+
+
प्रदेश १ का फुर्सदिला मन्त्रीहरु :

मुख्यमन्त्री कार्यालयमा कार्यकक्ष, होटलमा बास

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ ४ गते १९:४८

४ माघ, विराटनगर । पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले दुई पटक मन्त्रिपरिषद् विस्तार गरे ।

नियुक्तिको भोलिपल्ट शपथ लिनुअघि एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाए । पुस ३० गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य पनि मन्त्री नियुक्त भए । तर कुनै पनि मन्त्रीले मन्त्रालय पाएका छैनन् ।

विना विभागीय मन्त्रीहरुलाई कार्यालय समयमा बस्नका लागि मुख्यमन्त्री कार्यालयमा नै कार्यकक्ष बनाइएको छ भने बासका लागि होटल बुक गरिएको छ ।

विना विभागीय मन्त्री भक्तिप्रसाद सिटौलाका लागि मुख्यमन्त्री कार्यालयमा राजनीतिक सल्लाहकारको कार्यकक्ष दिइएको छ । अर्का मन्त्री निर्मला लिम्बुका लागि मुख्यमन्त्रीका प्रमुख सल्लाकारको कार्यकक्ष उपलब्ध गराइएको छ ।

मन्त्री तिलकुमार मेन्याङ्बोलाई प्रमुख सचिवको कार्यकक्ष र मन्त्री बुद्धिकुमार राजभण्डारीका लागि मुख्यमन्त्रीको स्वकीय सचिवको कार्यकक्ष उपलब्ध गराइएको छ ।

मन्त्री दुर्गा चापागाईं मुख्यमन्त्री कार्यालयको मिनी हल र जीवन आचार्य र उपसचिवको कार्यकक्षमा बस्छन् । मुख्यमन्त्री कार्यालयमा कार्यकक्ष बनाइएपनि तोकिएको जिम्मेवारी नभएकाले मन्त्रीहरु फुर्सदिला बनेका छन् ।

होटलमा बास

प्रदेश १ मा मन्त्रीहरुका लागि क्वार्टर छ । तर मन्त्रालय नतोकिएको भन्दै मन्त्रीहरु होटलमा बस्ने गरेका छन् । मुख्यमन्त्री कार्यालयले नै होटल बुक गरेर राखेको हो ।

मन्त्री राजभण्डारी दिदीको घरमा बस्दै आएका छन् । अरुलाई भने बिगु होटल बुक गरिएको छ । होटलमा मन्त्री र मन्त्रीको सचिवालयका कर्मचारीका लागि छुट्टाछुट्टै कोठा बुक गरिएको छ । मन्त्रीका लागि दैनिक १३ हजार ५०० रुपैयाँ पर्ने कोठा बुक गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

विना विभागीय मन्त्री तिलकुमार मेन्याङ्बोले होटलमा बस्नु आफूहरुको बाध्यता भएको बताउँछन् । ‘विभागीय जिम्मेवारी नतोकिँदा होटलमा बसिरहेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘१–२ दिन भित्र जिम्मेवारी बाँडफाँट होला ।’

मुख्यमन्त्री कार्की पनि मन्त्रालय समायोजनको गृहकार्य भइरहेको र केही दिनमै मन्त्रीहरुले विभागीय जिम्मेवारी पाउने बताउँछन् ।

एकीकृत समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकारले मन्त्रालयको संख्या १३ वटा पुर्‍याएको थियो । कार्की नेतृत्वको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालयलाई ९ मा झार्ने निर्णय गरेको थियो ।

तर अब ९ मा झार्दा कुन–कुन मन्त्रालय गाभ्ने भन्ने तय भइसकेको छैन । अब मन्त्रालयको टुंगो लगाएर मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्कीको तयारी छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?