+
+

सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्ने त संस्कृति मन्त्रीज्यू ?

कला, साहित्य र संस्कृति भनेका मनको मैला सफा पार्ने साबुन हुन् । तनको मैलो साबुन र सर्फले सजिलै सफा गर्न सकिन्छ तर मनको मैलो सफा गर्ने कुरा धेरै जटिल हुन्छ ।

प्रा.डा.बद्रीविशाल पोखरेल प्रा.डा.बद्रीविशाल पोखरेल
२०७९ माघ १० गते १४:०३

समाजलाई गुणात्मक रूपान्तरण गर्ने संस्कृति जस्तो अत्यन्तै महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाउनुभएकोमा मन्त्री सुदन किरातीलाई हार्दिक सांस्कृतिक अभिवादनका साथै बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । संस्कृति विषयमा तपाईंले जानेबुझेकै विषय राख्न चाहन्छु । किनकि तपाईंलाई राजनीतिमा प्रवेश गर्न सर्वाधिक प्रभावित पार्ने विषय साहित्य रहेको र त्यसको तपाईंले गहन पठन, अध्ययन, मनन तथा सिर्जना गरेको मैले थाहा पाएको छु ।

कला, साहित्यिक तथा सांस्कृतिक उन्नत चिन्तन र चेतका नेताहरूले समाजवादी आन्दोलनलाई सफलताको सिंढीहरूमा चढाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण मार्क्स, लेनिन, माओ आदि नेता हुन् । आन्दोलनको समग्रता बोध नगर्ने र त्यसलाई कुशलतापूर्वक परिचालन गर्ने नेतृत्वगत क्षमताको अभावमा आन्दोलन कचल्टिएको हो । पार्टी र मोर्चा संगठनमा आबद्ध हुन उत्कट चाहना राख्ने शक्ति विरक्तिएको हो, आबद्ध सम्बद्ध भएको पङ्क्ति उत्साहित हुन नसकेको हो । हजार सिद्धान्त भन्दा एक व्यवहार धेरै प्रभावी हुन्छ ।

मन्त्रीज्यू तपाईंले निष्पक्षताको दृढतापूर्वक वकालत गरेको विषय भाइरल भएको रहेछ । तर भएमध्येकै कलाकार, स्रष्टा, संगीतकार, लेखक तथा संस्कृति विषयक व्यक्तित्वहरूका सहयोगमा आफ्ना जिम्माका कामहरू सुचारु गर्नुपर्ने हुन्छ । यसो गर्दा तपाईंले अग्रगामी सिर्जनात्मक तथा सांस्कृतिक सोचका सकेसम्म बहुआयामिक व्यक्तित्वहरू रोज्न सक्नुहुन्छ । विभिन्न प्रज्ञा प्रतिष्ठानलगायत भाषा, कला, साहित्य सिर्जन प्रकाशन संस्थाहरू तपाईंको मातहत छन् ।

तपाईंलाई थाहा होला साझा प्रकाशन स्रष्टाहरूकै अगुवाइमा धरापमा परेको हो । सबै सर्जक सद्दे छन् भन्नै सकिन्न । तर सद्दे बनाउन भने नसकिने होइन । साझा प्रकाशनलगायत कति संस्थाहरू पूर्वमन्त्री तहका निकै जिम्मेवार मानिएका स्रष्टा नेताको नाम अग्रपङ्तिमा आउँछ । भनसुन र मनसुनको कुनै भर हुँदैन । भर नहुनेको भरमा पर्दा अभर मात्र हात लाग्छ ।

माओले भनेझैं केही छिन र दिन इमानदार होइन जीवनपर्यन्त इमानदार हुनुपर्छ । उहाँकै भनाइ अनुसार पार्टी बाहिर पनि इमानदार मानिस हुन्छन् र पार्टी तथा आन्दोलनभित्र इमान–जमान भएका व्यक्तिहरू हुन्छन् तर ती पद र प्रतिष्ठाका लागि हत्ते हालेर लाग्दैनन् । किनकि कामकाजको मानिस काममा नै ध्यान केन्द्रित गर्छ तर त्यहीं मामका लागि मरिहत्ते गर्नेले सरपरुन्जेल सदा दीपावली गरिरहन्छ, अनि सराप्न थाल्छ ।

स्रष्टा लेखक भनेर सबै सही र सद्दे होलान् भनेर सोझो हिसाबले पत्याउने अवस्था छैन । आफ्नो र आफ्ना चाहिं सबै सही हुन्छन् भन्ने हुँदैन र छैन । किनकि आफ्नै मुख पनि सधैं सफा गरिएन भने ठसठसी गन्हाउँछ ।

