+
+

श्रीमद्भगवद्गीताका ६ श्लोक, जुन छन् जीवनोपयोगी

विदुर फुयाल विदुर फुयाल
२०७९ माघ १२ गते १४:३७

श्रीमद्भागवत गीतामा सात सयवटा श्लोक छन् । र, सम्पूर्ण गरेर १८ वटा अध्याय छन् । यसमा अर्जुनको विषाद योगबाट सुरु भएर मोक्ष सन्यास योगसम्म समेटिएका छन् ।

यसमध्ये सुरुको एउटा श्लोकले भन्छ, गीता अध्ययन गर्ने र प्राणायामको अभ्यास गर्ने मान्छेको यो जन्म मात्र होइन, पूर्वजन्मको पनि पाप नष्ट हुन्छ भनिएको छ । यसमा विज्ञान र मनोविज्ञान दुवै छ । खासमा गीताले मान्छेलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक रुपमा स्वस्थ हुने मार्गदर्शन दिएको छ ।

श्रीमद्भागवत गीतालाई कतिले धर्मसँग जोड्ने गरेका छन्, कतिले सम्प्रदायसँग । तर यो जीवन दर्शनको एक सर्वोच्च ग्रन्थ हो । गीताले जीवन र जगतलाई बोध गराएर सही र सन्तुलित जीवन बाँच्नका लागि बाटो देखाइदिन्छ ।

गीताको रचना नै रणभूमिबाट भएको छ । कुरुक्षेत्र मैदानमा अर्जुन र कृष्णजीबीच भएको संवादबाट गीताको रचना भएको भनिन्छ । अतः यसको सुरुवात हुन्छ, अर्जुन विषाद युगबाट ।

यहाँ रणभूमिलाई आजको संसारको रुपमा चित्रण गर्न सकिन्छ । अनि अर्जुनमा जुन किसिमको विषाद देखिएको छ त्यसलाई आजको हाम्रो विचलित मनको प्रनिनिधि मनोदशा मान्न सकिन्छ । यो संसार नै एउटा कुरुक्षेत्र हो । यहाँ आएपछि माया, मोह, घृणा, इष्र्या सबैकुराले हामीलाई पिरोलेको छ । हाम्रो खुसी र आनन्द दुर्लभ भएको छ । सबै मान्छे समस्या नै समस्याको घेराबन्दीमा छन् । त्यही कारण एउटा सुन्दर चोला लिएर जन्मिएका मान्छे आफैंलाई सिध्याउने मनोदशामा पुगिरहेका छन् । यिनै कुरामाथि श्रीकृष्णले दिएको सारभूत जवाफ नै श्रीमद्भागवत गीताको गुदी हो ।

अध्ययनले देखाएको छ, अहिले प्रत्येक ४० सेकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एक जनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एक जनाले आत्महत्या गर्छ । नेपालमा दिनमा औसत १३ देखि १४ जनाले आत्महत्या गर्छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो समस्या आत्महत्याजनित हुनेछ । मान्छेहरु चाँडै डिप्रेसनमा जानेछन् । उदासी, निराशामा जानेछन् र त्यसले अन्ततः आत्महत्याको बाटो रोज्न लगाउने कुरा अहिलेका वैज्ञानिकहरुले प्रक्षेपण गरिसकेका छन् ।

आजको यो विषाद् युगलाई हामी कुरुक्षेत्रको रुपमा बुझ्न सक्छौं । आजको युगमा हामीलाई सुुविधा चाहिएको छ । ऐशआराम चाहिएको छ । सफलता र प्रतिष्ठा चाहिएको छ । हामी अरुलाई जित्न हतारिएका छौं । हामी सुख–भोग गर्ने लालसाले दौडिएका छौं । हाम्रो यस्तै प्रवृत्तिको जड र त्यसको निराकरणबारे गीताको दोस्रो अध्यायको एउटा श्लोकमा भनिएको छ, ‘हे अर्जुन, कर्म गर तर फलप्रति आशक्ति नराख ।’

यसप्रति धेरै मान्छेको गलत बुझाइ देखिन्छ । खासमा यो भनाइको सार के हो भने हामी कर्मबाट भाग्न मिल्दैन । कर्म गर्नुपर्छ तर यसरी गर्नुपर्छ कि त्यहाँ फलप्रतिको कुनै आशक्ति हुनुहुँदैन । जब तिमी कर्ममा रमाउँछौं र कुशलतापूर्वक सम्पन्न गर्छौं, त्यस अनुरुप फल त मिल्छ नै ।

