+
+

भारत र पाकिस्तानलाई हेरौं, धर्मको राजनीति नगरौं

रघुजी पन्त रघुजी पन्त
२०७९ माघ १८ गते १८:११

भारतीय संविधानका प्रमुख निर्माता डा. भीमराव अम्बेडकरले भन्नुहुन्थ्यो, ‘संविधान केवल वकिलहरुको दस्तावेज मात्रै होइन, जीवन जिउने एक माध्यम हो ।’

संविधानले हाम्रो राजनीतिलाई मात्रै नभएर नागरिकको जीवनलाई पनि परिवर्तन गर्न सक्छ । त्यसैले म संविधानको आधारभूत मूल्य–मान्यता विरुद्ध नजान यो सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु ।

मैले राष्ट्रिय सभामा प्रधानमन्त्रीले बोलेको सुनें । एकजना मन्त्रीले बोलेको सन्दर्भ आएपछि उहाँले भन्नुभयो, ‘मन्त्रीले संघीयताविरुद्ध बोल्न मिल्दैन । संविधानका धारा विरुद्ध बोल्न मिल्दैन ।’

प्रधानमन्त्रीले भाषण गरेको भोलिपल्ट शहरी विकास मन्त्रीले चितवनमा गएर आफ्नो पार्टीले संघीयता स्वीकार नगरेको दाबी गर्नुभयो । उहाँले संघीयता विरुद्ध बोल्ने कानुन मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने जिकिर गर्नुभयो ।

पाण्डेले पार्टीको सिद्धान्त अनुसार आफ्नो धारणा राख्ने बताउनुभयो, ‘हाम्रो पार्टीको अडान छ, हामीले संघीयता स्वीकार गरेको छैन । राजतन्त्रबारे हामीले कुराकानी गरेका छौं । धर्मनिरपेक्षताको विरोध गरेका छौं । हाम्रो अडान यथावत् छ । जुन किसिमले हामीले सोचेका छौं, त्यही अनुसार अगाडि बढ्ने लक्ष्य लिएका छौं ।’

हाम्रो सरकार, मन्त्रिपरिषदबारे संविधानको धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार संविधान र कानुन बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ । यो संविधान र कानुनको अधीनमा रही नेपालको शासन व्यवस्था सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषदमा हुनेछ ।

अर्थात् यो संविधान र कानुनको अधीनमा रहेर मन्त्रीहरूले आफ्नो गतिविधिलाई आफ्नो अभिव्यक्तिलाई अगाडि बढाउनुपर्दछ । र, यो संविधानको प्रस्तावनामा भनिएको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी विविधिताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतलाई अन्त्य गरी आर्थिक सामना, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गरेका छौं ।’

त्यसैगरी प्रारम्भिकको धारा ४ मा भनिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख गणतन्त्रात्मक राज्य हो ।’

त्यसैले संविधान अनुसार शपथ ग्रहण गर्नुभएको, संविधान र कानुन अनुसार शपथ लिनुभएको मन्त्रीहरूले प्रधानमन्त्रीसँग आफ्नो कुरा ‘कन्ट्राडिक्ट’ गर्न मिल्दैन । म यो सरकारलाई मत हाल्ने एउटा सांसदको हैसियतले आग्रह गर्दछु– मन्त्रीहरू र प्रधानमन्त्रीसँग यस्तो सार्वजनिक विवाद आएको राम्रो होइन । यस्तो विषयमा उहाँहरूको केही कुरा छ भने त्यो क्याबिनेटमा बसेर गर्ने हो वा छुट्टै बसेर गर्ने हो । संविधानका आधारभूत संरचनाका बारेमा प्रधानमन्त्री र मन्त्रीको धारणा बाझिने कुरा आफैंमा मुलुकको लोकतन्त्रको लागि राम्रो लक्षण होइन ।

भर्खरै हामीले पाकिस्तानमा तालिवानीहरूले पड्काएको अनुमान गरेको बम विस्फोट देख्यौं । नवाज पढ्ने बेलामा बम पड्काएर २५–३० जना भन्दा बढ्ता मान्छे मारिएको छ । पाकिस्तान भन्दाखेरि धर्मको आधारमा मुस्लिमहरूलाई छुट्टै देश चाहिन्छ भनिएको थियो । तर, त्यो पाकिस्तानमा आज दिनहुँ बम पड्किन्छ । सुन्नीले सियालाई मार्छन् । पञ्चायतकालमा हामी भारत जाँदा त्यहाँको स्वतन्त्रता र लोकतान्त्रिक अवस्था हेरेर दङ्ग पर्थ्यौं ।