नेपालका आजका दिनसम्म विभिन्न जिम्मेवारी पाएका प्रगतिशील स्रष्टा नाममात्रका पनि छन् । तिनको निकट विगत हेर्ने हो भने तपाईं हामी तीन छक्क पर्ने अवस्था आउँछ । अहिले पनि प्रगतिशीलताका नाममा बौद्धिक विलास बाहेक खास गरिएको पाइन्न । ‘मृतात्माको चिरशान्तिको कामना गर्ने’ प्रगतिशीलको संख्या मनग्ये देखिन्छ । प्रायः कसैले पनि आफ्नो घरपरिवार र आफ्नो जीवनमा अलिकति पनि प्रगतिशील रूपान्तरण गरेको देखिन्न । नाम मात्रका प्रगतिशीलबाट समाजको रूपान्तरणमा के भूमिका निर्वाह होला !

प्रगतिशील क्षेत्रको प्रतिस्पर्धा समाजवादी हो र हुनुपर्छ अर्थात् समग्र प्रगतिशील, प्रगतिवादी वा माक्र्सवादी समुदायका प्रतिभालाई सबै हिसाबले ज्येष्ठ, श्रेष्ठ र अब्बल बनाउने प्रयत्न गर्नुपर्ने हो । तर आफैं मात्र सबै मौकाको खोजी गर्ने र एक्लो बहादुर बन्ने सामन्ती वा पूँजीवादी प्रतिस्पर्धा यस क्षेत्रमा व्याप्त देखिन्छ । अमूक पार्टीको कोटाबाट ५ वा १० हजारको पुरस्कार पाउन योग्य आफू बाहेक अरू कोही नै छैन भन्दै रकम हत्याउने घिनलाग्दो दृश्य पनि देखिन्छ ।

भनौं आफ्नो आङको छारो आफैं उडाएजस्तो हुने, नभनौं समग्र प्रगतिशील क्षेत्र खरानी हुने डर । संयोगले अहिले तपाईं हामी सरकार सञ्चालन गर्ने क्रममा एक महत्वपूर्ण अवसरमा एक भएका छौं । त्यसैले कुनै पनि खाले निजी नियत विना यी कुुराहरू प्रकट गर्दैछु ।

सिर्जना, संगठन, सिद्धान्त, कार्यक्षमता र इमान जस्ता विशेषता विनाको मानिस पिंध विनाको लोटा सरह हुन्छ । एक विशेषता मात्र होइन, सकेसम्म बहुविशेषता बहुक्षमतायुक्त हुनुपर्छ । जननेता मदन भण्डारीले एक दुई मात्र होइन दश विशेषता आर्जन गर्नुपर्ने कुरा गर्नुभएको थियो । एउटा मानिस प्रहरी र सेनाको तालिममा पर्‍यो भने उसको शरीर सखुवाको काठ वा फलाम सरह हुन्छ । त्यसैले रूपान्तरण सम्भव छ ।

प्रगतिशील प्रगतिवादी वा मार्क्सवादी सर्जकको उच्च हैसियतले कहीं पनि बोल्दा तरङ्ग उत्पन्न हुनुपर्छ । माक्र्सवादी सौन्दर्यशास्त्रको सन्दर्भ उल्लेख नगरी माक्र्सवादी कला मान्यता कलात्मक रूपमा भन्न सकिन्छ, भन्नुपर्छ । यसलाई डराएको भन्न पनि हुन्न र मिल्दैन । किनकि एङ्गेल्सले लेखकले कला, साहित्यमा आफ्ना विचार मान्यता प्रसन्न रूपमा अभिव्यक्त गर्नु राम्रो भन्नुभएको थियो । कला त कला हो यसलाई कलात्मक रूपमा प्रवाह गर्दा कट्टर विरोधी मत र मान्यतालाई प्रभावित पार्न सकिन्छ ।

हाम्रो त गलत बानी भयो भने साहित्यिक कार्यक्रम पनि पूरै पार्टीकरण गरिन्छ । पार्टीको कार्यक्रम र साहित्यिक संस्थाको कार्यक्रमका बीच कुनै फरक देखिन्न । यस्तै हो भनेर गर्ने हो भने सबै जनवर्गीय संगठन विघटन गरिदिए हुन्छ । साहित्यिक कार्यक्रम पनि पार्टीको अमूक उपल्लो नेताका जिम्मा दिए हुन्छ । साहित्यिक कार्यक्रममा प्रतिपक्षी वा भिन्न सिर्जना र सिद्धान्तवाला साथीहरूलाई बोलायो अनि माक्र्सवादी खस्रा राजनीतिक पदावलीमा मार गाली गर्ने बानी विद्यमान रहेको छ ।

