+
+

‘प्रसाद २’ मा फेरि लफडा, कोरस डान्सर ढल्दा पनि बेवास्ता गरेको आरोप

निर्माण पक्ष भन्छ- फिल्म असफल बनाउने प्रपञ्च

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ ८ गते १८:३५
फिल्म 'प्रसाद २' टिमले पोखरामा गरेको पत्रकार सम्मेलन । तस्वीर : आशिष पुरी

पोखरा । सुरुवाती समयदेखि नै पटकपटक विवादित हुँदा छायांकन समेत प्रभावित बन्दै आएको फिल्म ‘प्रसाद २’ मा फेरि लफडा भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको सुटिङमा एक जना कोरस डान्सर ढलेपछि पनि निर्माता युनिटले बेवास्ता गरेको भन्दै अहिले विवादित बनेको छ ।

केही दिनअघि आफूलाई सामाजिक अभियानका रुपमा चिनाउँदै आएकी गिभिना मगरले सामाजिक सञ्जाल टिकटकमा एक भिडियो पोस्ट गर्र्दै सपना महर्जन नामकी कोरस डान्सर सुटिङ युनिटमै ढल्दा पनि समयमै अस्पताल नपुर्‍याउँदा एउटा हात र खुट्टा नचल्ने अवस्थामा पुगेको दाबी गरेकी छन् ।

‘प्रसाद २ को जुन पनि डाइरेक्टर, आदरणीय प्रोड्युसर केकी अधिकारीजी, विपिन दाइ जति पनि हुनुहुन्थ्यो, उहाँहरुले सायद मानवतामा हुनुपर्ने, एउटा सहयोगी भावना राखेर नानीलाई हस्पिटल पुर्‍याउनुपर्ने ठाउँमा कुनै पनि वास्ता गर्नुभएन,’ टिकटक भिडियोमा गिभिनाले भनेकी छन्,’ जसको कारणले नानु बेलैमा हस्पिटल नआइपुग्दा एउटा हात र खुट्टा नचल्ने अवस्थामा पुगेको छ । उहाँहरु यतिधेरै विज्ञ हुनुहुन्छ । थोरै पनि सपनाप्रति दयामाया पलाएन, एकदमै चिन्तित छु ।’

दुई दिनअगाडि राखेको उक्त भिडियोमा गिभिनाले कोरस डान्सर सपनासँगै नृत्य गरेकी अर्की कलाकारलाई ‘के भएको थियो ? भनेर प्रश्न सोध्छिन् ।

जवाफमा उनी भन्छिन्, …खाना चाहिं टाइममा भएन । कतिले भोक लाग्यो, भोक लाग्यो… बिहानको खाजापछि डाइरेक्ट ३ बजे चियाबिस्कुट दियो, त्यसले हामीलाई … त्यो दिन हामी कति नाच्यौं । साढे ७ बाट नाचेर, बिहानको खाना पछि बेलुका साढे ५ बजे खा’को हामीले । लाइन भएर त्यस्तै ६ बजेको थियो के । सायद कोरस भनेर यतिसम्म भयो कि रेस्ट पनि पाएनौं, झ्याउ नै भइसकेको थियो ।’

गिभिनाले टिकटकमा राखेको उक्त भिडियो अहिले भाइरल छ । कमेन्टमा निर्माता युनिटप्रति खनिएका छन् । उनीहरुले फिल्म बहिस्कारदेखि निर्माण युनिटलाई कारवाही गर्नुपर्ने माग राखेका छन् । एक महिनाअघिबाट छायांकन सुरु भएको फिल्म पुस ३० मा सकिएको थियो ।

सामाजिक सञ्जालमा फिल्म प्रसाद २ को बहिष्कार अभियानै चलाएपछि निर्माण पक्षले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेको छ । पत्रकार सम्मेलनमा कलाकार निर्देशक सुदर्शन थापा, प्रकाश घिमिरे र प्रत्यक्षदर्शी केही कोरस डान्सर उपस्थित थिए ।

निर्माण पक्षका अनुसार ‘प्रसाद २’ को एउटा गीतको छायांकनका लागि पोखराबाट ९ जना डान्सर लगिएको थियो । तीनैमध्येकी सपना महर्जनले आफू ढल्दासमेत निर्माण पक्षले बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

निर्देशक सुदर्शन थापाले फिल्म असफल बनाउन गम्भीर आरोप लगाएको दाबी गरेका छन् । उनले कोरस डान्सर सपनाको उपचारका लागि टिमले सक्दो सहयोग गरिरहेको दाबी गरे । उनले सुटिङका क्रममा सपनाको स्वास्थ्य अवस्था ठीक रहेको समेत जिकिर गरे ।

‘सपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समयसम्म ठीक थियो । सुटिङ सकेर प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टेतर्फ लाग्यौं । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफू बसिरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ,’ निर्देशक थापाले भने, ‘जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोही क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछ ।’

सपनासँगै रहेका अन्य साथीहरुले उनको स्वास्थ्य बिग्रिएकोबारे निर्माण पक्षलाई जानकारी दिएपछि चिसोको कारण आशंका गर्दै तेल लगाइदिएको र त्यसपछि पोखरा पठाइएको सुनाए ।

‘सपना बहिनीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी पाएपछि कलाकार प्रकाश घिमिरे दाइले नै चिसोका कारण होला भन्दै तेल तताउन लगाएर मालिस गर्न लगाउनुभयो,’ निर्देशक थापाले भने, ‘त्यति गर्दा पनि ठीक नभएपछि राति नै चलचित्रकै टिमले गाडीको व्यवस्था गरेर उपचारका लागि पोखरा पठाएको थियो । अनि कसरी चलचित्र टिमले वास्ता गरेन भन्ने हुन्छ ?’

कलाकार प्रकाश घिमिरेले आफू पनि घटनाको प्रत्यक्षदर्शी रहेको बताए । ‘म आफैं प्रत्यक्ष त्यहाँ उपस्थित छु । हामीले नै कोर्डिनेसन गर्दै सपना बहिनीलाई उपचारका लागि पोखरा पठाएका छौं । अनि कसरी चलचित्र टिमले केही गरेन भन्ने कुरा आयो । मलाई अचम्म लाग्यो,’ उनले भने ।

सपनासँगै नृत्य गरेकी एलिसा तामाङले सपनामा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको दाबी गरिन् । उनले सपनाले एक्कासि टाउको दुखेको भन्दै बान्ता गर्न थालेको सुनाइन् ।

आगमी वैशाख १ गते रिलिज गर्ने योजना रहेको प्रसाद २ मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । फिल्म जातीय विभेदविरुद्ध सन्देश बोकेको कलाकार घिमिरेले जानकारी दिए ।

सुरुमा फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, राज कटुवाल अनुबन्धित भएका थिए । तर बीचमा उनीहरुले फिल्म छाडेपछि केकी अधिकारी जोडिएकी हुन् । यसअघि पनि फिल्मका कलाकारका पारिश्रमिकको विषयमा विवाद भएपछि सुटिङस्थल पुगिसकेको काठमाडौं फर्किनु परेको थियो । फिल्म सुटिङका दौरान विवाद बढ्दै गएपछि निर्माता सुवास थापाले मध्यस्थताको भूमिका निभाइदिन चलचित्र निर्माता संघमा उजुरी नै दिएका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?