+
+

आन्तरिक हवाई यात्रु संख्यामा कीर्तिमान

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ १६ गते १९:२१

१६ माघ, काठमाडौं । कोरोना भाइरसको महामारी कम भएसँगै आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन विमानस्थलबाट मात्र एक वर्षको अवधिमा ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् । सन् २०२१ मा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट सेवा लिएका थिए । त्रिभुवन विमानस्थल आन्तरिक उडानको सबैभन्दा धेरै उडान तथा अवतरण हुने विमानस्थल हो ।

काठमाडौंबाहिर पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज बढी व्यस्त विमानस्थल हुन् । कोरोना महामारीका बेला सुरक्षित यात्राका रुपमा जहाज चढ्ने यात्रु बढ्न थालेका थिए । त्यसबेला हवाइ इन्धनको मूल्यमा आएको गिरावटले टिकटको मूल्य घटेको थियो । यसै मौकामा वायुसेवा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका थिए । यसको प्रभाव हवाइ भाडा बढ्दा पनि देखिएको हो ।

वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार कोरोना महामारी लगत्तै २४/२५ घण्टाको दुरीमा यात्रा गर्नुपर्ने यात्रुले हवाइजहाज रोजेको पाइएको थियो । साथै लामो लकडाउनपछि यात्रा प्रतिबन्ध खुलेका कारण पनि यस वर्ष यात्रुको संख्या वृद्धि भएको हो । पछिल्लो समय नेपालमा वायुसेवा कम्पनीले जहाज संख्या बढाएका छन् । टिकटको मूल्य पनि प्रतिस्पर्धी नै रहेका कारण पनि यात्रु आकर्षित भएको उनले बताए । यस वर्ष दुई/तीन वर्षदेखि दशैंमा घर जान नपाएका यात्रुले समेत जहाज रोज्दा यात्रु बढेको उनको अनुमान छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार देशभर सडक निर्माण/विस्तारको प्रभाव पनि हवाई यात्रुमा देखिएको हो । यस वर्ष दुई वटा निर्वाचनले समेत हवाई यात्रु वृद्धिमा भूमिका खेलेको हो । ‘अब हवाई यात्रा विलासिता नभई अत्यावश्यक सेवा भइसक्यो भन्ने तथ्यांकले पुष्टि गर्छ’ उनले भने ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यस वर्ष २२ लाख ५५ हजार ५३८ यात्रु त्रिभुवन विमानस्थल हुँदै अन्य आन्तरिक विमानस्थलमा उडेका छन् । २२ लाख १० हजार ६१४ जना यात्रु देशभरका अन्य आन्तरिक विमानस्थलबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा मात्र १ लाख ८ हजार २०२ पटक जहाज ओहोरदोहोर भएको छ । जसमा ५४ हजार १०७ वटा जहाज प्रस्थान गरेका थिए भने ५४ हजार ९५ पटक जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट पौने १ करोड यात्रु व्यवस्थापन

तथ्यांक अनुसार त्रिभुवन विमानस्थलले मात्र एक वर्षको अवधिमा कुल ७९ लाख ५४ हजार ४८० जना यात्रु व्यवस्थापन गरेको छ । यो आन्तरिक र बाह्य तर्फ सेवा लिएका यात्रुको संख्या हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो ।

तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो ।

विमानस्थलमा एक वर्षको अवधिमा २४ हजार ३१२ वटा उडान–अवतरण भएका छन् । जसमा १२ हजार १५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । १२ हजार १५४ पटक जहाजहरु यहाँबाट उडेका छन् । विमानस्थल भन्सार बिन्दु समेत हो । एक वर्षमा त्रिभुवन विमानस्थलबाट वायुयानहरुले २ करोड ६६ लाख ७६ हजार ७८० किलो कार्गो ओसारेका छन् । जसमध्ये १ करोड ३२ लाख ४ हजार ७७० किलो सामान नेपाल भित्रिएको छ । १ करोड ३४ लाख ७२ हजार १० किलो सामान बाहिरिएको प्राधिकरणले जनाएको छ ।

सन् २०२१ को तुलनामा उडान संख्या, यात्रु संख्या उल्लेख्य बढेको छ भने कार्गो यस वर्ष घटेको छ । यसो हुनुमा अघिल्लो वर्ष कोरोना नाका कारण सीमा नाका बन्द हुनु र कार्गो उडानमा हवाईमार्गको प्रयोग हुनु मूख्य कारण थियो । सन् २०२१ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलमा ५ हजार ८८२ पटक जहाजको आगमन भएको थियो । ५ हजार ८७८ पटक जहाजको प्रस्थान भएको थियो ।

यसरी एक वर्षमा ११ हजार ७६० उडान/अवतरण भएका थिए । सो वर्ष यस विमानस्थलबाट २ करोड ९५ लाख १४ हजार १२० किलो कार्गो ओसार–पसार भएको थियो । यस वर्ष १ करोड ५७ लाख २३ हजार १९५ किलो सामान भित्रिएको थियो । १ करोड ३७ लाख ९० हजार ९२५ किलो सामान जहाजबाट बाहिरिएको थियो ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?