+
+
उपसभामुख चुनाव :

सयौं असहायकी इन्दिरा आमा, अब नेताको पनि नेता

३३ वर्षदेखि कैदीबन्दीहरुका कलिला नानीहरु हुर्काउने इन्दिराको भूमिका बदलिंदैछ । उपसभामुख भएपछि इन्दिरा नेताहरुको पनि नेता बन्नुपर्नेछ। विद्यमान कानुन र संसदीय अभ्यासका आधारमा सांसद र मन्त्रीहरुलाई रुलिङ गर्नुपर्नेछ ।

मनिषा थापा मनिषा थापा
२०७९ माघ ६ गते २२:०३
Photo Credit : तस्वीर : बन्दी सहायता नेपाल

६ माघ, काठमाडौं । सत्तारुढ दलहरुमा रातारात कुनै बेइमानी भएन भने इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । सरकारमा नगएका दलहरुको साथ लिएर नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाए पनि प्रष्ट बहुमत सत्तारुढसँग भएकाले इन्दिरा उपसभामुख बन्नेछिन् ।

बिहीबार मात्रै सभामुख पदमा भएको चुनावमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत र सत्तारुढका तर्फबाट उम्मेदवार बनेका एमाले नेता देवराज घिमिरेले १६७ मत पाएका थिए । सभामुख पदमा देखिएको यो मतान्तरले समेत भोलि शनिबार संसदमा हुने निर्वाचनबाट इन्दिरा उपसभामुख बन्ने पक्का छ ।

इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भने शुक्रबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), संसदीय दलको बैठकले गरेको हो । सत्तारुढ दलहरुबीच भागबण्डा हुँदा रास्वपाले पाएको उपसभामुखमा बिहीबारसम्म इन्दिरा नभएर काठमाडौं–२ बाट जितेकी सोविता गौतमको चर्चा थियो ।

तर तिनै सोविता प्रस्तावक रहेर उपसभामुखमा इन्दिराको उम्मेदवारी दर्ता भएको छ । ‘हिजोसम्म जेल बाहेक संसार नदेखेकाहरुलाई संसार देखाउने आमा थिए, उनीहरुकै हकहितमा आवाज उठाउने निर्विल्प उद्देश्यमा थिए’, इन्दिरा भन्छिन्, ‘आज मेरो भूमिका बदलिंदैछ, अब मैले बिस्तारै बोल्दा पनि सुनिनेछ ।’

राज्यकै शीर्ष ६ मध्येमा पर्ने उपसभामुख बन्न लागेकी इन्दिरालाई यो पदको गरिमा र शक्तिबारे राम्रै हेक्का छ । तर राजनीतिक सक्रियताको पृष्ठभूमि भएकाले चाहिं होइन । उनको राजनीतिक सक्रियता त सात महिना पहिले जन्मिएको रास्वपा भन्दा छोटो छ ।

गत ७ असारमा रवि लामिछानेले गठन गरेको रास्वपासँग चिनजानकै मेघ आलेले इन्दिरालाई जोडेका थिए । रास्वपाको गण्डकी प्रदेश सदस्य आलेको आग्रहमै इन्दिराले महासचिव डा. मुकुल ढकालसँग भेटेकी थिइन् । केही नयाँ गर्ने भनेर खुलेको पार्टीमा लाग्न मुकुलले पनि मेघ आलेकै जस्तो आग्रह गरे । रास्वपाले त्यतिखेर प्रतिष्ठा कमाएका व्यक्तिहरु समेटेर पार्टी निर्माणको प्रयास गरिरहेको थियो ।

सभापति रवि र इन्दिराबीच पुरानै चिनजान थियो । ‘रवि लामिछानेले तपाईं समाजसेवाबाट लडिरहनुभएको छ, यो कुरा सदनसम्म लैजानुपर्छ भनेपछि पार्टी सदस्यता लिएँ’, इन्दिरा भन्छिन् । रास्वपाले पनि उनको नाम समानुपातिक सूचीमा राख्यो ।

