+
+

निर्माणको सिजनमै गिट्टी-बालुवा अभाव, फेरि गुपचुप खुल्लान् क्रसर ?

रवीन्द्र घिमिरे नवीन ढुंगाना रवीन्द्र घिमिरे, नवीन ढुंगाना
२०७९ माघ ८ गते २२:०२

८ माघ, काठमाडौं । पुससम्म ठप्प जस्तै रहेको निर्माण क्षेत्रले केही गति लिन थालेको बेला ढुंगा गिट्टी बालुवाको हाहाकार भएको छ । अन्य निर्माण सामग्रीको मूल्य घटेर निर्माणको वातावरण बनेकै बेला २० पुसमा गृह मन्त्रालयले अवैध रुपमा चलिरहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभरै जिल्ला प्रशासन कार्यालयहरूले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरेका छन् । ओसारपसारमा पनि कडाइ गरिएको छ ।

यसका कारण निर्माणको मुख्य सिजनमै निर्माण उद्योगले सास्ती बेहोरेको छ । ठेकेदारहरूले काममा ढिलाइ गर्दै भेरियसनमार्फत ठेक्काको मूल्य (लागत) बढाउने बाहनाबाजी पनि पाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहका अनुसार अहिले अधिकांश निर्माण कार्य गिट्टी, बालुवाको अभावमा ठप्पजस्तै छन् ।

चालु आर्थिक वर्षको साढे ६ महिना बित्न लाग्दा सरकारको पूँजीगत खर्च १४.६७ प्रतिशतमा सीमित छ । ३ खर्ब ८० अर्बको पूँजीगत बजेट छुट्याएको सरकारले शनिबारसम्म बल्ल ५५ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्न सकेको छ । गत वर्ष यो अवधिमा यस्तो खर्च १३ प्रतिशत थियो ।

यो निर्माणको काम गर्ने मुख्य सिजन हो । तर, यही बेला विकासे आयोजनाहरूलाई ठेकेदार कम्पनीले ढुंगा, गिट्टी र बालुवा किन्न र ओसारपसार गर्न सरकारले रोक लगाएको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्ने जानकारी गराउन थालेका छन् ।

काम रोकिएको र त्यसको जिम्मेवार सरकार नै हुने भन्दै निर्माण कम्पनीले लिखित रुपमै आयोजनाहरुसँग दाबी, क्षतिपूर्ति र हर्जाना दावी पनि गर्न थालेका छन् ।

सुस्त भएपनि काम भइरहेका काठमाडौ उपत्यकादेखि लिएर प्रमुख विकासे आयोजनाहरु प्रभावित भएका छन् । सडक विभागदेखि शहरी विकास तथा भवन निर्माण विभाग, सिँचाइ विभाग, खानेपानी तथा ढल निकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विभागसहित प्रदेश सरकार र स्थानीय सरकारका निकाय र त्यसअन्तरगतका आयोजनाहरुमा ठेकेदार कम्पनीले ढुंगा, गिट्टी र बालुवा अभाव देखाउँदै काम रोकेका छन् ।

सडक मर्मतदेखि सुरुङमार्ग निर्माण सम्मका कामहरु पनि प्रभावित भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रहरीले रोकेका कारण एक ठाउँमा ल्याएर थुपारिएको विभाग र ठेकदारहरुको क्रसरजन्य सामग्री अर्को ठाउँमा लैजान समेत सकिएको छैन ।

आर्थिक वर्षको सुरुवाति महिना कार्तिक र मंसिरमा सुस्त रहेको निर्माण व्यवसायमा पुस लागेसँगै केही जुर्मराएको थियो । तर, पूँजीगत खर्चको दर बढ्दै गर्दा आएको यो संकटले पूँजीगत खर्चको दर घट्ने चिन्ता सरकारी आयोजनाहरुको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले ठेकेदार समेत रहेका सहरी विकास मन्त्री विक्रम पाण्डेलाई सिंहदरबारस्थित कार्यकक्षमै भेटेर निर्माण उद्योगको यो समस्याबारे ध्यानाकर्षण गराएको छ ।

