+
+

नेप्सेले नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउँदै, कस्ता कम्पनी हुन्छन् सूचीकृत ? 

विजय पराजुली विजय पराजुली
२०७९ माघ १८ गते २०:४९

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउने भएको छ ।

नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९ को मस्यौदा गरिरहेको नेप्सेले आफ्नो सञ्चालक समितिमा नेप्से ५० का विषयमा छलफल सुरु गरिसकेको छ ।

निश्चित मापदण्डका आधारमा ५० वटा कम्पनी छनोट गरेर ती कम्पनीहरुको सेयर कारोबारको आधारमा तयार हुने इन्डेक्स नै नेप्से ५० हो । ‘…५० वटा सूचीकृत कम्पनीहरुको सबै साधारण सेयरमध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य रहेका सेयरहरुलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गुणा गरी आउने बजार पूँजीकरणमा आधारित रहेर यो सूचकांक गणना हुन्छ,’ प्रस्तावित कार्यविधिमा भनिएको छ ।

यसरी तयार हुने नेप्से ५० इन्डेक्सले बजारको प्रतिनिधित्वका साथै त्यसलाई डेरिभेटिभ प्रोडक्टको रुपमा किनबेच गर्न सकिन्छ । त्यस्तै सोही इन्डेक्सको आधारमा छुट्टै सामूहिक लगानी योजना (मुचुअल फण्ड) पनि सञ्चालन गर्न सकिने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

‘नेप्सेले नै नेप्से ५० इन्डेक्स को लागि कम्पनी छानेको हुन्छ । त्यसैको आधारमा प्यासिभ किसिमको सामूहिक लगानी योजना सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘अहिले सामूहिक लगानी योजनाले लगानी गर्दा आफ्नै किसिमले अध्ययन गर्नुपर्छ । भोलिको दिनमा नेप्से ५० सञ्चालनमा आयो भने त्यसको आधारमा छुट्टै म्युचल फण्ड पनि सञ्चालन गर्न सकिन्छ । जसलाई इन्डेक्स फण्ड पनि भन्छन् ।’

अहिलेलाई इन्डेक्सको रुपमा ल्याउन लागेको ‘नेप्से ५०’ लाई पछि डेरिभेटिभ औजारको रुपमा पनि कारोबार गर्न सकिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की बताउँछन् ।

‘भोलिको दिनमा डेरिभेटिभ मार्केट सञ्चालन गर्दा अप्सन मार्केट तथा इन्डेक्स फ्युचरको रुपमा त्यसलाई पनि कारोबार गर्न सकिन्छ,’ उनले भने, ‘नेप्से ५० को इन्डेक्स संरचनाको विषयमा छलफल भइरहेको छ । कम्पनी कसरी छनोट गर्ने भन्ने मोडालिटी पनि बन्दै छ । वैशाखबाट ‘नेप्से ५०’ भनेर नयाँ इन्डेक्स ल्याउने तयारी हो ।’

नेप्से ५० को लागि सबै सुचीकृत कम्पनीको पछिल्लो ५ वर्षको तथ्यांक अपडेट गर्ने काम भइरहेको उनले बताए । तथ्यांक तयार भएपछि परीक्षण गर्ने र कार्यविधि तयार भएपछि मात्रै त्यसलाई सञ्चालन गरिने उनले बताए

‘सकेसम्म नेप्से ५० नै ल्याउनुपर्छ भन्ने हो,’ उनले भने, ‘भोलि डेटाले सपोर्ट नगर्ने अवस्थामा भने ‘नेप्से ३०’ पनि हुनसक्छ । भारतमा नै ३० वटा मात्रै कम्पनीलाई छनोट गरेर इन्डेक्स गणना भएको छ ।’

नेप्से ५० इन्डेक्स व्यवस्थापन गर्ने एउटा समिति चाहिने उनले बताए । भारतमा ‘एसएनटी’ भन्ने अन्तर्राष्ट्रिय कम्पनीले काम गरिरहेको भएपनि नेपालमा भने आफ्नै मोडलमा काम गर्ने समिति बनाउन छलफल भएको कार्की बताउँछन् ।

नेप्सेले भारतकै कम्पनीसँग छलफल गर्दा जी टु जी मोडलमा मात्रै काम गर्न तयार भएपछि नेप्सेले सानो कामको लागि जी टु जी मोडलमा जान चाहेन । त्यसैले नेपाली मोडलमा नै एउटा समिति बनाएर जाने गरी छलफल भएको कार्कीले बताए ।

कम्पनी छनोट कसरी हुन्छ ?

कम्पनी छनोटका लागि विवादरहित मापदण्ड बनाउनु चुनौतीपूर्ण रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्की बताउँछन् । प्रस्तावित कार्यविधिमा नेप्से ५० को लागि सर्वसाधारणमा सेयर निष्कासन भई हाल सो कम्पनीको सूचीकृत सेयर संख्यामध्ये कम्पनीमा २५ प्रतिशत वा सो भन्दा बढी सेयर कारोबार तथा राफसाफ गर्न वा एक कारोबार पश्चात राफसाफ विनियमावलीमा तोकिएको अवधिभित्र सो कारोबारको राफसाफ गर्न सकिने कम्पनीहरु हुनुपर्ने उल्लेख उल्लेख छ ।

कारोबार तथा राफसाफ गर्न मिल्ने सेयरहरु सर्वसाधारण समूहतर्फ परिवर्तित भइनसकेको संस्थापक तर्फको सेयरधनीले गरेको शेयर लगानी, लकइन अवधि उल्लेख भई तोकिएको लकइन अवधि समाप्त भई नसकेका (कर्मचारी तथा स्थानीयबासी) समेतले गरेको लगानी कारोबार तथा राफसाफ गर्न मिल्ने सेयरमा समावेश गर्न नसकिने गरी छलफल भएको छ ।