तर, आज नेपालमाथि गर्व गर्नुहोस् । भारतका पत्रकार आउँदा नेपालमा जुन खुला, शान्त, सामञ्जस्य, धार्मिक सहिष्णुता पाउँछन्, त्यो हाम्रो देशले गुमायो भन्छन् । त्यो लोकतन्त्र र धार्मिक सहिष्णुता गुमायो भन्छन् । भारतमा आज बहुसंख्यक हिन्दुहरू एकातिर भएर मुस्लिमहरू सडक, बाटो र रेलमा कुटिन्छन् । तर, तिनीहरूलाई कारबाही हुँदैन ।

त्यसैले म भन्छु, धर्मलाई आफ्नो जीवनशैलीमा ढालौं । त्यो आफ्नो स्वतन्त्रताको कुरा हो । तर, धर्मलाई हामीले राजनीतिक एजेन्डा बनायौं भने हामी छिमेकमा हेरौं, न पाकिस्तान शान्त छ, न बङ्गलादेश शान्त छ, न हिन्दुस्थान शान्त छ ।

त्यसैले हामीले हाम्रो संविधानले मार्ग निर्देशन गरेको बाटोबाट विचलित हुनुहुँदैन । झन् संंविधानले निर्देशन गरेका यस्ता विषयमा मन्त्री भएर, क्याबिनेटमा बसेर यदि राय बझाउन थाल्छौं भने यसले देशलाई कुन बाटोमा लैजाने हो भन्ने भ्रम उत्पन्न हुन्छ ।

म फेरि भन्छु, यो मैले मत हालेको सरकार हो । राप्रपाको आफ्नो विचार होला । त्यो दलले आफ्नो विचार भन्न सक्छ । त्यसका सांसदहरूले बोल्न सक्छन् । तर, मन्त्रिपरिषदमा बसेर यसरी संविधानको बर्खिलापमा बोल्ने यो संविधानको विपरीत कुरा हो । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

यतिबेला संसारको राजनीति विचारविहीन भएको छ । धार्मिक दक्षिणपन्थवाद संसारभरि बढेको छ । त्यसबाट अछूत भनेको हाम्रो नेपाल हो । नेपालको हिन्दुत्व पनि गजब छ । भारतको दसरा जस्तो हाम्रो दशैं हुँदैन । भारतको दसरामा छुट्टै हुन्छ । हाम्रो दशैंको स्वाद छुट्टै छ । त्यहाँ जनजातिको स्वाद भेटिन्छ । त्यहाँ तराईको स्वाद भेटिन्छ ।

हामी जसरी मिलेर बसेका छौं हिन्दू, बौद्ध, इस्लाम, बोन, किराँत धर्म मान्नेहरू, यसलाई जोगाऊँ । यो धर्मको सहिष्णुतालाई जोगाऊँ । किनभने यो धार्मिक अन्धविश्वास र द्वन्द्वले गर्दा आज संसारलाई विभाजित गरिरहेको छ । हिन्दु आज संसारमा विवादको विषय बनेको छैन । तर, आज इस्लाम र क्रिश्चियानिटीको द्वन्द्वले संसारलाई आक्रान्त पारेको छ ।

राप्रपाका कतिपय साथीहरूले बोल्नुहुन्छ, क्रिश्चियानिटी बढ्यो । त्यो चिन्ता ममा पनि छ किनभने त्यो धर्म नै त्यसरी विस्तार भएको हो । दक्षिण अफ्रिकाका स्वतन्त्रता सेनानी फादर डेस्मन टुटुले एकचोटि भन्नुहुन्थ्यो, ‘हाम्रो देशमा गोराहरू आए । उनीहरू आउँदा उनीहरूको हातमा बाइबल थियो । उनीहरूले हामीलाई भने, जिसस क्राइस्टका नाममा आँखा चिम्ल । हामीले आँखा चिम्लियौं । आँखा खोलेर हेर्दा हाम्रो जमिन उनीहरूको हातमा थियो । बाइबल हाम्रो हातमा थियो ।’

यही तरिकाले नेपालमा क्रिश्चियानिटी बढाउने काम चलिरहेको छ । यसलाई मन्त्रीजीहरूले धार्मिक एजेन्डा बनाउने होइन । यसलाई रोक्न तपाईंहरू क्याबिनेटमा हुनुहुन्छ, उपप्रधानमन्त्री हुनुहुन्छ । त्यहाँ ल्याउनुहोस् न बलजफ्ती प्रलोभनमा पारेर धर्म परिर्वतन गर्नेलाई कस्तो कानुन ल्याएर रोक्ने हो ।

