+
+

मैले ‘प्रेम’लाई बिर्सेछु, रविलाई सम्झिँदा …

अहिले हामीसँग एउटा मरिसकेको मान्छेलाई फेरि ब्यूँताउने अवसर छ ।

सृजना पोख्रेल सृजना पोख्रेल
२०७९ माघ १७ गते ८:११

२०७९ माघ ११ । एक ३६ वर्षीया युवाले काठमाडौं बानेश्वरको व्यस्त सडकमा उभिएर आफैंमाथि आगो लगाए । काठमाडौं देशको राजधानी हो । बानेश्वरमा देशभरबाट जान्नेबुझ्ने भन्दै चुनिएकाहरू आउने संसद भवन छ । त्यो भवन उनी जलिरहेको सडकको छेउमै थियो । इलामका यी युवाले आफ्नो इलमको कथा जलाउनु अघि, फेसबुक पोस्ट मार्फत आफ्नो अनुभव, सुझाव, क्रान्ति प्रस्टसँग सार्वजनिक गरिदिए । युवाको नाम- प्रेमप्रसाद आचार्य ।

यो कुरा यसरी एकएक लेख्नु नपर्ने हो । कसले बिर्सेको होला र ! घटना घटेको एक हफ्ता पनि भएको छैन । समाचार, फेसबुक, ट्विटर सबतिर छ्याप्छ्याप्ती थियो । त्यही दिन सब नेपालीको मनमा, फेसबुक ‘प्रोफाइल पिक्चर’मा प्रेमको शरीर जलाउनेभन्दा भयानक आगो बलेको थियो । सबैले ‘हामी पनि जल्न नसकेका प्रेम हौं’ भन्दै आन्दोलन सुरु गर्दै थिए ।

तर त्यसको दुई दिनमै फ्याट्ट यता के भयो भने, हाम्रा गृहमन्त्री ‘अनागरिक’ भैदिए । अब आँसु बग्न थाल्यो । कतै दुःखको आँसु । कतै खुसीको आँसु । अनि त के थियो ! ‘अनागरिक’ गृहमन्त्रीका लागि बरबरी बगेका आँसुले एकाएक प्रेमप्रसादको लागि ह्वारह्वारी बलेको सबै आगो निभाइदिए । स्वात्तै ।

अस्ति प्रेमको जलिसकेको शरीरलाई विधिवत आर्यघाटमा जलाईँदै थियो । अस्ति नै काठमाडौंमै एउटा ठूलो भिड जम्मा भयो । माथि पुगिसकेको प्रेमप्रसादको आत्माले तल भिड देखेर सोच्यो होला, ‘जहाँबाट भएपनि बोल्दिए मात्रै भैहाल्थ्यो, यी मान्छे त अफिस छुट्टि लिएरै, कामको माया मारेरै प्रत्यक्ष नै आएछन् । पक्कै मेरो मलामी आए क्यारे !’

तर त्यो भिड आर्यघाट पुगेन । आर्यघाटको लागि हिँडेकै थिएन । भिड जिल्ला प्रशासन कार्यलय अगाडि पुग्यो, टक्क रोकियो । हल्ला गर्न थाल्यो । किनकि यता हाम्रा गृहमन्त्री फेरि ‘नागरिक’ हुँदै थिए । समर्थनको खाँचो उनलाई बढी थियो ।

जुन दिन प्रेम गए, त्यसको दुई दिन त यस्तो माहोल थियो, मानौँ अब नयाँ क्रान्ति सुरु हुन्छ । प्रेमप्रसादले जानुअघि राखेका मागहरू बोकेको प्रेमवाद सुरु हुन्छ । सरकार कानमा ठेडी कोचेर बसेपनि नसुनेर सुखै पाउने छैन । अन्यायी नीतिहरू परिवर्तन हुनेछन् । केही दिन हैन, बजेट भाषण नहुँदासम्म, सरकारले कान नपकड्दासम्म, लगातार आवाज उठिरहने छन् । प्रेमवाद अमर हुनेछ ।

