+
+

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउने म्याद थप, बजेट अभाव

सुवास पण्डित सुवास पण्डित
२०७९ माघ १२ गते ८:१०
नारायणगढ–मुग्लिन सडकखण्ड ।

१२ माघ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक  फराकिलो त बन्यो, तर पुल साँघुरै भए । फराकिलो सडक र पुल साँघुरो हुँदा एकातिर दुर्घटनाको जोखिम बढ्यो भने, अर्कोतिर जीर्ण बनेका पुलमा सवारी जाम हुने अवस्था आयो । कतै घुम्तीहरु पनि यथावत नै रहे, यसलाई पनि पुल बनाएर सिधा गराउने योजना सरकारले अगाडि ल्यायो । घुमाउरा सडक सिधा गर्ने गरी जलबिरेमा पुल बनेर सञ्चालनमा आइसक्यो भने, सेती दोभानको पुल तयार भैसकेको छ तर सञ्चालमा आउन बाँकी छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १९ वटा पुलहरुमध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । यसरी सञ्चालनमा आएका पुलमा जलबिरे, मौरीपुल (३० मिटर) दासढुंगा पुल (२० मिटर) र खानीखोला पुल (३० मिटर) छन् ।

बाँकी १५ वटा पुलमध्ये ९ वटा पुल करिब तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् । कालीखोला, रिग्दी, सिमलताल र जुगेडीको पुलको फाउण्डेसनको काम भैरहेको छ ।

चिसेञ्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोला पुलको फाउण्डेसनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि एक वर्ष म्याद थपिएको छ । २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत रिग्दी खोलामा बन्दै गरेको पुल ।

यी सडकखण्डमा पुल बनाउने ठेक्का पाएको अनक कन्स्ट्रक्सनले ठेक्का सम्झौताको म्याद थपको अवधि एक वर्ष मागेको थियो । ‘पुल बनाउने सम्झौता भए लगत्तै देशभर कोरोना भाइरसको महामारी फैलियो । दुई पटकसम्म महामारी आयो, त्यसपछि पनि विभिन्न समस्या भोग्नपर्यो, सबै अवस्था मध्यनजर गरेर एक वर्ष म्याद थप गरिएको हो,’ आयोजना प्रमुख कार्कीले भने, ‘आगामी वर्षको पुसको पहिलो हप्तासम्म यो खण्डका सबै पुल बनिसक्छन् ।’ पुल बनाउन २०७६ चैत १० मा सम्झौता भएको थियो ।

मुग्लिनबाट नजिकैको पहिलो पुलको काम सुरु नै भएको छैन । चिसेञ्जी र तुइन खोलामा माथि अग्लो कडा चट्टान र तल त्रिशूलीको ठाडो भीरमा यी पुल पर्ने भएकाले नारायणगढ–मुग्लिन सडक आयोजनाले दैनिक चार घण्टा सडक बन्द गरेर भिरको चट्टान काट्ने काम गरिरहेको छ । गएको पुस ५ गतेदेखि १ महिनाका लागि सडक बन्द गरेर पहाड काट्न थालिए पनि काम सकिएन । माघको पहिलो हप्ताबाट फेरी एक महिनाका लागि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो काट्ने काम भैरहेको छ ।

कालीखोला र चिसेञ्जीको पहाड काट्ने काम करिब–करिब सकिए पनि तुइन खोलाको पहाड काट्ने काम भने अझै सकिएको छैन । भौगोलिक अवस्था र कामको प्रकृति हेर्दा यही अवस्था रहे पहाड काट्न अझै थप दुई महिना सडक बन्दले निरन्तरता पाउने देखिएको छ ।

सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलाको बायाँतर्फको भागको ६० प्रतिशत पहाड काट्ने काम सकिएको छ भने, दायाँतर्फको कडा चट्टान र अति जोखिम क्षेत्रको पहरो काट्ने काम जम्मा २५ प्रतिशत मात्रै सकिएको छ । ‘एक महिना सडक बन्द गराएर दैनिक चार घण्टा काम गर्दा २५ प्रतिशत (१५ मिटर मात्रै पहरो काट्ने) काम सकिएको अवस्थालाई हेर्दा झण्डै दुई महिना सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था देखिन्छ,’ उनले भने, ‘अहिले यहाँ बायाँतर्फ दुईवटा रक ब्रेकर (पत्थर फुटाउने मेसिन)ले पहरो काटिरहेका छन् भने दायाँतर्फ ७ वटाले काम गरिरहेका छन् ।’

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने पहरो काटिंदै ।

आयोजनाका इन्जिनियर आचार्यले पहाड काट्ने काम केही तल झरेपछि दैनिक चार घण्टा सडक बन्द गरेको समयलाई घटाएर काम गर्न सकिने विश्वास गरिएको बताए । अहिले सडक चार घण्टा बन्द गरे पनि काम भने जम्मा सहज रूपमा साढे दुई घण्टा मात्रै गर्न पाएको इन्जिनियर आचार्यले बताए ।

सोचेको भन्दा कडा चट्टान तुइन खोलाको पहाडमा रहेकाले अवस्था हेरेर नियन्त्रित विष्फोट मार्फत पहाड फुटाउने विकल्पमासमेत सोच्नुपर्ने अवस्था आएको आयोजना प्रमुख किरण कार्की बताउँछन् । विस्फोट गराउँदा अहिले भएको पुल भत्किन गई झनै क्षति हुन्छ की भन्ने डर पनि उत्तिकै छ । अहिले काम गर्दा पनि पुलमा थोत्रा टायर राखेर पहाड काट्ने गरिएको छ । झण्डै ६० मिटर अग्लो डाँडा रहेको तुइन खोलाको दायाँतर्फ दुईवटा ब्रेकरले पहाड काट्ने काम भैरहेको छ । काम गराइको अवस्था हेर्दा निकै जोखिम र चुनौतीपूर्ण देखिन्छ ।

कालीखोलामा ७२ मिटर लामो पुल बनाउन लागि फाउण्डेसन उठाएर ढलानका लागि तयार गरिँदैछ । यस्तै, ६० मिटर लामो जुगेडी खोलाको पुलका लागि पनि धमाधम फाउण्डेसन उठाउने काम भैरहेको छ । चिसेञ्जी खोलामा ३५ मिटर लामो पुल बन्ने छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा बन्दै गरेको पुल ।

क्षतिपूर्तिको रकम उपलब्ध नहुँदा एउटा पुलको काम सुरु भएन

मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो पुलको काम अझै सुरु हुन सकेको छैन । चिसेञ्जी र तुइन खोलामा पहाड भत्काएर भित्र नयाँ पुल बन्ने गरी डिजाइन गरेको भए पनि पहिलो खहरे खोला पुलमा पनि अहिले भैरहेको पुलबाट तल अर्थात त्रिशूली नदीतर्फ अर्को पुल बन्ने गरी डिजाइन भएको छ ।

पुल बन्ने ठाउँको मुखमा केही घरहरु भत्काउनुपर्ने हुन्छ । मुआब्जा नदिई भत्काउन नमिल्ने विश्व बैंकसँगको सम्झौतामा उल्लेख भएकाले काम रोकिएको छ । पुलको मुखमा रहेका संरचना हटाउन विभागमार्फत अर्थ मन्त्रालयसँग पटक–पटक पहल गरे पनि अझै रकम आइनसकेको आयोजनाले जनाएको छ । सोही कारण पुलको काम पनि अगाडि बढाउन नसकिएको आयोजना प्रमुख किरण कार्कीले बताउँछन् ।

खहरे खोलासहित सडकखण्डमा बनेका १५ वटा पुल छेउका २६ घर टहरा भत्काउन लागि करिब एक करोड रकम सडक आयोजनाले अर्थ मन्त्रालयसँग माग गरेको छ ।