तर फलप्रति मात्र आशक्ति रह्यो भने त्यो दुःखको कारण हुन सक्छ र तिमीले कर्ममा आनन्द लिन सक्दैनौं । किनभने हामीले गरिरहेका कुनै पनि कामको नतिजा हामीले सोचेजस्तो दुरुस्तै नहुन सक्छ । कहिले यसबाट नराम्रो नतिजा हासिल हुनसक्छ भने कहिले अनपेक्षित सफलताको ढोका पनि खोलिदिन सक्छ । अर्थात् यो अनिश्चित छ । र, अनिश्चित कुरामा तिमीले आशक्ति राख्नु र चिन्ता लिन जरुरी छैन भन्ने हो ।

यस सन्दर्भमा एपीजे अब्दुल कलामको आत्मकथाबाट म एउटा प्रसंग सुनाउँछु ।

उनले फाइटर जहाजको पाइलटका लागि परीक्षा दिएका थिए । २२ जनाले परीक्षा दिएकामा २१ जना पास भए । एक जना फेल । फेल हुने, उही कलाम थिए ।

जबकि उनले त्यो परीक्षा दिनका लागि बहिनीको गहना बेचेर गएका थिए । तब उनी एकदमै निराश भए र डिप्रेसनमा पुगे । अन्ततः आत्महत्या गर्न भनेर गंगाको किनारमा पुगे । त्यहाँ उनले शिवानन्द स्वामीलाई देखे ।

उनलाई लाग्यो, ‘म मर्न त मर्छु नै । तर एकपटक स्वामीलाई सोध्छु आखिर मैले त्यस्तो के पाप गरेको थिएँ र यसरी असफल भएँ ?’

तब स्वामी शिवानन्दले उनलाई भने, ‘बाबु, यो भन्दा पनि महान् सफलताले पनि त तिमीलाई कुरिरहेको हुनसक्छ नि ।’ यो कुराले उनमा बेग्लै आशा तरंगित भयो । उनी आफैंप्रति आशावादी हुँदै त्यहाँबाट फर्के । पछि उनै अब्दुल कलाम भारतमा आणविक बमको सूत्रधार भए । अहिले भारत आणविक शक्तिले सम्पन्न छ, जसको श्रेय कलामलाई जान्छ । कलामको सफलता यहाँसम्म मात्र रोकिएन, उनी भारतका राष्ट्रपति नै भए ।

हामी फाइटर जहाजको पाइलट हुने हतारोमा छौं । त्यहाँ असफल हुँदा जीवन नै सकिएको भन्ने सोच्छों । के थाहा, यो असफलताले हाम्रो बाटो यसरी मोडिदिन सक्छ, जसले राष्ट्रपति नै बन्ने बिन्दुमा उभ्याइदिन सक्छ ।

यसको सार के भने फलप्रतिको आशक्तिले हामीलाई कहिलेकाहीं दुःखी, निराश बनाउँछ । त्यसैले फलप्रति आशक्ति राख्ने होइन बरु कर्ममा कुशलता खोज्ने हो ।

गीताको तेस्रो अध्यायको एउटा श्लोकले हामीलाई प्रकृति, जीवजगतलाई सन्तुलन राख्न र सहअस्तित्वको बारेमा भनिएको छ । ‘हे कृष्ण तिमी यज्ञबाट देवताहरुलाई उन्नत तुल्याउँ ।’ यहाँ देवता भनेर जीव–जगतलाई संकेत गरिएको हो । यज्ञलाई हामीले दुई अर्थमा बुझ्छौं । एउटा भौतिक रुपमा गरिने यज्ञ । जहाँ विभिन्न वनस्पति, घिउ लगायत अग्निमा हवन गरिन्छ । यसो गर्नुको पछाडि वायु शुद्धीकरण नै हो । पछिल्लो समयमा यसलाई कर्मकाण्डी बनाइयो र विकृति मिसाइयो । तर वास्तविक अर्थमा यज्ञ गर्नुको पछाडि पर्यावरणीय स्वच्छतासँग सम्बन्धित छ ।

तर यज्ञको अन्तर्य यति मात्र होइन । गीताले पाँच किसिमको यज्ञबारे वर्णन गरेको छ । ब्रह्मा यज्ञ । यसको अर्थ हामी बिहान उठ्नासाथ गरिने आत्मिक शुद्धीको प्रक्रिया हो । बिहान उठ्नासाथ प्रकृतिको, अस्तित्वको चिन्तन गर्छौं भने त्यो ब्रह्मा यज्ञ हो ।