तर सायद प्रेमवाद टिकेन । किनकि अहिले, भुतपूर्व गृहमन्त्री फेरि वर्तमान हुने कसरतमा छन् । ‘मलाई मन्त्री नदिए सरकार छोड्छौँ है’ – घुर्क्याउँदैछन् । ‘गृहमन्त्री देऊ, राष्ट्रपति लेऊ’ – लोभ्याउँदैछन् । हाम्रो ध्यानको खाँचो उनलाई बढी छ ।

सूर्यको अगाडि जाबो आगोको लप्काको के जोर लाग्थ्यो । प्रेमवादले हाम्रो ध्यान पाएन ।

हुन त अहिले गृहमन्त्री एउटा बहाना हुन् । भोलि मन्त्री भएपछि यिनी सेलाउलान् । केहीदिन समाचारबाट हराउलान् । तर त्यो बेला पनि फर्केर प्रेमवाद सम्झने फुर्सद हामीलाई हुनेछैन । किनकि हाम्रो ध्यान पकड्न/भड्काउन केही भयङ्कर हुँनै पर्दैन । कुनै मेला महोत्सवमा एउटी बालिका छाती पिटेर रोइदिए/ रोएको अभिनय गरिदिए पुग्छ ।

ध्यानको आयुलाई आफ्नै आयु मान्ने हो भने हामी मान्छे होइनौं, छिछिमीरा हौँ ।

अझ यसपाली त प्रेमलाई नसम्झिन अर्को बलियो कारण पनि छ । प्रेमप्रसादको अन्तिम चिठी एकपटक मात्रै सरर पढ्दा पहिलो दोषी सरकार हो । अनि केही ठूला व्यापारी घराना हुन् । यिनलाई गाली गर्न सजिलो छ । दुई दिन मात्रै बोल्दा ‘सरकार’, ‘भाटभटेनी’, ‘बिग मार्ट’, ‘मुर्दावाद’, यति भन्दिए पुग्छ ।

तर त्यो भन्दा धेरै बोल्न थाले, तेस्रो दिनमा, अब प्रश्न आफ्नो पोल्टामा आउनसक्छ । प्रेमको चिठी दोहोर्‍याएर तेहेर्‍याएर पढे, सरकारसँगै आफ्नै कुहिएको अनुहार देखिन सक्छ ।

सायद हामीलाई डर लाग्यो ।

महिनौं काम लगाएर ठ्याक्क पैसा दिनेबेला आफूले चटक्कै भेट्न छोड्दिएको कामदार पो याद आउँछ कि ! कुराई कुराई, बल्लबल्ल पारिश्रमिक दिँदा पनि फेरि उसको भाग काटेको याद आउँछ कि ! आफ्नो गोजीमा अर्कैको हिस्साको पैसा पो भेटिन्छ कि !

डर लाग्यो ।

‘१ लाख मात्रै सापटी दे’न, १ हफ्तामै फिर्ता दिन्छु के’ भनेर सापटी मागेको, साथीले आफैं अफ्ठेरोमा हुँदा पनि दियो । दिएको १०० हफ्ता बितिसक्यो । तिर्छु भनेको त हो नि, तर कस्तो फेरि नयाँ मोडल आएछ मोबाइलको ! नकिनी भयो त ? ह्या होस् , फोन उठाउँदिन बरु ।’
यस्तै भन्दाभन्दै नामै बिर्सेको साथीको अनुहार पो याद आउँछ कि ।

डर लाग्यो ।

‘व्यापारीहरू सब चोर हुन्, चोरबाट थोरै चोरे केही हुँदैन के’ भन्दै आफूले थोरै थोरै ठगेका सबै व्यापारीमा प्रेमको अनुहार पो देखिन्छ कि ।

डर लाग्यो ।

प्रेमको उधारो नतिर्नेलाई धेरै गाली गरिरह्यो भने, आफैंले नतिरेका उधारोहरू याद आउलान् । यतिका वर्ष ‘सरकार पो खत्तम छ त, म त विचरा हो नि’ भन्दै आफैंले आफूसँग बोलेका झुटहरू याद आउलान् । यो उधारोको बहसले आफ्नै अनुहार छोपेको सुकिलो कपडा उधारी दियो भने ?