मन्त्री पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषदमा सकारात्मक छलफल भएको बताएका छन् ।

उनले चाँडै निकास निस्किने बताएकाले अवैध क्रसरहरुलाई फेरि कुनै योजना र तयारी अवैध भन्दै बन्द गराउने र गिट्टी-बालुवा अभाव भएपछि त्यसकै आडमा गुपचुप तरिकाले चल्न दिइरहने विगतकै कार्यशैली दोहोरिने अवस्था आउने सम्भावना छ ।

विगतमा पनि सरकारले पटक-पटक दर्ता र नवीकरण नभएका क्रसर बन्द गर्दै समयक्रममा समस्या परेको भन्दै अपारदर्शी रुपमै चल्न दिने गरेको थियो ।

यसपटक गृहमन्त्री रबि लामिछानेले पनि पुरानै शैलीमा क्रसर बन्द गराएका छन् । तर, कहिलेबाट, कुन शर्तमा कहिलेदेखि खुल्न दिने वा मापदण्ड पुरा नगरेसम्म खुल्नै नदिने भन्नेबारे उनको धारणा स्पष्ट भएको छैन ।

‘वातावरण बन्दै गर्दा समस्या’

व्यवसायीहरु भने निर्माणको वातावरण बन्दै गरेको बेला क्रसर बन्द गराउने सरकारको निर्णय प्रत्युत्पादक हुने बताउँछन् । पछिल्ला दिनमा बजारमा इँटा, सिमेन्ट, बालुवा, गिट्टी, डण्डी र सिमेन्टको माग बढिरहेको थियो ।

नेपाल इटा उत्पादक संघका निवर्तमान अध्यक्ष महेन्द्र चित्रकारकाअनुसार विगतको तुनामा व्यापारमा क्रमिक वृद्धि भएको छ । अहिले इँटा व्यवसाय ४० प्रतिशत हाराहारीमै सीमित रहेको र अझै निर्माणले गतिलिने आशमा व्यवसायीहरुले इँटा उत्पादनका लागि थप काम अघि बढाएको चित्रकारले बताए ।

‘अलि पहिलेको तुलनामा बजारले विस्तारै गति लिन थालेको छ । माग बढेको छ,’ चित्रकारले भने, ‘माग अझै बढ्ने आशामा उद्योगीहरु थप उत्पादनमा लाग्नु भएको छ ।’

भूकम्पपछिको अवस्थाको तुलनामा बजार निकै खस्केको भए पनि केही पहिलेको मन्दीमा सुधारको संकेत देखिएको उनले बताए । संघकाअनुसार बजारमा अहिले औसत १० देखि २० रुपैयाँ प्रतिगोटामा इटाको बिक्री भइरहेको छ ।

काठमाडौं उपत्यकामा इटा बिक्री गर्ने गंगा श्री सप्लाइ कम्पनीकाअनुसार काठमाडौंमा अहिले एक एक नम्बर इटाको मूल्य प्रतिगोटा १५ रुपैयाँ पर्छ । यस्तै २ नम्बरको इँटाको मूल्य  १३ रुपैयाँ पर्छ । यो मूल्य ढुवानी भाडासहितको मूल्य भएको कम्पनीले जनाएको छ ।

बजार सुस्त भएका कारण इँटाको मूल्य दुई महिना अघिको तुलनामा केही घटेको हो । यही मंसिर पहिलो सातासम्म इँटाको मूल्य एक नम्बरको १६ रुपैयाँ ५० पैसा, र दुई नम्बरको १५ रुपैयाँ प्रतिगोटा थियो ।

कम्पनीकाअनुसार सरकारले अवैध क्रसर बन्द गर्न निर्देशन दिएपछि अहिले गिट्टी र बालुवा भने अभाव सिर्जना भएको छ । केही दिनदेखि काभ्रे, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट काठमाडौंका मुख्य सहरका निर्माण क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको व्यापार ह्वात्तै घटेको छ ।

