
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनललाई ३० असोजमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको छ।
- सोनलले ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पद सम्हालेका छन्, तर दुई सांसदले जनस्वराज पार्टीमा सनाखत गरेपछि सरकार नैतिक संकटमा परेको छ।
- जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बित भएको छ।
३० असोज, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
पाँच दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले बिहीबार प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थन छ ।
तर, शपथ लिएलगत्तै सोनल नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकार नैतिक संकटमा परेको छ ।
सोनलले सरकारको लागि दाबी पेस गरेकै दिन जनमत पार्टीका दुईजना सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका हुन् ।
निर्वाचन आयोगले अहिले आधिकारिकता नदिए पनि दुई सांसद संख्या अहिले तटस्थ छ । निवर्तमान मुख्यमन्त्री सिंहले जनस्वराज पार्टी अहिले तटस्थ अवस्थामा रहेको र निर्वाचन कार्यालयबाट वैधता प्राप्त भएपछि मधेश प्रदेशसभामा दलको दाबी गर्ने बताए ।
जनस्वराजका केन्द्रीय अध्यक्ष इन्जिनियर दिपककुमार साहले पनि आफ्नो पार्टी अहिले तटस्थ अवस्थामा रहेको बताए । यसबारे दलभित्र छलफल गरेर समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने उनको भनाइ छ ।
‘हाम्रो दल अहिले तटस्थ अवस्थामा छ । छलफल गरेर मात्र के गर्ने निर्णय गर्छौं,’ उनले भने ।
यद्यपि, आज उनले सामाजिक सञ्जालमा एउटा समाचार लिंक सेयर गर्दै मधेशवादी दलको सरकारप्रति आफ्नो सहानभूति रहेको उल्लेख गरेका छन् । त्यसलाई कतिपयले नयाँ सरकारलाई जनस्वराज पार्टीको समर्थनको रूपमा बुझिरहेका छन् । तर अध्यक्ष साहले सहानुभूति प्रकट आफ्नो निजी विचार मात्र भएको स्पष्ट पारे ।
अर्को, मुख्यमन्त्री नियुक्त भएर सोनलले आज दिउँसो शपथ लिइरहेकै बेला जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी पक्राउ परिसकेका छन् ।
संसदीय विकास कोष रकममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै सांसद कुशवाहाको सांसद पद स्वतः निलम्वित भएको छ । यस विषयमा अख्तियारले प्रदेशसभालाई औपचारिक जानकारी गराउन मात्र बाँकी छ ।
योसँगै सोनलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेको संख्या ५६ बाट तीन सांसद घटेका छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारका लागि बहुमत पुग्न ५४ सांसद आवश्यक पर्छ । यद्यपि, नागरिक उन्मुक्ति पार्टीले सोनललाई समर्थन दिने भनेको छ ।
सरकार नैतिक संकटमा परेको भन्दै नेकपा माओवादी केन्द्र नयाँ सरकारमा सहभागी नै भएन । सरकार नैतिक संकटमा परेका कारण माओवादी केन्द्र पर्ख र हेरको स्थितिमा रहेको एक सांसदले बताए ।
‘सरकार नैतिक संकटमा परेको छ । अहिले नै सरकारमा सहभागी हुँदा भोलि ढल्यो भने राम्रो सन्देश जाँदैन । त्यसकारण हाम्रो दल पर्ख र हेरको स्थितिमा छ,’ ती सांसदले भने ।
जनमत र एकीकृत समाजवादी सरकारमा विनाविभागीय मन्त्री लिएर सहभागी भएका छन् । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र एकीकृत समाजवादीबाट कनिष पटेल विनाविभागीय मन्त्री बनेका छन् ।
जसपा नेपाल आफ्नो मधेश प्रदेश अधिवेशनमा रहेको कारण सरकारमा सहभागी भएको छैन । उसले अधिवेशनपश्चात् मन्त्री टुंग्याएर पठाउने बताएको छ ।
प्रतिक्रिया 4