डर लाग्यो ।

सायद प्रेमलाई थाहा थियो, हामी यस्तै डराएर चुप लाग्न सक्छौँ । त्यसैले उनले आफ्नो चिठीमा हामीले गाली गर्न सक्ने टन्नै नाम छोडिदिए । सायद प्रेमलाई थाहा थियो, हाम्रो ध्यानको आयु कति छोटो छ । त्यसैले सुरुमा विस्तृतमा लेखेका २५ बुँदा मागहरूलाई फेरि छोटोमा ११ बुँदामा खुम्चाइदिए ।

सास गुम्न लागेको मान्छेले पनि हाम्रो ध्यानबारे हिसाब गरेर थप मिहिनेत गर्दिनुपर्ने ! मर्न लागेको मान्छेलाई अझै दुःख थपिदिने ! कस्तो भएछ हाम्रो ध्यानको आयु ।

प्रेम त गए । अब कम्तिमा हाम्रो लागि यतिका सोचेर जाने प्रेमको प्रेमवादलाई मर्न दिएनौं भने मात्रै यो लोक प्रेम गर्न लायक रहनेछ । यो लोक रहिरहन लायक रहन्छ ।

प्रेमको उधारो नतिर्नेले त उनलाई धन दिनु थियो । धन दिन सबलाई लोभ लाग्छ । तर हामीले त केवल ध्यान दिनुछ । आवाज दिनुछ । हरेक दिन उम्रने नयाँ सनसनीबाट भर्खर जन्मेको प्रेमवादलाई जोगाउनु छ । बचाउनु छ । सबै माग जस्ताको तस्तै छाप्न सकिने नहोलान् तर कम्तिमा बहस गर्नु छ । प्रेमवादलाई उसको हिस्साको इज्जत दिनु छ ।

हाम्रो सजिलो लागि प्रेमले छोट्ट्याइदिएका मागहरू :
१. बायर्स पे फर्स्ट
२. राष्ट्रिय उत्पादनमा भ्याट शून्य
३. ल्याण्ड लिजिङ सिस्टम
४. हाइयर द प्रोफिट, लोअर द ट्याक्स रेट
५. शिक्षित जनशक्ति वैदेशिक रोजगारमा जाँदा श्रम स्विकृतीको झन्झट नगराइयोस् । श्रम कागजभन्दा दरिलो फरेन कम्पनिले दिएको अफर लेटर र इम्प्लाेइमेन्ट कन्ट्राक्ट उनीहरूसँगै हुन्छ ।
६. देशका सबै पालिकाहरू र उत्पादनहरू समेटिएको ‘पालिका बजार’ नामक वेब सर्भरको विकास ।
७. बहालमा लगाएका घरहरूलाई अनिवार्य कर । घर बहाल दिँदा घरधनीले लिने डिपोजिट मनि गैरकानुनी हो, त्यसको अन्त्य ।
८. स्वास्थ्य शिक्षा र सार्वजनिक यातायात सहज र सरल
९. बैंकिङ मोर्गेज भ्यालुएसन नीतिमा परिमार्जन
१०. बचत तथा ऋण सहकारी, फाइनान्स कम्पनि र माइक्रो फाइनान्सको खारेजी
११. गाँजा खेतीलाई वैधानिकता
प्रेमप्रसादले उनको चिठीको अन्त्यमा लेखेका छन् – म मरेपनि मेरो देश बाँचिरहोस् । देश भनेको के हो? भुगोल, मान्छे । मान्छे भनेको के हो? उसको विचार । मान्छे बाँच्नु भनेको विचार बाँच्नु हो ।
अहिले हामीसँग एउटा मरिसकेको मान्छेलाई फेरि ब्यूँताउने अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?