‘शुरुमा पार्टीको लक्ष्य बुझें । त्यसपछि प्रचारमा लागेँ, हाम्रो विश्वासमा सफल भयौं, म सांसद भएँ’, इन्दिरा भन्छिन् । उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकी इन्दिराको राजनीतिक सक्रियता संक्षेपमा यति नै हो ।

तर कैदीबन्दीको अधिकार र तिनका असाहय बालबच्चा हुर्काउने अभियानमा इन्दिराको तीन दशक सकिएको छ । ५२ वर्षीया इन्दिरा, ३३ वर्षदेखि कैदीबन्दीका बालबच्चा हुर्काइरहेकी छन् । उनको सपना र समर्पण भन्नु नै कैदीबन्दीका छोराछोरीले पनि भौतिक सुविधा र सामाजिक सम्मान पाउनुपर्छ भन्ने हो । ‘म भुइँ मान्छे, मेरो कुरा राज्यले सुन्दैनथ्यो । तर म आवाजविहीनहरुको आवाज सुन्नेछु’, इन्दिरा भन्छिन् ।

पारिजातलाई पछ्याउँदै

झापा अर्जुनधारामा जन्मिएकी इन्दिरालाई कैदीबन्दी र तिनका छोराछोरीको पीर गर्ने चेतना भने साहित्यकार पारिजातले दिएकी थिइन् । गुजाराकै निम्ति पढाउने इन्दिरालाई पारिजातले विशेषगरी राजनीतिक कैदीबन्दीका बालबच्चासम्म जोडिदिए ।

त्यसबेला कैदीबन्दीको अधिकारबारे पारिजात पैरवी गर्थिन् । पारिजातकै साथमा इन्दिराको कारागार सम्बन्ध बन्यो । सन् १९९३ मा पारिजातको निधन भयो, तर इन्दिराले बाटो बदलिनन् । बरु पाम नामक संस्थाबाट कैदीबन्दीका बालबच्चा हेर्न थालिन् ।

‘अवोध र निर्दोष बालबच्चाको अनुहार झल्झली आइरहन्थ्यो । आखिर, ती नानीहरुको के गल्ती ?’ इन्दिरा सम्झन्छिन् । शुरुमा दुई वटा कोठा लिएर तिनै कैदीबन्दीका बच्चाहरु हेर्न थालिन् । आफ्नो भविष्य र संभावना तिनै नानीहरुमा समर्पण गरिन् ।

सन् २०००, अर्थात् २२ वर्ष पहिलो ‘प्रिजनर्स असिस्टान्स नेपाल’ (बन्दी सहायता नेपाल’ मार्फत बन्दीका बालबच्चा हुर्काउन शुरु गर्दा उनीसँग भरपर्दो आर्थिक स्रोत थिएन । तर आफूले लिएको अठोटबाट विचलित भइनन् । एक्ली छोरी सुविनालाई जस्तै माया, स्नेह र साथ दिएर कैदीबन्दीका छोराछोरी हुर्काउन थालिन् ।

उनको कामबारे सूचना बिस्तारै फैलियो । विशेषगरी उनकै समुदाय (मगर) नेपाल प्रहरी, सशस्त्र प्रहरी हुँदै अन्तर्राष्ट्रिय क्षेत्रबाट इन्दिरा सम्मानित र पुरस्कृत हुन थालिन् । पुरस्कारबाट आउने नगद संस्थामा लगाउन थालिन् ।

संस्था खोलेको पाँच वर्षमै ‘अशोका फलो’ बाट सम्मानित भइन् । ‘यो सम्मान पाएपछि पो थाहा पाएँ, नेता भनेको राजनीतिमा होइन, सामाजिक क्षेत्रमा काम गर्दा हुने रहेछ’ इन्दिरा भन्छिन् । अशोका फलोबाट पाएको पैसाले उनको अभियानलाई बलियो साथ दियो । संस्थाको कोष बढ्यो ।

