिकहरूका आकांक्षाहरू कसरी सम्बोधन होलान् भन्ने प्रश्नको उत्तर खोज्न पाँच वर्ष कुरिरहनु नपर्ला ।

ओली–प्रचण्ड मित्रता र कपटपूर्ण सम्बन्ध

प्रचण्डका लागि प्रधानमन्त्री पद ओलीले दिएको अप्रत्याशित सशर्त उपहार हो । आधा–आधा कार्यकाल प्रधानमन्त्री र अन्य पदहरूको लेनदेन देखिएका शर्तहरू हुन् तर बालकोटको निर्देशनको अक्षरशः पालना ओपन सेक्रेट शर्त हो ।

संविधानविद्हरूले संविधानको धारा–२ बमोजिम बनेको सरकारको प्रधानमन्त्रीले राजिनामा दिएपश्चात् नयाँ सरकार गठन गर्न धारा–३ आकर्षित हुने बताइरहेको पृष्ठभूमिमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर जुन आशंकाको बीउ रोपेको छ, यसले ओली–प्रचण्ड सम्बन्धमा निरन्तर डर पैदा गर्ने निश्चित छ । न त विगतको आत्मसमीक्षा न त भविष्यको स्पष्ट मार्गचित्र, केवल सत्ता स्वार्थका लागि गरिएको गठजोडको आयु त्यसै पनि अनिश्चित हुन्छ नै, त्यसमाथि विगतको पैंचो तिर्नु पनि त छँदैछ ।

प्रचण्ड तनावमा प्रचण्ड

बालकोटबाट तानिएको धागोबाट नाँच्ने पुतली बन्न प्रचण्डलाई जति असजिलो हुनेछ, फरक–फरक उद्देश्य र शर्तहरू राखेर मन्त्री खान आएका आफ्नै मन्त्रिमण्डलका सदस्यहरूलाई एउटै लयमा हिंडाउन पनि उत्तिकै गाह्रो हुनेछ प्रचण्डलाई । धर्मराउँदो अर्थतन्त्र, खर्चिलो शासकीय स्वरूप, अनुत्तरदायी कर्मचारीतन्त्र र संस्थागत भइसकेको भ्रष्टाचारका बीचमा बहुरूपी गठबन्धन सरकारको नेतृत्व गरेर सुशासन र समृद्धि पस्किनुपर्ने बाध्यतामा रहेका प्रचण्डका आगामी दिनहरू सहज देखिंदैनन् ।

रविः धमिलिंदो छवि

नयाँ पुस्ताका मतदाताहरूद्वारा अत्यधिक आशा गरिएका नयाँ राजनैतिक खेलाडी रविका बारेमा अहिले नै आशंका गर्नु न्यायोचित नहोला । तर यदि अरू कसैले आफ्नै विरुद्ध छानबिन गरिरहेको मन्त्रालयको मन्त्री पद खाएको यदि रविले देख्थे भने उनको आवाज कत्तिको चर्को सुनिन्थ्यो होला भनेर उनलाई प्रश्न गर्ने ठाउँ नदिएको भए के नै बिग्रिहाल्थ्यो होला र ?

अनि सुशासनको घण्टी बजाउन दौडेको साधकले सार्वजनिक पद धारण गरिसकेपछि नगरी नहुने सम्पत्ति विवरण सार्वजनिक गर्न पनि कानुुनले दिएकोे अन्तिम समय नै कुर्नुपर्ने हो र ?

लेखकको बारेमा
दिनेश भुसाल

लेखक नेकपा एमालेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?