+
+

जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका ठूला जहाजले अब ‘रनवे फेर्न’ नपाउने

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ १८ गते १८:२५

१८ माघ, काडमाडौं । भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ । अन्य सबै विमानस्थलमा भने सो उचाइ भन्दा तल झरिसकेपछि पाइलटले जहाज अवतरण गराउन पर्नेछ ।

१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा रनवे धावनमार्गको एक छेउ ‘थ्रीजीरो’बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए । जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण भन्ने गरेका छन् । यद्दपि यसबारे सरकारले गठन गरेको छानविन आयोगले अनुसन्धान गरिरहेको छ ।
प्राधिकरणले उक्त दुर्घटनामा देखिएको यसै कमजोरीलाई सच्याउने गरी नयाँ निर्णय लिएको हो ।

प्राधिकरणका अनुसार अब सो उचाइभन्दा तल आइसकेपछि जहाज मोड्ने वा अर्को धावनमार्गमा जाने गरी अनुमति पाउने छैनन् । आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल)मा भने कुन अवस्थामा कति उचाइ कायम गर्ने भन्ने सम्बन्धमा जहाजले नै सोही प्रोफाइल कायम गरी अवतरण हुने गर्छ ।

आईएफआर जडान भएका विमानस्थलमा भीएफआर उडान बन्द

प्राधिकरणका अनुसार अब आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) प्रणाली जडान भएका सबै विमानस्थलमा भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज उडाउन प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणको यो नियम अनुसार अब तराईका सबै विमानस्थल र पोखरा (आईएफआर सिस्टम जडान भएपछि)मा भीएफआर उडान हुने छैन । यो नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अनिवार्य लागु हुने भएको छ । तर, यसमा साना जहाजहरु (ट्वीनअटर, एलईटी–४१०, डोर्नियर)लगायतमा भने अनिवार्य गरिएको छैन । ठूला जहाजले आईएफआर प्रणालीमा मात्र रहेर उडान गर्नुपर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीमा उडान गर्ने डेजिगनेटेड चेक पाइलट (प्राधिकरणको विशेष परीक्षामा पास भएर तोकिएका वरिष्ठ पाइलट)हरुको ‘स्किल टेस्ट’ अब सम्बन्धित वायुयान निर्माता कम्पनीको ‘फ्लाइट क्रु इक्जामिनर’मा मात्र गर्न पाउने भएका छन् । यसअघि एक प्रकारको जहाज उडाउने पाइलटले अर्को कम्पनीको ‘फ्लाइट क्रु इक्जामिनर’मा समेत यस्तो टेस्ट लिने गरेका थिए ।

जाँदा जहाज उडाएको पाइलट जोडी फर्किंदा परिवर्तन गर्न रोक

प्राधिकरणले कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलट जोडी बीचमा परिवर्तन गर्ने सकिने नियम परिवर्तन गरेको छ । यसअघि कुनै एक पाइलट/कोपाइलटको ड्युटीआवर सकिने अवस्था रहँदा जहाजमा अर्को एक पाइलटलाई यात्रुका रुपमा लगेर फर्किँदा उनी ककपिटमा बस्ने र शुरुमा ककपिटमा बसेको पाइलट यात्रु सिटमा बस्न पाउने व्यवस्था थियो । केही छिनमै ककपिटमा जोडी परिवर्तन गर्दा समन्वयमा जोखिम हुने भन्दै प्राधिकरणले यस्तो नियम ल्याएको बताएको छ ।

अब काठमाडौंबाट नेपालगञ्ज जाँदा कुनै एक पाइलटको ड्युटीआवर सकिने अवस्था छ भने वायुसेवा कम्पनीले सो जहाज नेपालगञ्ज फर्कंदासम्म पुग्ने गरी ड्युटीआवर भएको पाइलटलाई मात्र ककपिटमा राख्न पाउने भएका छन् ।

दुर्गममा पाइलटको ड्युटीआवर घट्यो

प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा उडान गर्ने पाइलटको दैनिक ड्युटीआवर समेत घटाएको छ । अब यी विमानस्थलमा एक जना पाइलटले दैनिक ८ घण्टा वा ८ उडान/अवतरण मात्र गर्न सक्ने छन् । यसअघि यो १० घण्टा वा १० उडान अवतरण रहेको थियो । सुगममा भने ड्युटीआवर यथावत रहेको छ ।

उडान सुरक्षा बढाउन नियममा अध्यावधिक : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षा बढाउन प्राधिकरणले नियमित नियमहरुलाई अध्यावधिक गरेको बताए ।

उनका अनुसार यी नियमहरु कार्यान्वयन गर्ने सम्बन्धमा बुधबार औपचारिक निर्णय लिई वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्ने तयारी छ । ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले औल्याएका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै उडान सुरक्षा अभिवृद्धि गर्न यी नियमहरु ल्याइएको हो’ उनले भने ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?