यसको चार वर्षमै एसिया जनसेवा अवार्ड जितिन् । सन् २००९ मा ईन्दिरालाई एसियाका २१ नेतृत्वले पाउने सम्मान दिइयो । सन् २०१४ मा प्रतिष्ठित ‘वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन् । नोबेल पुरस्कार जितेकी पाकिस्तानकी यूसुफ मलाला र अमेरिकाका जोन उडसँगै तीन जनामा परेर इन्दिराले यो सम्मान पाएकी थिइन् । स्वीडेनकी रानी सिल्भियाबाट यो सम्मान लिएपछि इन्दिराको काम अन्तर्राष्ट्रिय क्षेत्रमा थप फैलियो ।

तीन वर्षपछि (सन् २०१७) बीबीसीले प्रेरणादायी तथा सिर्जनशील महिलाहरुको सूचीमा इन्दिरालाई राख्यो । ‘अहिले मेरो स्टोरी स्पेनको ५० वटा स्कूलमा पढाइ हुने रहेंछ, क्यानडा र थाइल्याण्डमा पनि हुन्छ’, आफ्नोबारे इन्दिरा भन्छिन् । प्रेरणादायी व्यक्तिका रुपमा मात्रै चर्चा नभएर इन्दिराले गरेको वकालतलाई पनि समर्थन गर्ने संख्या कम्ति छैन । अरु दर्जनौं पुरस्कार र सम्मान उनले पाएकी छन् ।

तर नेपाल सरकारबाट भने बलियो साथ कहिल्यै पाउन सकेकी छैनन् । त्यसैले पनि उपसभामुखको उम्मेदवार भइसक्दा पनि उनीबारे हुनुपर्ने जति प्रचार थिएन । जबकी अहिलेसम्म कैदीबन्दीका दुई हजारबढी बालबच्चा हुर्काइसकेका छन् । ती बालबालिका हुर्काउने क्रममा मनग्ये भौतिक संरचना निर्माण गरिसकेका छन् । दुई वटा स्कुल र १० वटा बालगृह बनाइसकेका छन् ।

‘मसँग हुर्किएकाहरु कोही ब्रिटिस आर्मी भए, कोही स्टाफ नर्स । कोही खेलाडी छन्, कोही विदेशका विभिन्न ठाउँ पुगे’ इन्दिरा भन्छिन्, ‘तर उनीहरु मेरो बाआमा जेलमा छन् भन्न सक्दैनन् । कसरी हुर्किए भन्न सक्दैनन् ।’

नगरेको गल्तीको सजाय खेपिरहेका कैदीबन्दीका बालबालिकाको कुरा सुनुवाइ नभएपछि नै आफूलाई राजनीतिमा जान बल पुगेको उनी बताउँछिन् ।

‘कारागारका बालबालिकाको हकहितको लागि लडें, केही भएन । उच्च निकायले आलटाल गरिरह्यो’ इन्दिरा भन्छिन्, ‘ती बालबच्चाको हकहितका लागि आवाज उठाउन राजनीतिमा लागेकी हुँ ।’ दलबाट माथि उठेर नागरिकका आधारभूत आवश्यकतामा नेताहरु चिन्तित नभएको गुनासो अझै पनि उनीसँग छँदैछ ।

तर कैदीबन्दीहरुका कलिला नानीहरु हुर्काउने इन्दिराको भूमिका बदलिंदैछ । उपसभामुख भएपछि इन्दिरा नेताहरुको पनि नेता बन्नुपर्नेछ । विद्यमान कानुन र संसदीय अभ्यासका आधारमा सांसद र मन्त्रीहरुलाई रुलिङ गर्नुपर्नेछ । राज्यका संवैधानिक निकायमा उचित व्यक्ति सिफारिस गर्नुपर्नेछ । किनकि आफूलाई सधैं भुइँ मान्छे भनेर चिनाउने इन्दिरा रानामगर सांसद मात्र होइन, उपसभामुखको हैसियतमा संवैधानिक परिषदको एक सदस्य बन्दैछिन् ।

 

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?