+
+

राष्ट्रपतिको उम्मेदवारमा देउवाले लिए रामचन्द्रसँगै सिटौलाको नाम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २२:२७

९ माघ, काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाएका थिए । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका हुन् ।

यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बन्न पुगे । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् ।

१० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनायो ।

सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । नेताहरुका अनुसार त्यसको अघिल्लो दिन भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई विश्वासको मत दिए फेरि सहकार्यको आधार बन्ने र राष्ट्रपतिका लागि कोशिस गर्ने आश्वासन दिएका थिए ।

त्यही आधारमा कांग्रेस नेताहरुले अहिले पनि राष्ट्रपति निर्वाचनसम्म परिस्थिति फेरिनसक्ने बताउने गरेका छन् । माओवादीका नेताहरुले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको र कांग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउन थालेका छन् ।

कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गर्छ भन्ने छैन । तर सम्वादमा रहेका नेताहरुले कोशिस गर्ने हो भन्नुभएको छ ।’

पदाधिकारीको बैठकमा प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनबारे संविधान र ऐन बाझिएको विषय उठाएका थिए । तर सभापति देउवाले यो प्राविधिक विषय भन्दै पन्छाए ।

स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता पौडेल, प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्वादमा छन् । कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र माओवादीलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गरेका छन् ।

‘माओवादीले कांग्रेसलाई समर्थन गर्ने भनेको भए पो जसलाई उम्मेदवार बनाउँदा पनि हुन्छ’, उनले निकटवर्तीहरुसँग भन्ने गरेका छन्, ‘अहिले त उम्मेदवार आफैंले माओवादीको मत लिन सक्नुपर्छ । यो मबाहेक अरुले सक्दैन ।’

स्रोतका अनुसार सोमबारको बैठकमा कांग्रेस नेताहरुले मतभारको हिसाब समेत गरेका थिए । तर माओवादी केन्द्रले संस्थागत निर्णय गरेर मत नदिँदासम्म केही नहुने देखिएपछि प्रधानमन्त्री प्रचण्डसँग विश्वासको वातावरण बनाउन पहल गर्ने समझदारी भएको छ ।

एक नेताका अनुसार माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नसकेको अवस्थामा के गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । कतिपयले एमालेको राष्ट्रपति हुन नदिन विकल्पबारे पनि सोच्नुपर्ने बताएका छन् ।

तर सभापति देउवाले अहिले यसबारे छलफल नै नगर्ने बताएका छन् । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सबै दलसँग भोट माग्ने उनले बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?