देव यज्ञ, आस्थासँग जोडिएको कुरा हो । यसले हामीलाई मानसिक एवं भावनात्मक रुपमा बलियो बनाउन सहयोग गर्छ । आ–आफ्नो रीति संस्कृतिअनुसार कुनै विधिपूर्वक गरिने पूजाआजा नै देव यज्ञ हो ।

तेस्रोमा छ, पितृ यज्ञ । यसले बुवाआमा वा अग्रजहरुको सेवा र सम्मान गर्न भन्छ । चौथोमा अतिथि यज्ञ । यो भनेको आफ्ना घरमा आउने कोही पनि आगन्तुक देव तुल्य हुन्छन् । उनीहरुलाई हार्दिकतापूर्वक सम्मान गर्नुपर्छ भनिएको हो ।

पाँचौंमा छ, भूत यज्ञ । यसले चराचर जगतमा जति पनि प्राणी छन्, उनीहरुसँग परस्पर प्रेम र सहयोगको सम्बन्ध बनाइराख्नुपर्छ भन्छ ।

श्रीमद्भागवत गीताको चौथो अध्यायमा एउटा श्लोकमा भनिएको छ, ‘हे अर्जुन मैले चारवटा वर्णको सृष्टि गरें । ब्राम्हण, क्षत्री, वैश्य र शुद्र ।’ वर्तमान समाजमा यसैलाई ठूलो मुद्दा बनाइएको छ र यसले मान्छेलाई विभाजित गरेको छ । विभेद गरेको छ ।

तर यो श्लोकको अन्तर्य फरक छ । यसले मान्छेलाई जन्मको आधारमा उनीहरुको वर्ण विभाजन गरेको छैन । कर्म र गुणको आधारमा गरेको हो । तर धर्मभिरुहरुले यसलाई अपव्याख्या गरेर विभेद र विभाजन गराइदिएका छन् ।

यसमा ब्राम्हणलाई लेखपढको काम गर्ने वा दिमागी काम गर्ने भनिएको छ । क्षत्रीलाई साहस, सुरक्षाको काम गर्ने भनिएको छ । वैश्यलाई व्यापार, उद्यमको काम गर्ने भनिएको छ । शुद्रलाई कला, शिल्पको काम गर्ने भनिएको छ । यहाँ कसैलाई उच र कसैलाई निच पनि भनिएको छैन । अर्को महत्वपूर्ण कुरा, कुनै मान्छे जन्मकै आधारमा वा वंशको आधारमा ब्राम्हण, वैश्य हुने पनि होइन । ब्रम्हाणको छोरो शुद्र हुन सक्छ उसको काम र खुबीको आधारमा । शुद्रको छोरो ब्राम्हण हुनसक्छ, उसको काम र गुणको आधारमा ।

यसको के मात्र भनेको हो भने मान्छे कर्म र गुणका आधारमा चारथरीका छन् । उनीहरुमध्ये कोही बलको काम गर्न सक्षम छन्, कोही व्यापारको, कोही बुद्धिको त कोही शिल्पको ।

श्रीमद्भागवत गीताले खासमा चार किसिमको व्यक्तित्वबारे व्याख्या गरेको हो, जन्मसिद्ध जातको बारेमा होइन । तर आज धर्मको नाममा व्यापार गर्नेहरुले उच र निच जात भनी अपव्याख्या गरेका हुन् ।

गीताको अध्याय पाँचमा एउटा श्लोक छ, ‘हे कृष्ण ती सबै मान्छेहरु सन्यासी हुन्, जो न कसैसँग द्वेष गर्छन् न त आकांक्षा राख्छन् ।’ सन्यासी भनेको लोभ, मोह, घृणा, अहंकारबाट उन्मुक्त हुनु हो । उनीहरु सांसारिक बन्धनबाट मुक्त हुन्छन् र आनन्दमय जीवन व्यतीत गर्न सक्छन् ।

अब गीताको छैठौं अध्यायमा लेखिएको एउटा श्लोकको कुरा गरौं । त्यहाँ लेखिएको छ, ‘हे अर्जुन मान्छेले आफूलाई आफ्नै उद्वार गरोस् । किनभने आफैं आफ्नो बन्धु हो, आफैं आफ्नो शत्रु हो ।

हामी अरुलाई दोष देखाएर फलानो शत्रु, फलानो मित्र भनिरहेका हुन्छौं । तर शत्रु र मित्र हामी आफैंभित्र हुन्छ । त्यही कुराको बोध गर्न भन्छ श्रीमद्भागवत गीताले । मनोविज्ञानको पछिल्लो अध्ययनको एउटा निचोडले भन्छ नि, ‘मनले हारे हारिन्छ, मनले जिते जितिन्छ ।’ गीताको यस श्लोकको अन्तर्य पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?