उत्पादन र ओसारपसारमा आएको समस्याका कारण मूल्यमा एक रुपता हुन नसके पनि अघिल्लो सातासम्म एक टिपर बालुवाको मूल्य २५ हजार रुपैयाँमा तोकिएको थियो । यस्तै तयारी गिट्टीको मूल्य प्रतिटिप २२ हजार रुपैयाँ मात्रै रहेको गंगाश्री सप्लाइ कम्पनीले जनाएको छ ।

यसअघि बालुवाको मूल्य प्रतिटिप ३३ हजार र गिटीको मूल्य २५ हजार रहेकामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा देखिएको मन्दीका कारण मूल्य घटेको कम्पनीले जनाएको छ । यो मूल्य काभ्रे र सिन्धुपाल्चोकबाट काठमाडौंसम्मको ढुवानीसहितको हो ।

निर्माणको अन्य महत्वपूर्ण कच्चा पदार्थहरु सिमेन्ट र छडको व्यापारमा पनि केही सुधार देखिएको छ । हृवासिन सिमेन्टका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलकाअनुसार अहिले बजारमा सिमेन्टको मागमा केही सुधार भएको छ ।

यसअघि लगानीयोग्य रकम अभावमा बजारमा निकै खस्केको व्यापारमा केही सुधार भएपनि उल्लख्य भने नभएको उनले बताए । ‘निर्माणले मौसम भएका कारण केही बिक्री बढेको छ,’ उनले भने ‘तर, जुन मात्रामा वृद्धि हुनु पर्ने हो, त्यो छैन ।’

चेन हार्डवेयर व्यवसाय राजेश हार्डवेयरकाअनुसार विगतको दुई महिनाको तुलनामा फलामे छड र सिमेन्टको व्यापारमा केही सुधार देखिएको छ । मानिसहरुले सिमेन्ट र फलामको मागलाई बढाउँदा बजारमा यी वस्तुको मूल्य पनि बढेको राजेश हार्डवेयरले जनाएको छ ।

अहिले बजारमा फलामे छडको मूल्य प्रतिलिकिलो ११६ रुपैयाँ छ । डेढ महिनाअघिसम्म प्रतिकिलो १०९ रुपैयाँ रहेको छडको मूल्य बजारमा माग बढेसंगै मूल्यमा पनि केही वृद्धि भएको हो ।

यस्तै अहिले सिमेन्टको माग पनि बढेको छ । केही समययता ओपीसी र पीपीसी दुवै सिमेन्टको माग बढिरहेको बजारमा औसत ओपीसी सिमेन्टको मूल्य ७२० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ६२० रुपैयाँसम्म छ ।

निर्माण सामाग्री व्यापारसंघकाआनुसार ब्राण्ड र उत्पादक कम्पनीअनुसार फरक फरक मूल्य भएका कारण सिमेन्टको बजारमा मूल्य पनि केही तलमाथि हुनसक्ने छ ।

संघका अध्यक्ष मानिकरत्न तुलाधरअनुसार निर्वाचनपछि निर्माण सामाग्रीको व्यापार बजारमा सुधार आएको छ । बजारको नियमानुसार माग बढेपछि केही मूल्य भने बढेको हुनसक्ने तुलाधरले बताए ।

‘अहिले बजारमा व्यापार बढिसकेको छ । निजी र सरकारी प्रोजेक्टमा काम भइरहेको छ, केही प्रजेक्टमा समस्या छ,’ उनले भने ‘सरकारले समयमै भुक्तानी नर्गदा केहीमा समस्या भएको हुनसक्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह क्रसर बन्द राखिए अब फेरि निर्माण उद्योग पुरानै अवस्थामा फर्किने जोखिम रहेको बताउँछन् । त्यसैले निर्माणमैत्री वातावरण बनाउन सरकारले तत्कालै निर्णायक भूमिका खेल्नुपर्ने बताउँछन् ।

‘वैध रुपमा व्यवसाय गर्न दिने गरी वातावरण बनाएर ढुंगा, गिट्टी र बालुवाको आपूर्ति सहज गर्नुपर्छ,’ उनी भन्छन्,’हैन भने निर्माण व्यवसाय थप धरासायी हुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?