विश्व बैंक र नेपाल सरकारबीच भएको सहमतिअनुसार नेपाल सरकारले क्षतिपूर्ति दिएपछि मात्रै सडक छेउँका घर हटाउनुपर्ने प्रावधान राखिएको छ । ‘यी संरचना सार्वजनिक र सडकको ‘राइट अफ वे’मा नै बनेका छन् । लालपूर्जा हुन त कुरै भएन, हामीले सिधै भत्काएर काम थाल्न पर्ने हो तर विश्व बैंकसँगको सम्झौताले बाँधिएकाले भत्काउन सकिएको छैन,’ आयोजना प्रमुख इन्जिनियर कार्कीले भने, ‘क्षतिपूर्तिको मूल्यांकन र आवश्यक रकम मागसहितको फाइल अर्थ मन्त्रालयमा पुगेको छ । उताबाट रकम निकासा हुनेवित्तिकै पुलको काम पनि अगाडि बढ्छ । खहरे खोलाको मुखमा पाँच घर भत्काउनुपर्छ ।’

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत खहरे खोला ।

इच्छाकामना गाउँपालिका ५ मा पर्ने यो ठाउँका स्थानीय देवकुमार श्रेष्ठले आफूहरुले घर भत्काउने भन्ने सुनेको तर अहिलेसम्म कसैले केही नभनेको बताए । श्रेष्ठले २०३६ सालदेखि नै यहीँ बसेको भन्दै सरकारले उचित क्षतिपूर्ति दिए स्थानान्तरण भएर जान तयार भएको बताए ।

पुल निर्माणलाई पनि बजेट अभाव !

विश्व बैंकको ऋण सहयोगमा बन्दै आएका पुलहरुको काम ढिलाइ हुनुमा रकमको अभावसमेत रहेको आयोजनाको भनाइ छ । ठेक्का लगाउँदा तोकिएको रकम सरकारले एकैपटक उपलब्ध गराउन नसक्दा ठेकेदारले समेत रकम पाउन समस्या हुने गरेको छ ।

चालु आर्थिक वर्षमा आयोजनाले ५० करोड रकम माग गरेकोमा जम्मा ११ करोड रकम मात्रै सरकारले आयोजनालाई दिएको छ । आयोजनाले गत वर्ष जम्मा ३५ करोड रकम ल्याउन सकेको आयोजना प्रमुख कार्कीले बताए । चालु बर्षमा थप बजेट निकासाका लागिसमेत अर्थ मन्त्रालयमा अनुरोध गरिएको छ ।

‘सरकारले कति रकम दिन्छ भन्ने कुराले आयोजनाको काम कति चाँडो सकिन्छ भन्ने अवस्था छ,’ आयोजना प्रमुख कार्कीले भने, ‘पुल निर्माणमा राम्रो काम गर्न सक्ने र केही समय होल्ड गरेर पनि काम गर्न सक्ने ठेकेदार भएकै कारणले त्यति ठूलो समस्या भएको छैन । चालु वर्षमा ६ करोड रकम खर्च भैसकेको छ । सरकारले अवधि तोकेर ठेक्का लगाउने तर बजेट भने किस्ताबन्दीमा दिएपछि आयोजनाहरुको म्याद थप स्वतः हुने देखिन्छ ।’

क्रसर उद्योग बन्द भएका कारण पुलहरुको ढलानको काममा समस्या आउने चिन्ता आयोजनाले गरेको भए पनि सरकारले क्रसर चल्न दिने निर्णय गरेपछि ढलानको तयारी गरेका रिग्दी खोला, जुगेडी पुल, कालीखोला पुलहरुको काम समयमा नै हुने आयोजनाले जनाएको छ । चालु वर्षमा १३ वटा पुलको काम सक्ने र क्षतिपूर्तिका लागि बजेट आए बनेका पुलहरु तत्काल सञ्चालन गर्ने योजना आयोजनाको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई ‘प्याकेज–१’ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई ‘प्याकेज–२’ बनाएर काम गर्दै आएको छ । प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् ।

प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिसेञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । यो खण्डमा २५ देखि ७५ मिटरसम्म लामो पुलहरू बनिरहेका छन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटर बन्दैछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?