 
																			९ माघ, काठमाडौं । नेपाली कांग्रेसका फरक फरक समूहले आफ्नो पक्षबाट नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमितिमा नेतृत्व गरेर जाने व्यक्तिको नाम टुंगो लगाएका छन् ।
संस्थापन पक्षबाट प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री किशोरसिंह राठोर, नेता एनपी साउद लगायतले आफ्नो पक्षका नाममा समन्वय गरेका छन् ।
संस्थापन पक्षका नेताहरुका अनुसार तदर्थ समिति स्थान पाउनेहरुको सूचीलाई अन्तिम रुप दिन लागिएको छ । नेता शेखर र महामन्त्री गगन पक्षबाट विद्यार्थी पूर्व नेताहरु केशव सिंह, रञ्जित कर्ण, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी लगायतले आफ्नो पक्षको नाम सूची बनाउने कार्यमा जुटेका छन् ।
भ्रातृ संस्थाहरुको तदर्थ समिति ठूलो आकार बनाउनेमा सबै पक्ष सहमत भएका छन् । पदाधिकारी सहित वा विहिन तदर्थ समिति बनाउनेमा पार्टीभित्र फरक फरक धारणा आइरहेका छन् । अध्यक्ष र सदस्यहरुको मात्रै तदर्थ समिति बनाउने पक्षमा सभापति शेरबहादुर देउवा छन् ।
सोही समूहका नेताहरु पदाधिकारी सहित भ्रातृ संस्था बनाउन उपयुक्त हुने धारणा राख्छन् । ‘संगठनलाई चलायमान गराउन र कार्यकर्ताको नेतृत्व विकास गर्न पदाधिकारी सहितको नेविसंघ बनाउनुपर्दछ, केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्,‘एकपटकको लागि आकार बढाएर वृहत संख्यामा ल्याउँदा पनि के विग्रन्छ र?’
विधानतः नेविसंघ १०१ सदस्यीय हुने व्यवस्था छ । शीर्ष तहमा नेविसंघको तदर्थ समितिलाई १२१ वा १५१ सम्म पुर्याउने गरी छलफल भएको छ । ‘तदर्थ समिति १५१ सदस्यीय हुने सम्भावना बढी छ,’ नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले भने । विद्यार्थी आन्दोलनमा सहभागी भएको र आसन्न स्ववियू निर्वाचनमा सक्रिय भूमिका खेल्न सक्नेहरुलाई तदर्थ समितिमा प्रस्ताव गर्न लागिएको कर्णले बताए ।
संस्थापनइतरले तदर्थ समितिमा ४० प्रतिशतको हिस्सेदारी माग गरेको छ । बाँकी ६० प्रतिशतबाट कुन नेतालाई कति भाग दिने जिम्मेवारी संस्थापन पक्षको भएको संस्थापनइतरका नेताहरुको तर्क छ । ‘हाम्रो पक्षलाई ४० प्रतिशतको सम्माजनक हैसियत हुनुपर्दछ,’ शेखर पक्षका नेता जगदिश्वर नरसिंह केसीले भने,‘अरु नेताहरुलाई भाग चाहिए बाँकी ६० प्रतिशतबाट सभापतिले मिलाउनुपर्दछ ।’
प्लेन कार्यसमिति बनाउने प्रारम्भिक सहमति नेताहरुमा भएपछि आफ्नो समूहको नेतृत्व गरेर कसलाई पठाउने चर्चा समेत सुरु भएको छ । अब मनोनित हुनेहरुमा संस्थापन र इतर दुबै पक्षबाट नेतृत्व गरेर जानेको नाममा मोटामोटी सहमति भएको छ ।
संघको अध्यक्षमा दुजाङ शेर्पा छन् । उनी संस्थापन पक्षका हुन् ।
सोही समूहबाट गीता गुरुङको नेतृत्वमा अन्य थपिने संस्थापन पक्षका एक नेताले जानकारी दिए । नेविसंघको पूर्व केन्द्रीय सदस्य रहेकी उनी प्रदेश १ कार्यसमितिबाट राजीनामा दिएर विद्यार्थी राजनीतिमा फर्किन चाहेकी हुन् ।
स्रोतका अनुसार संस्थापन पक्षबाट तदर्थ समितिमा पूर्व केन्द्रीय सदस्यबाट बढीमा ६ जनाले स्थान पाउने छन् । ३२ वर्षे उमेर हद कायम रहेकाले इच्छा राखेर पनि कतिपयले तदर्थ समितिमा मनोनित हुन नपाउने भएका हुन् । २०७८ को चैतमा अध्यक्षमा शेर्पालाई मनोनित गर्दाको समयलाई आधार मानेर ३२ उमेर हद कायम गरिने भएको छ ।
शेखर–गगन पक्षबाट उक्त समूहको नेतृत्व प्रेमिका रानामगरले गर्ने भएकी छन् । रानामगर संघको पूर्व केन्द्रीय सदस्य हुन् । सोही पक्षबाट दिनेश शाहीले पनि समूहको नेतृत्व गरेर तदर्थ समितिमा जान इच्छुक छन् ।
नेता कृष्णप्रसाद सिटौला पक्षमा तदर्थ समितिमा पठाउने विषयमा छलफल नै सुरु नगरिएको नेविसंघका पूर्व महामन्त्री बलदेव तिमिल्सिनाले बताए । उनले भने, ‘प्लेन समिति ल्याउने कि पदाधिकारी सहितको निर्णय नै हुन सकेको छैन,’ तिमिल्सिनाले अनलाइनखबरसँग भए,‘तदर्थ समितिको मोडालिटी क्लियर भएपछि सल्लाह हुन्छ ।’
नेता रामचन्द्र पौडेल पक्षबाट तदर्थ समितिमा एलिजा ढकालले नेतृत्व गर्ने भएकी छन् । पौडेल पक्षबाट कति जनाले तदर्थ समितिमा स्थान पाउनेमा सभापति देउवामा निर्भर हुने नेताहरु बताउँछन् । पूर्व महामन्त्री डा. शशांक कोइराला निकट पुजन गन्धर्वले तदर्थ समितिमा शशांक पक्षको नेतृत्व गर्ने भएका छन् । नेता प्रकाशमान सिंह पक्षबाट उज्ज्वल बज्राचार्यले सिंह पक्षबाट नेतृत्व गरेर तदर्थ समितिमा पुग्ने भएका छन् ।
नेविसंघको पूर्ण कार्यसमिति यसै साताभित्र आउने नेताहरुले दाबी गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4