+
+

जहाज दुर्घटनाको शव पहिचानमा किन भइरहेको छ ढिलाइ ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ माघ ४ गते १८:२७
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा बुधबार दिउँसो घुइँचो थियो । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्त यहाँ शव पर्खिरहेका छन् । ‘हाम्रो मान्छेको शव कहिले आउँछ ? किन पोस्टमार्टमा ढिलाइ भइरहेको छ,’ आफन्तले आक्रोश पोखिरहेका छन् ।

विमान दुर्घटना भएको चार दिन बितिसक्दा पनि शव नपाएकामा आफन्तको आक्रोशित छन् र शव चाडैं दिए हुन्थ्यो भन्ने आशमा पर्खिरहेका छन् ।

जहाज दुर्घटनामा परेका ७२ जनामध्ये बुधबारसम्म ७० जनाको शव फेला परेको छ । उक्त दुर्घटनामा परेका दुई जनाको स्थिति अझै अज्ञात नै छ ।

तर, पोस्टमार्टममा किन ढिला भइरहेको छ ?

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी भन्छन्, ‘धेरै शव जलेर नचिनिने अवस्थामा छन् । उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव दिन सकिन्छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ वटा शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ । बाँकी रहेको ४८ वटा शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमा संलग्न चिकित्सकका अनुसार सहजै पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको हो ।

अहिले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पतालका फरेन्सिक विशेषज्ञ सहित दन्त विशेषज्ञ गरी १० जनाको टिमले शवको पहिचान गरिरहेका छन् ।

डा. चौधरीले अनलाइनखबरसँग भने, ‘ती शवलाई क्रस चेक गर्नुपर्ने हुन्छ । केही कारणवश गलत शव पर्न गएको अवस्थामा ठूलो मेडिकल इस्यू आइपर्ने हुन्छ ।’

उनका अनुसार प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ । ‘जलेको शरीरमा आफन्तलाई जुनसुकै पनि आफ्नो लाग्न सक्छ’, डा. चौधरीले भने, ‘पोखरामा पनि एउटै शवलाई तीन जना आफन्तले हाम्रो भनेर दाबी गर्नुभएको थियो ।’

पोखरामा प्रहरीले ४७ वटा शवलाई पहिचान गरेका थिए । त्यसमध्ये २२ वटा पोखरामा पोस्टमार्टम गरी शव पहिचान गर्न सकिएको उनले बताए । ती शवहरु नजलेको अवस्थामा थिए ।

चिकित्सकका अनुसार आकस्मिक वा शंकास्पद रुपमा मानिसको मृत्यु भएमा मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । अन्य कारणबाट मृत्यको कारण पत्ता नलागेमा अन्तिम विकल्पको रुपमा फरेन्सिक विशेषज्ञले शवलाई विभिन्न कोणबाट चिरफार गरी भित्री र बाह्य अंगको अध्ययन र परीक्षण गरेर मृत्यको कारण पत्ता लगाउँछन् ।

अन्य घटनामा पोस्टमार्टम मृत्युको कारण पत्ता लगाउन मात्रै गरिन्छ । तर, यस्तो विपतमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिने डा. चौधरी बताउँछन् ।

‘अहिले हामीले शवको पहिचानको लागि मात्रै पोस्टमार्टमा गरिरहेका छौं’, उनी भन्छन्, ‘केही शव अत्याधिक नै जलेका कारण हामी डीएनएको प्रोसेसमा समेत जानुपर्ने हुन्छ ।’

‘केही शवका टाउको छैन । शरीरभर चोट लागेको छ । शरीर अंगभंग भएका छन् । हामीले शव चिन्नका लागि शरीर चिरेर इम्पलान्ट वा पेसमेकर जस्ता मेडिकल किट छ कि छैन भनेर पनि हेर्छौं’, डा. चौधरी थप्छन् ।

धेरै शव डढेका कारण पहिचानमा जटिलता थपिएको उनको भनाइ छ । यस्ता शव पहिचानका लागि शवको डीनएनसम्म गर्नुपर्ने हुन्छ ।

डा. चौधरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये २२-२३ वटाको पहिचान भइसकेको छ । अब ती शव पोस्टर्माटमपछि आफन्तलाई जिम्मा दिइने छ । तर, शरीर पुरै जलेको अवस्थामा भएका, अंगभंग भएका र विदेशी नागरिक गरी २५-२६ वटा शव पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने अवस्थामा आफन्तले शव पाउन केही दिन अझै लाग्ने देखिएको छ ।

‘केही शव हामीले दुई–तीन दिन भित्रमा दिन सक्छौं । दन्त परीक्षण गर्दा शव पहिचान भएमा डीनएनमा जानुपर्दैन । तर, डीनएनमा जाँदा लामो प्रोसेस हुने हुँदा एक महिनासम्म लाग्न सक्छ’, डा. चौधरीले भने ।

मृतकको दाँत नजलेका कारण पनि दन्त परीक्षणबाट केही शव चिन्नमा सहज हुने उनको भनाइ छ । ‘हामीले मृतकको दाँत र छोरा, छोरी वा बुबा–आमाको रगत निकालेर नुमना परीक्षण गर्दा एउटै हो भन्ने पक्का भएमा शवलाई आफन्तलाई दिन सहज हुन्छ । तर, यो प्रक्रियाबाट पनि पुष्टि हुन नसकेमा डीएनए परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले थपे ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती भने शव जलेर नचिनिने भएका कारण आफन्त वा सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने काम त्यति सजिलो नहुने बताउँछन् ।

‘शव पहिचानका लागि समय लाग्छ । यस्तो केसको नेचर नै यस्तै हो’, डा. वस्तीले भने, ‘धेरै लास जलेको अवस्थामा छन् । केही कारणले डीनएनएमा जानुपर्दा एकदेखि तीन महिनासम्म लाग्न सक्छ ।’

उनी अगाडि भन्छन्, ‘यस्तो दुर्घटनामा पहिचान पहिलो प्राथमिकता हो । के–आधारमा यो व्यक्ति भनियो र शव जिम्मा लगाइयो भन्ने वैज्ञानिक आधार भएपछि त्यही किसिमको स्पष्टसँग रिपोर्ट हुनुपर्छ,’ डा. वस्तीले थपे ।

उनका अनुसार हतार गर्दा शव फेरबदल हुने सम्भावना धेरै हुन्छ । ‘यस्तो दुर्घटनामा भएका शव पहिचान गर्न लामो समय लाग्छ । यति घन्टासम्म पनि लास दिएनन् भन्ने आफन्तको भनाइ आफैंमा गलत हो,’ उनी थप्छन्, ‘हतार गरेर गलत शव दिनुभन्दा सही तरिकाले परीक्षण गरेर लिनु राम्रो होला नि ! ’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?