+
+

डाक्टरी पढ्ने विद्यार्थीको होस्टेल दुःख !

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ माघ १० गते २१:५५

१० माघ, काठमाडौं । मंगलबार विहान १० बज्दा नबन्दै एप्रोन लगाएका विद्यार्थीहरु त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन र महाराजगञ्ज क्याम्पसका प्रमुखको कार्यालय अगाडि भेला भए ।

होस्टेल सुधार समूहको नामबाट उनीहरुले सोमबार नै ‘आफ्नै विद्यार्थीलाई बिजुली पानी काटेर यातना दिने क्याम्पस चिफ राजीनामा दे’, ‘होस्टेलमा विकृति कहिलेसम्म’, ‘विद्यार्थीलाई होस्टेलमा पटक–पटक आएर धम्काउँदै मानसिक यातना दिन पाइँदैन’, ‘आन्दोलन रहर हैन बाध्यता हो’ लेखिएको पर्चा टाँसेका थिए । क्याम्पस प्रमुख र डीनको कार्यालयमा ताला लगाएका थिए ।

मंगलबार बिहान ताला खोल्न प्रहरी टोली आएपछि उनीहरु रोक्न जम्मा भएका हुन् । प्रहरीहरु अघि बढ्न खोज्ने, विद्यार्थीहरुले रोक्न खोज्ने क्रममा केहीबेर धकेलाधकेल भयो । तनाव बढ्दै गएपछि झडप भयो, प्रहरीले डाक्टरी पढ्ने विद्यार्थीहरुमाथि लाठी बर्सायो । केहीलाई नियन्त्रणमा लिएर भ्यानमा हाल्यो ।

विद्यार्थीहरुका अनुसार होस्टलको विवाद नयाँ होइन । प्रहरी धरपकडले पनि निकास दिने अवस्था थिएन । त्यसैले क्याम्पस प्रशासनले आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई वार्तामा बोलायो । ‘सहमति भएपनि क्याम्पस प्रशासनले होस्टेल सुधारमा केही काम गर्ने होइन’, एक विद्यार्थी गुनासो गर्दै थिए, ‘यसभन्दा अगाडि पटक–पटक सहमति भयो, तर कार्यान्वयन भएन ।’

के हो विवाद ?

आईओएम अन्तर्गतको महाराजगञ्ज क्याम्पसमा एमबीबीएस र पारामेडिकल अन्तर्गतका विभिन्न संकायमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसमा करिब चार दशकदेखि विद्यार्थीहरुका लागि सहुलियतमा होस्टेल सुविधा छ । होस्टेल बसेको बार्षिक रूपमा ४ हजार ५०० रुपैयाँ मात्र तिर्नुपर्छ । यो रकम तिरेपछि बस्ने सुविधा पाइन्छ । खानाका लागि छाकअनुसार रकम तिर्नुपर्छ । क्याम्पस प्रशासनले होस्टेलका लागि लामो समयदेखि ए, बी र सी ब्लक सञ्चालन गर्दै आएको थियो । तर होस्टल सुविधा लिन खोज्नेहरु बढेपनि नयाँ भवन बनाइएको छ, जसमा डी र ई ब्लक नाम दिइएको छ ।

होस्टेल व्यवस्थापन समितिले गल्र्स होस्टेलका लागि डी र ई ब्लक छुट्याएको थियो । २०० छात्रामध्ये जम्मा ६४ जनाले मात्र होस्टेलको सविधा पाएकाले थप छात्रालाई पनि होस्टेल सुविधा दिन ई र डी ब्लक दिने सहमति पनि भइसकेको छ ।

तर छात्राका लागि छुट्याएको ब्लकमा छात्रहरु बसिरहेका थिए । उनीहरु आफूखुसी बसेको क्याम्पस प्रशासनले बताएको छ । विद्यार्थीहरुका अनुसार सबै ब्लकमा गरी अहिले २५० भन्दा बढी विद्यार्थी होस्टलमा बस्छन् । क्याम्पस प्रशासनको तथ्यांक अनुसार सबै ब्लकमा गरेर ८० जना मात्रै बैधानिक रूपमा बसेका हुन्, अरु आफुखुशी बसेका छन् ।

क्याम्पस प्रशासनले पछिल्लो पटक नियम विपरीत बसेकाहरुलाई १० माघभित्र होस्टल खाली गर्न सूचना जारी गरेको थियो । तर होस्टल खाली भएन, तालाबन्दी र नाराबाजी सुरु भएको छ । नियम विपरित बस्दै आएका विद्यार्थीहरुलाई नियम संगत होस्टेलमा भर्ना भएर बस भनेर सूचना निकाल्दा आन्दोलनमा उत्रिएको बताउँछन्, होस्टेल व्यवस्थापन समितिका संयोजक डा. राहुल पाठक ।

‘अहिले होस्टेलका दुईतिहाइभन्दा बढी सिट खाली देखिन्छ । तर चेकजाँचमा जाँदा सबै भरिएका छन्,’ डा. पाठकले भने, ‘होस्टेलमा बस्न लिस्टमा लाइनमा भएका विद्यार्थी पठाउँदा पिटेर समेत पठाउने गरेका छन् ।’

