९ माघ, काठमाडौं । ३० मे, २००८ जर्सीको सेन्ट जेभियर मैदानमा महबुब आलमले एकदिवशीय क्रिकेटमा एउटा कालजयी कीर्तिमान बनाएका थिए । विश्व क्रिकेट लिग डिभिजन पाँच अन्तर्गत मोजाम्बिकविरुद्ध सबै १० विकेट लिएका महबुब त्यसयता विश्व कीर्तिमानधारीका रुपमा चिनिन्छन् ।
नेपाली क्रिकेटको स्तर विश्वसामु चिनाएको १४ वर्षपछि तिनै महबुब क्रिकेटको सबैभन्दा ठूलो अपराधको आरोपसहित प्रहरी हिरासतमा पुगेका छन् । अघिल्लो महिना सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संग्लग्न भएको तथ्य फेला परेको भन्दै नेपाल प्रहरीले सोमबार पूर्व क्रिकेटर महबुब आलम, राष्ट्रिय टिमका युवा खेलाडी आदिल अन्सारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अर्का एक जनाको नाम सार्वजनिक गरेको छैन ।
४१ वर्षीय महबुब नेपाल टी–२० लिगमा खेलाडीका रुपमा सहभागिता थिएन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले विराटनगरको भिन्तुना होटलबाट पक्राउ गरेको हो । नेपाल टी–२० लिग आयोजक नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियासँग प्रत्यक्ष सम्पर्कमा रहेर खेलाडीहरुलाई स्पट फिक्सिङका लागि अफर गर्ने गरी महबुबको संग्लग्नता भेटिएको प्रहरीको भनाइ छ ।
सन् २००३ मा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका सप्तरी राजविराजका महबुबले करिव डेढ दशक अन्तर्राष्ट्रिय करिअरमा बिताए । सन् २०१७ यता उनी राष्ट्रिय टिममा छैनन् । घरेलु प्रतियोगिता भने खेलिरहन्छन् ।
नेपालमा लोकप्रिय खेलमा फुटबलपछि क्रिकेट पर्छ । सन् २०१० सम्म उत्कृष्ट लयमा देखिएका बायाँ हाते अलराउण्डर महबुबले नेपालको लोकप्रिय खेलमा फुटबलसँगको अन्तर कम गर्न ठूलो भूमिका खेले । महबुबले आफ्नो समयमा नेपालको धेरै जितमा निर्णायक प्रदर्शन गरेका छन् । उनलाई नेपाली क्रिकेटको पहिलो सुपरस्टार मान्न सकिन्छ । क्रिकेटमा फिक्सिङजस्तो अक्षम्य अभियोग उनीमाथि लाग्नु नेपाली क्रिकेटकै लागि दुखद भएको क्रिकेटका जानकारहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को मान्यताप्राप्त एकदिवशीय खेलमा मिडियम फास्ट बलर हकबुबले पाएको यो अविश्वसनीय सफलता त्यसपछि अहिलेसम्म दोहोरिएको छैन । टेष्ट क्रिकेटमा भने इंग्ल्याण्डका जेम्स जेकर र भारतका अनिल कुम्बलेले एकै इनिङ्समा १० विकेट लिएका छन् ।
१० विकेट लिएको अर्को खेलमा नर्वेमाथि ५१ रनको अर्धशतकीय पारी खेलेका महबुब १९ विकेटसहित डिभिजन पाँचको प्लेयर अफ द सिरिज चुनिएका थिए । महबुब नेपाली क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडीसमेत हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनमध्ये दोस्रो स्थानमा पनि महबुब नै पर्छन् । सन् २००३ मा एसीसी इमर्जिङ कपमा माल्दिभ्सविरुद्ध उनले ८ विकेट लिएका थिए ।
पहिलो नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सलाई उपाधि जिताएका प्रशिक्षक मनोज कटुवाल महबुबका समकालीन हुन् । यी दुई राष्ट्रिय टिममा रहँदा टिममेट पनि थिए । अनलाइनखबरसँगको कुराकानीमा कटुवालले स्पट फिक्सिङमा संग्लग्न भएको आरोपमा महबुब पक्राउ परेको समाचार सुन्दा आश्चर्यमा परेको बताए । ‘महबुबसँग मेरो लामो समयदेखिको सम्बन्ध छ । उसको समाचार सुनेर नराम्रो लाग्यो । उसले यस्तो काम गर्न सक्छ भनेर मलाई विश्वास थिएन,’ कटुवालले महबुबलाई कसैले फसाएको पो हो कि भनेर चिन्ता जनाए ।
तर, कटुवालले नेपाली क्रिकेट संरचना बलियो नहुनुको कारण स्वार्थ समूहको चलखेल हुनसक्ने सम्भावनालाई भने अस्वीकार गरेनन् । ‘मेरो विचारमा परिवारमा अभिभावक असल भयो भने सन्तानले त्यहीअनुसार संस्कार पाउने हो । हाम्रो देशमा क्रिकेट संघ नै समृद्ध छैन भने स्वार्थ समूहले खेल्ने सम्भावना पाउँछन्’, कटुवालले थपे ।
विवादै विवादका बीच पुस ९ देखि २७ गतेसम्म नेपालको पहिलो आधिकारिक फ्रेन्चाइज क्रिकेट आयोजना भएको थियो । सट्टेबाजी घरहरु सञ्चालन गर्नेसमेतको उद्देश्यबाट भारतमा दर्ता भएको प्रमुख साझेदार कम्पनीको नियतमाथि सम्झौतादेखि नै प्रश्न उठेको थियो ।
१ करोड चुक्ता पुँजी भएको सेभेन थ्री स्पोर्टसले ८ वर्षका लागि ३३ करोडमा नेपाल टी–२० लिगको अधिकार विना प्रतिस्पर्धा पाएको थियो । प्रतियोगितामा देखाउनका लागि एउटा बेटिङ कम्पनी वान एक्स ब्याटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरिए पनि सेभेन थ्रीको देखिने आम्दानी केही थिएन ।
प्रतियोगितालाई क्यानको प्रमुख साझेदार सेभेन थ्रीले नै बेटिङ र फिक्सिङको अखडा बनाउन प्रयोग गरेको सीआईबीको अनुसन्धानले पुष्टि गरिसकेको छ । सीआईबी स्रोतका अनुसार महबुबसँगै पक्राउ परेका सबै क्रिकेटरको सिधा सम्पर्क सेभेन थ्रीका मालिक जतिनसँग जोडिएको छ ।
 
                    










 २०७९ माघ  ९ गते २१:०४
                        २०७९ माघ  ९ गते २१:०४                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4