गरिब, चेपाङ, धामी, तामाङ र अरु जातका मान्छेहरूलाई पनि पैसाको प्रलोभन दिएर क्रिश्चियन बनाउने जुन चलेको छ, त्यसलाई रोक्न अहिलेको कानुन पर्याप्त छैन भने कानुन ल्याउनुहोस् । तर, धर्मनिरपेक्षताले क्रिश्चियानिटी बढाएको होइन ।

धर्मनिरपेक्षताले सबै धर्मलाई सबैलाई समानताको अनुभूति दिएको छ । सबैलाई हामी बराबर भन्ने अनुभूति दिलाएको छ । त्यसैले यो संविधान र यसले निर्देशन गरेका जुन मार्ग छन्, ती मार्गबाट हामी विचलित भयौं भने हामी पनि त्यो धार्मिक द्वन्द्वमा फस्न सक्छौं ।

धर्मको इतिहास हेर्दा धर्मले जोडेको छ, धर्मले तोडेको छ । हामी इतिहास पढ्दा देख्छौं, धर्मका लागि धेरै युद्ध भएका छन्, तर हाम्रो देशबाट जन्मेको, हाम्रो देशका एकजना सपुतले निर्माण गरेको बुद्धिजम आज संसारमा शान्तिको बाटो देखाउने सूत्र बनेको छ । त्यसरी शान्ति, सहिष्णुता र सामञ्जस्यको बाटो देखाउने बुद्ध जन्मेको यो देशमा हामीले कुनै धर्मलाई काखी च्याप्न जरुरी छैन ।

नेपालमा ८० प्रतिशत हाराहारीमा हामी हिन्दू छौं । नेपाल अहिले पनि संविधानले धर्मनिरपेक्ष घोषणा गरे पनि हिन्दूहरूको बहुलता र प्रभाव भएको देश हो ।

हो, यो प्रभावमाथि हामी हिन्दूहरूले पनि बुझ्नुपर्छ । डा. भीमराव अम्बेडकर कुनै बेला हिन्दू नै थिए । उनले बौद्ध धर्म अंगीकार गरे । किन ? किनभने जब हिन्दूले समान अधिकार दिंदैन, जीवन भन्दा ठूलो धर्म हुँदैन । जीवनका लागि धर्म हो । धर्मका लागि जीवन होइन । ‘अछूत भनेर मलाई मन्दिरमा जान दिइँदैन, मलाई बाहुन सरह मानिंदैन भने म यो धर्ममा किन बस्ने’ भनेर उनले बौद्ध धर्म अंगीकार गरे ।

जो हामी आफूलाई हिन्दु भन्छौं, हामीले के बुझ्नुपर्छ भने हाम्रो धर्ममा सुधार गर्न जरुरी छ । अहिले पनि कतिपय मन्दिरमा दलितहरूलाई प्रवेश नदिने, समान व्यवहार नगर्ने जुन जातीय असमानता छ, यो कायम रह्यो भने यही असमानतारूपी प्वालबाट पसेर नेपाललाई धार्मिक रूपान्तरण गर्ने, आफ्नो एजेन्डामा लैजाने दुस्प्रयत्न हुनसक्छ ।

जुन चलिरहेको छ, त्यसलाई रोक्ने कसरी ? यो मुलुकको चिन्ताको विषय हो । मलाई सबैभन्दा बढी चिन्ता लागेको विषय यो हो । सरकारले देशलाई राजनीतिक स्थिरता र सुशासन देला, आर्थिक विकासको बाटोमा मुलुकलाई लैजाला भनेर हामीले विश्वासको मत दिएका हौं । धार्मिक विवाद गर्न, गणतन्त्रको विवाद झिक्न र संघीयताको विवाद झिक्नको लागि होइन ।

संघीयतामा मेरा पनि प्रश्न होलान्, तर भर्खर संविधान आएको छ । यो संविधानलाई राम्ररी अभ्यास र प्रयोगमा त जान दिनुपर्‍यो । यो संयुक्त सरकार हो । यो सरकारका न्यूनतम साझा कार्यक्रम भनेको ३० बुँदा हो । धर्मनिरपेक्षता, हिन्दू राष्ट्र, गणतन्त्र, संघीयता यसको न्यूनतम कार्यक्रम हो र ?

राप्रपाको आफ्नो विचार होला । एमालेको आफ्नो विचार होला । माओवादीको आफ्नो विचार होला । यसले न माओवादलाई अंगीकार गर्छ, न राप्रपाको हिन्दू राष्ट्रलाई अंगीकार गर्छ । यसले आफूले बनाएको ३० बुँदे न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने हो । त्यसैले मन्त्रीहरूको ध्यान त्यसमा जाओस् । नचाहिने विवाद निकालेर सरकारलाई विवादमा पार्ने काम नगरियोस् ।

पन्तले बुधबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको सम्पादित अंश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?