+
+
नयाँ पर्यटनमन्त्री अस्पतालमा बुवा भेट्न पुग्दा :

‘फकल्यान्डमा बाँचेर आएँ, तँ मन्त्री बनेको देख्नलाई रैछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:००

३ माघ, काठमाडौं । माओवादी केन्द्रका सांसद सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेको खबर पाउँदा उनका बुवा हर्कबहादुर राई बेडमा आराम गरिरहेका थिए ।

पूर्वलाहुरे हर्कबहादुर पक्षघातले थलिएका छन् । किरातीले बुवालाई भने, ‘बुवा म मन्त्री हुने भएँ ।’

‘हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?’

सुदनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री बन्न लागेको सुनाए । बुवाले उनी कसरी मन्त्री हुन पुगे भनी जिज्ञासा राखे ।

सुदनले भने, ‘पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले राजनीतिमा दुःख गरें, जनताले माया र भरोसा दिए । पार्टीले पनि विश्वास गर्‍यो ।’

बुवाले फेरि छक्क पर्न छाडेनन्, ‘उहिले फकल्यान्डको लडाइँमा मरेको भए यसरी तँ मन्त्री बनेको कहाँ देख्न पाउँथे र ? पाउने थिइनँ ।’

सुदनले आफू पनि युद्धकालमा मरेको भए माओवादीको शहीद भइसक्ने, तर बाँचेको हुँदा राज्यको महत्वपूर्ण जिम्मा पाएको सुनाए । बुवाले भने, ‘हाम्रो वंशमा कोही पनि वडाध्यक्षसम्म पनि भएनौं । अब राम्रो काम गर ।’

सुदनले पद पाउनुभन्दा काम देखाउनु ठूलो कुरा भएको भन्दै बुवासँग आफू धेरै मेहनती बनेर काम गर्ने वचन दिए । पहिल्यै बितेकी आमा सम्झेर उनले भने, ‘आज उहाँ पनि हामीसँगै भएको भए ।’

बुवा हर्कबहादुर ले भने, ‘तेरो आमा पितृको देश गइसक्यो । पछि म गएपछि सुनाइदिउँला, तँ मन्त्री बनिस् भनेर ।’

त्यसपछि रुवावासी चल्यो । हर्षको, भावुकताको, भन्नै नसकिने खालको दुःखको । अनि सुखको ।

भोजपुरमा प्रदेश १ का पूर्वमूख्यमन्त्री शेरधन राई हराएर प्रतिनिधि सभा जितेका सुदनलाई माओवादी केन्द्रले पहिलोपल्ट मन्त्री बनाएको छ ।

सुदनले फेसबुकमा लेखेका छन्, ‘बुवा मलाई जेलमा भेट्न आउनुहुँदा पनि रुनु भएको थियो । आज पनि रुनुभयो । तर आँसुको मुहान र भाव भने फरक ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?