प्रतिक्रियावादी, साम्राज्यवादी, यथास्थितिवादी आदि अनेक नाम र दुर्नामले सम्बोधन गरिएको भद्दा दृश्य देखिन्छ । यसका लागि साहित्यिक शब्दावली मनग्ये छन् । तिनको प्रयोग गर्नुपर्छ भन्ने नै छैन । एकोहोरो पट्यारलाग्दो प्रगतिशील र प्रगतिवादी शब्द मात्र प्रयोग गरेको छ । यसका अनेक पर्यायवाची शब्दहरू छन् तिनको प्रयोग गर्ने र नीरसता हटाउने कुरा खास गरिएको देखिन्न । जबकि यथार्थको सक्रिय प्रतिबिम्बन, जीवन्त यथार्थ, अग्रगामी, जीवनवादी आदि प्रगतिशील शब्दका अनेक पर्याय छन् ।

भिन्न विचार र सिर्जनालाई सम्बोधन गर्ने साहित्यिक शब्दावलीमा प्रतिध्रुवीय, समानान्तर, कलावादी, फोटोग्राफी, उपरी तहको सिर्जना, जन निरपेक्ष र रूपवादी आदि अनेक शब्दावली छन् । यस क्षेत्रमा संस्थागत सिर्जनात्मक तथा सबल नेतृत्वकै गम्भीर समस्या रहेको देखिन्छ । प्रायः पार्टीको उपल्लो र माथिल्लो नेतृत्वमा नै कला, साहित्यिक र सांस्कृतिक चेतको खडेरी परेको देखिन्छ ।

अरू मोर्चामा संगठनका ताउरमाउर खपिनसक्नु देखिन्छ तर यो क्षेत्र सधैं टुहुरो जस्तो रहेको छ । न राज्यले न पार्टीले न नेताले कसैले पनि खास वास्ता नगरेको क्षेत्रका रूपमा जनसंस्कृतिको क्षेत्र रहेको छ । यति मात्र हो र, पार्टी स्थायी र केन्द्रीय समितिका धेरैजसो नेताहरू कला, साहित्य र जनसंस्कृति सम्बद्ध स्थायी समितिका नेतालाई सामान्य गिताङ्गे सोताङ्गे मात्र देख्छन् ।

यो तीतो यथार्थ हो । धन्न तपाईंले यस क्षेत्रको व्यक्ति भएर पनि संस्कृति मन्त्रालय समेत सम्हाल्ने जिम्मा पाउनुभएछ नत्र संस्कृति कुन चराको नाम हो धेरैलाई थाहा नै छैन । स्वांगे प्रगतिशीलताले बिगार्नु बिगारेको देखिन्छ । नेताका अगाडि कट्टर वर्ग पक्षधर देखिने तर ऐन मौकामा चरम वर्ग विचलन वा स्खलन व्याप्त रहेको पाइन्छ ।

कार्ल मार्क्सले नै श्रमिक जनताले आफ्नो मुक्ति आफैंले जितेर लिनुपर्छ भन्नुभएको सार पक्षलाई सही रूपमा परिचालित नगर्दा उपलब्धि टिकाउ र दिगो हुन सकेन । माक्र्सको भनाइको मूल उद्देश्य भुईं तहदेखि आम श्रमिक तथा श्रमजीवी वर्गलाई नै वैचारिक र सांगठिनक रूपमा सुसूचित, सचेत र सुसंगठित गरेर आन्दोलनको बलियो जग निर्माण गर्नुपर्छ भन्ने थियो । युद्धकालीन माक्र्सवादका समयमा लागू गरिएको वा गर्न बाध्य भएको अति केन्द्रीयताका कारण वा आन्दोलनमा केही नेताको ठाडो आदेश निर्देश हावी र प्रभावी हुनगयो ।

यस क्रममा कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता होइन, नोकरशाही केन्द्रीयता प्रभावी हुनगयो । जनताभन्दा धेरैअघि पनि होइन धेरैपछि पनि होइन उनीहरू भन्दा एक पाइला अघि वा उनीहरूसँगै हात र साथ लिएर गरेको आन्दोलन सफल हुन्छ भन्ने पढेबुझे पनि त्यस विपरीत परिचालित हुँदा आन्दोलन टिकाउ र सफल हुन सकेन । सबै सुझाव र आलोचना शत्रुवत् हँुदैनन् र तिनमा मित्रभाव पर्याप्त रूपमा अभिव्यक्त भएको हुन्छ भन्ने पनि नबुझ्दा खास कालखण्डमा नेता र कार्यकर्ता भड्किएको स्पष्ट हुन्छ । यही कारण कम्युनिस्ट पार्टीहरू आकार र आयाममा ठूला देखिए पनि भित्रभित्रै खोक्रा हुन पुगेका हुन् ।