उनका अनुसार बैधानिक रुपमा बसिरहेका ८० जना बाहेक १२५ जना भर्नाका लागि बेटिङ लिस्टमा छन् । तर नियमित विपरीत बसेका विद्यार्थीहरुले कोठा छाडेका छैनन् । उनले अघि भने, ‘इ र डी ब्लकमा खानेपानी जोडिएको छैन । क्याम्पस प्रशासनले होस्टेलको रुपमा सञ्चालन गरेको छैन । आफैं गएर बस्ने, अनि व्यवस्थापन राम्रो भएन भनेर हल्ला गर्नु त गतल होला नि !’


राजनीतिक दलका भ्रातृ संगठनहरुको आडमा विद्यार्थीहरुले आफूखुशी होस्टेलमा बस्न पाउनुपर्ने माग राख्दै आन्दोलन गरेको क्याम्पस प्रशासनको आरोप छ ।

विद्यार्थीहरु भने प्रशासनमाथि नै प्रश्न गर्छन् । ‘यहाँ भवन खाली छ । न त होस्टेलमा बस्नका लागि भर्ना प्रक्रिया नै खुल्छ,’ फार्मेसी तेस्रो बर्षमा अध्ययनरत नवराज देवकोटाले भने, ‘प्रशासनका व्यक्तिले आफ्ना चिनजान र भनसुनका आधारमा मान्छे राखेका छन् । तीन–चार बर्षसम्म पढ्दा पनि रूम पाउन सकिएको छैन ।’

खाली भएको भवनमा आएर बस्दा पनि क्याम्पस प्रशासनले निकाल्न खोजेको आन्दोलनरत विद्यार्थीहरु बताउँछन् । ‘हामीलाई निकाल्नका लागि प्रशासनले विद्युत काट्ने, परीक्षामा फेल गराइदिन्छु भनेर मानसिक तनाव दिने, थकाउने जस्ता काम गरिरहेका छन्,’ आन्दोलनरत अर्को विद्यार्थीले अनलाइनखबरसँग भने ।

होस्टल सुधार समूहको नाममा आन्दोलनरत विद्यार्थीहरुको माग छ, शतप्रतिशत विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्नुपर्‍यो । क्याम्पस प्रशासन भने सबै विद्यार्थीलाई होस्टेल व्यवस्था अहिले गर्न असम्भव भएको बताउँछ ।

आन्दोलन विद्यार्थीहरुको काउन्टर माग राख्छन्, अहिले डी र ई ब्लकका भएकाहरुको उचित व्यवस्थापन हुनुपर्छ । क्याम्पस हातामा भएको छात्रवासमा सिट पुग्दैन भने त्यही शुल्कमा अन्यत्र भएर राखिदिनुपर्छ । ‘बाहिर बस्नका लागि एउटा रूमको ५–७ हजार पर्छ । हामी दुर्गम क्षेत्रबाट आएका विद्यार्थीले यत्रो पैसा कहाँ तिर्न सक्छौं ?’ आन्दोलनमा भेटिएका अर्का विद्यार्थीले अनलाइनखबरसँग भने, ‘क्याम्पस प्रशासनले होस्टेलको व्यवस्था गर्नुपर्‍यो नि ! यदि क्याम्पस परिसर भित्र होस्टेलको व्यवस्थापन गर्न नसके क्याम्पसले भवन भाडामा लिएर बाहिर भए पनि व्यवस्थापन गर्नुपर्छ ।’

प्रशासनले होस्टलमा बस्नेहरुको सूची सार्वजनिक गरेपछि मात्र होस्टेल छोड्नसक्ने उनीहरुको तर्क छ । ‘अहिले क्याम्पस प्रशासनले डी र ई ब्लकमामा बसेका विद्यार्थीहरुलाई बासविहीन बनाउन खाजेको छ । हामी ८० जना कहाँ गएर बस्ने ?,’ नाम उल्लेख गर्न नचाहने एक विद्यार्थी भन्छन्, ‘विद्यार्थीको समस्या मात्र नभई होस्टलमा भएको बेथितिविरुद्ध हाम्रो आन्दोलन हो ।’

सरकारले नै ७५ प्रतिशत विद्यार्थीका लागि लागि छात्रावासको व्यवस्था अनिवार्य व्यवस्था गरेका कारण क्याम्पस प्रशासनले जिम्मेवारी लिर्नुपर्ने उनीहरुको तर्क छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी भने क्याम्पसले अनिवार्य रुपमा छात्रावासको व्यवस्था गर्नुपर्ने प्रावधान नभएको बताउँछन् । ‘क्याम्पसमा क्षमता भएअनुसारको होस्टेलको व्यवस्था गराउने हो । सबैलाई पुग्ने गरी बनाउनुपर्छ भन्ने प्रावधान हामीले तोकेका छैनौं,’ उनले भने ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?