+
+

जुनियर एनटीआरले हलिउडको मार्भल सुपरहिरो फिल्ममा काम गर्ने चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:२२

काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले हलिउड स्टुडियो मार्भलको फिल्म गर्ने चर्चा छ । गोल्डेन ग्लोब्स समारोहपछि उनको बैठक स्टुडियोकी कार्यकारी प्रमुख भिक्टोरिया एलेन्सोसँग भएको पुष्टि भेराइटी म्यागजिनले गरेको छ ।

यो भेटपछि एनटीआर मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा जोडिने चर्चा चुलिएको हो । भेराइटीसँगको एक अन्तर्वार्तामा पनि एनटीआरले आफूलाई एमसीयू फिल्ममा अभिनय गर्न रुचि रहेको बताइसकेका छन् ।

अभिनेता एनटीआर र मार्भलकी कार्यकारी प्रमुख एलेन्सोसँग गफगाफ भए पनि कुराकानी केमा केन्द्रित भयो भन्ने चाहिं खुलेको छैन । यद्यपि एनटीआरलाई हलिउड प्रवेश गर्ने द्वार चाहिं यो गोल्डेन ग्लोब्स पार्टी बन्न सक्छ ।

‘एनटीआर’ अभिनित फिल्म ‘आरआरआर’ले गोल्डेन ग्लोब्समा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ । क्रिटिक्स च्वाइसमा चाहिं यो फिल्म मौलिक गीत र विदेशी भाषी विधातर्फ उत्कृष्ट बनेको छ । यसकारण आरआरआरका कलाकारहरु हलिउडको नजरमा परेका छन् । विश्व प्रतिष्ठित ओस्कार अवार्ड आउन केही साता बाँकी छ र यसमा पनि आरआरआरले कम्तीमा कुनै एक अवार्ड जित्ने अपेक्षा छ ।

गोल्डेन ग्लोब्सको पार्टीमा भेराइटीसँग कुरा गर्दै आरआरआरका अर्का अभिनेता रामचरणले पनि आफूलाई सुपरहिरोको भूमिका गर्न मन लागेको बताएका थिए । ‘क्याप्टेन अमेरिका, किन नगर्ने ? हामीसँग भारतमा पनि अचम्मका सुपरहिरोहरु छन् । हाम्रा एक जना सुपरहिरोलाई यहाँ आउन किन निम्तो नगर्ने ?’ रामचरणले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?