+
+

सिमरा सेजमा टायल्स उद्योगको शिलान्यास

सुरेश बिडारी सुरेश बिडारी
२०७९ माघ १४ गते १९:५१

१४ माघ, वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा पहिलो उद्योग स्थापना हुने भएको छ । ३४३ बिघा क्षेत्रफल ओगटेको सिमरा सेजको ‘ए ब्लक’ मा टायल्स तथा मार्बल उद्योग स्थापना गर्न लागिएको हो ।

टायल्स फ्याक्ट्रीका लागि ८ वटा प्लट लिएको उद्योगी तुलसी गुप्ताले बताए । भारतीय कम्पनी अशोक, आकृति टायल्स तथा मार्बल उद्योगसँगको सहकार्यमा सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न लागेको उनले बताए ।

१५ प्रतिशत जति लगानी आफ्नो रहने र बाँकी भारतीय व्यवसायीको लगानी रहेको उनको भनाइ छ । उद्योगमा डेढदेखि २ सय करोडसम्म लगानी हुने अनुमान छ । ‘नेपालमा आयात हुँदै आएका विभिन्न किसिमका फ्लोर टायल्स, वाल टायल्स उत्पादन गर्छौ’ उद्योगी गुप्ताले भने ‘त्यसका लागि आवश्यक माटोको ल्याब टेष्ट गराइसकेका छौं, पालुङ, भैरहवामा पाइएको छ ।’

असारमा उत्पादन सुरु गर्ने गरी काम अघि बढाउन लागिएको उद्योगी गुप्ताले जानकारी गराए । उद्योगमा १ सय देखि १२० जनाले रोजगारी पाउने उनले बताए ।
सिमरा सेजमा हर्वल प्रोसेसिङ उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठूलो संख्यामा गार्मेट उद्योग आएको सेजले जनाएको छ ।

उद्योगीलाई आकर्षित गर्न पछिल्लो समय सेजले जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रति महिना प्रति वर्गमिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएको छ ।

सुरुको २ वर्ष निर्यात गर्नु नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

सेजले ‘ए ब्लक’ को ३ सय ४३ बिगाहामध्ये १६० बिगाहामा उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक भवन, बैंक, बिमा, हुलाक, भन्सार, क्यान्टिन, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी तथा विद्युतीकरणका लागि आवश्यक संरचना निर्माण भइसकेको जनाएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित निर्माण थालिएको सिमरा सेजमा नेपाल सरकारको करिब पाँच अर्ब लगानी भइसकेको छ । विस २०५९ सालमा वीरगञ्ज चिनी कारखाना बन्द भएपछि मन्त्रिपरिषद्को निर्णय मार्फत चिनी कारखानाको जग्गालाई उद्योग मन्त्रालय मातहतमा राखिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी ०७४ साल १८ चैतमा सिमरा सेजको शिलान्यास गरेका थिए ।

सेजका कार्यकारी प्रमुख डा. चण्डिकाप्रसाद भट्टले विशेष आर्थिक क्षेत्र ‘सेज’ को ‘ए ब्लक’ मा रहेको ६८ वटा प्लट भाडामा लागिसकेको बताए । ‘१९ वटा उद्योगहरु पूर्ण रुपमा आउँदा १ हजार ५ सयले जनाले रोजगारी पाउँछन् । ५ अर्ब लगानी जति हुन्छ’ उनले भने ।

सेजले उद्योगका लागि प्रतिप्लट एकदेखि डेढ बिगाहा क्षेत्रफलको हुने गरी जग्गाको संरचना तयार गरेको छ । कार्यकारी प्रमुख भट्टका अनुसार पहिलो वर्ष ५० प्रतिशत भाडा छुट दिने भन्ने ऐन संशोधन गरिएको छ । उद्योग स्थापनाको पहिलो वर्ष भाडामा ७५ प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत, र तेस्रो वर्ष २५ प्रतिशत छुट दिने र चौथो वर्षदेखि मात्रै पुरै भाडा लिनेगरि व्यवस्था मिलाइएको छ ।

‘भाडा नै नलिँदा दुरुपयोग हुने जोखिम हुन्छ । पहिलो वर्ष २५ प्रतिशत मात्रै भाडा लिन्छौं, चौथो वर्षमा मात्रै पूर्ण रुपमा भाडा लिन्छौं’, उनले भने ‘सञ्चालन खर्च उठ्नुपर्छ भन्ने हो । कर्मचारीको तलब भत्ता तथा मर्मत सम्भार गर्न सक्ने रकम उठ्नुपर्छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?