माओका अनुसार तिमीसित भएका आँखा, कान, मुख, इमान, जमान र समर्पण सबै–सबै शक्तिशाली हतियार हुन् तर हामी धेरै जसो ती शक्तिशाली हतियार उपयोग गर्न पनि जान्दैनौं । एक हाँसो र मुस्कानबाट लाखौं मुस्कान पाइन्छ । बोल्न जाने आधा समस्या समाधान हुन्छ । एक मुखले हजार मुखलाई टालिदिन सक्छ । मुख भए मुलुक पाइन्छ भन्थे पुर्खाहरू ।

इमान र जमान भन्ने अर्को शक्तिलाई हामीले आर्जन गर्नै जानेनौं । केही नेता हाँसेको हो कि रोएको हो केही भेउ पाइँदैन । ठुस्कान सेवाका धेरै नेता यस लेखकले जाने–चिनेको छ । तर तपाईंको मुखमा दाग लागेको छ भन्न हुन्न । उल्टो झम्टिन आउने खतरा हुन्छ ।

जनताको बहुदलीय जनवादमा जनताले पार्टी र नेतालाई विभिन्न माध्यमबाट निर्वाध सुझाव, सल्लाह र आलोचना गर्ने छुट दिएको छ । एक्काइसौं शताब्दीको जनवादले पनि पार्टीका गतिविधि तुलनात्मक रूपमा खुला गरेकै देखिन्छ । त्यसैले पार्टीको महाधिवेशनमा पहिले भन्दा अलि खुल्ला र खुलस्त छलफल पनि चलाएकै हो ।

जननेता मदन भण्डारीले जनताको पार्टीले जनताबाट नै अलगथलग भएर वा एउटा कुनामा लुकेर महाधिवेशन गर्नुहुँदैन भन्नुभयो र तदनुसार महाधिवेशन गर्नुभयो । त्यसैले जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ ।

विभिन्न लेख र रचनाका माध्यमबाट आवाजविहीन जनताको आवाज मात्र होइन बौद्धिक तथा प्राज्ञिक सापेक्ष सन्तुलित आलोचना गर्न पाइने प्रावधान जबज अनुसार पाइन्छ । तर पनि पुरानै अधिनायकवादी धङधङीमा बानी परेको नेतृत्व विद्यमान छ । यसले सही र सत्य सुझाव तथा आलोचना पनि पचाउन नसकेको भोगियो र यस्तो देखेर तिक्त विरक्त अनुभूति गरी कमरेड, अब तपाईंको आदेश विना म कहिल्यै बोल्दिनँ भन्ने लेख नै लेख्नुपर्‍यो ।

कला, साहित्य र संस्कृति भनेका मनको मैलो सफा पार्ने साबुन हुन् । तनको मैलो साबुन र सर्फले सजिलै सफा गर्न सकिन्छ तर मनको मैलो सफा गर्ने कुरा धेरै जटिल हुन्छ । बारबार अग्रगामी सिर्जना, चिन्तन, अध्ययन, मनन गरिरहनुपर्छ । रङ्गिला र नाङ्गिला गीत, संगीत र साहित्य मात्र पढेर अग्रगामी चेत निर्माण हुँदैन ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सांस्कृतिक विसङ्गतिको चर्चा गरेको छ । तिनमा नेपाली समाजमा विद्यमान सबै प्रकारका असमानता, छुवाछूत, विभेद र उत्पीडनको अन्त्य गर्ने ध्येय राखेको देखिन्छ । यसैमा केन्द्रित रहेर देशव्यापी स्रष्टा, सिर्जना र कार्यमूलक जागरण अभियान पहिले अपरिहार्य हुन्छ । संविधान, ऐन र कानुन मात्र बनाएर हुन्न । यही आधारलाई बलशाली बनाएर समतामूलक समाजको निर्माण गर्ने संकल्प पनि संविधानमा गरिएको छ ।

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने मूल अभिप्राय प्रस्तावनामा उल्लेखित छ । यस विषयमा पनि खोज अनुसन्धान विषय पत्र लेखनसहित विचार गोष्ठीका माध्यमबाट जागृतिको शंखघोष गर्नुपर्छ ।

१०३ र ३० वर्ष बोलेर, लेखेर र देशव्यापी जागरण अभियान सञ्चालन गरेर राणाशासनलगायत जनविरोधी शासन हटाएको जीवित इतिहास साक्षी छ । त्यसो भयो र गरियो भने मात्र प्राप्त उपलब्धि जगेर्ना गर्न र मात्रात्मक रूपमा भए पनि सांस्कृतिक रूपान्तरण गर्न सकिएला र लोककल्याणकारी राज्य, प्रणाली र व्यवस्थाको जग बनाउन सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?