त्यस्तै नेपाल सरकार तथा नेपाल सरकार अन्तर्गतका सरकारी एवं विभिन्न सार्वजनिक निकाय, संस्थान वा कम्पनीहरुद्वारा गरिएको लगानी, वैदेशिक लगानी अन्तरगतका विदेशी लगानीकर्ताहरुले गरेको लगानी र कम्पनीको सञ्चालक तथा पदाधिकारीहरुले गरेको लगानी समेत नेप्से ५० को लागि कारोबार तथा राफसाफ गर्न मिल्ने सेयरमा समावेश नगर्ने गरी छलफल भएको छ ।

यसरी आएको सूचीबाट बाँकी रहेका कम्पनीहरुको कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ता र कारोबार दिनहरुको आधारमा मापदण्ड तय गरी कम्पनीहरुलाई पुनः वर्गीकरण गर्न सकिने नेप्सेको बोर्डमा छलफल भएको मस्यौदामा उल्लेख छ ।

कम्पनी वर्गीकरण गर्न ६ महिना अथवा एक वर्षको अवधिमा दैनिक औसत २५ लाख वा सो भन्दा बढी रकमको कारोबार भएका, सोही अवधिमा दैनिक औसत पाँच हजार कित्ता वा सो भन्दा बढि कित्ताको कारोबार भएको, दैनिक औषत ४० वा सो भन्दा बढि पटक कारोबार भएको जस्ता मापदण्ड चाहिने  गरी छलफल भएको स्रोतले जनाएको छ ।

यस्तै सोही अवधिमा न्यूनतम उपलब्ध कारोबार दिनहरुमध्ये ७५ प्रतिशत भन्दा बढी दिनहरुमा कारोबार भएको, पछिल्लो निश्चित वर्षसम्म नियमित रुपमा कार्यविधिले तोकेको न्युनतम अनुपातमा लाभांश वितरण गरेको, कम्पनीको न्युनतम चुक्ता पूँजी, वार्षिक वित्तीय प्रतिवेदन र अडिट रिपोर्ट तथा समयमा सधारणसभा भएको प्रतिवेदन जस्ता विषय पनि कम्पनी छनोटको मापदण्ड हुनेसक्ने स्रोतको दाबी छ ।

उक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको सूची तयार गरी सो सूचीबाट सबै नेप्से सूचकांक गणना गर्न प्रयोग हुने सबै उपसूचकहरुबाट सबैभन्दा बढी रकम, कारोबार कित्ता, कारोबार संख्या तथा कारोबार भएको एक एक वटा न्यूनतम कम्पनी लिने गरी सूचकांकमा सबै क्षेत्रका कम्पनीहरुको उपस्थिति कायम गराउनुपर्ने जस्ता मापदण्ड हुनेछन् ।

सबै क्षेत्रबाट कम्पनीहरु छनौट गरेपछि बाँकी स्थानका लागि पुनः बाँकी कम्पनीहरुलाई तोकिएका सबै मापदण्डहरुको आधारमा ठूलोबाट सानोको क्रममा मिलाएर राख्ने र यसरी मिलाउँदा बाँकी रहेको स्थानमा सो क्रमबाट कम्पनीहरु लिँदै बाँकी कम्पनी छान्ने सकिने गरी नेप्सेको बोर्डमा छलफल भएको छ ।

सोही आधारमा आएका ५० वटा कम्पनीको कारोबार तथा राफसाफ योग्य सेयर संख्यालाई सो दिनको बजार मूल्यको आधारमा बजार पूँजीकरण निकालेर सो अनुसार को पूँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेलाबेलामा कम्पनीहरुमा आउने विभिन्न संस्थागत घटनाहरु जस्तै बोनस सेयर, हकप्रद सेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन गर्दै गणना गर्दै नेप्से ५० सूचकांक सञ्चालन तथा व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

तर, यसरी कम्पनी छनोट गर्दा सैद्धान्तिक विमति हुन सक्ने भन्दै बोर्डमा प्रश्न पनि उठको थियो । नगद लाभांश दिने कम्पनी मात्रै राम्रो हुन्छ अथाव कम्पनी छनोटको मापदण्डका विषयमा स्टक एक्स्चेञ्ज पुर्वाग्राही हुन मिल्छ ? भन्ने खालको प्रश्न बजारमा उठ्न सक्ने भएकोले कम्पनी छनोटको मापदण्डलाई विवाद रहित बनाउनु नै चुनौती रहेको बजारका जानकारहरु बताउँछन् ।

नेप्से ५० आफैमा सम्भव छ कि छैन भन्ने प्रश्न पनि सञ्चालकहरुले उठाएको नेप्सेका एक अधिकारीले बताए । प्रस्तावित लाभांश नियामकीय निकायको निर्देशनमा समयोजन हुने जस्ता घटना हाम्रोमा पटक–पटक हुँदा इन्डेक्स समायोजनमा समेत चुनौती हुने देखिएको ति सञ्चालकहरुको तर्क थियो । नेप्सेको सिइओ कार्की भने सञ्चालक समिति सदस्यहरु उक्त इन्डेक्स ल्याउनुपर्नेमा सकारात्मक रहेको र वैशाखभित्रै ल्याउनेगरी तयारी भइरहेको बताउँछन् । यसको लागि एउटा विज्ञ समुहले काम गरीरहेको उनले बताए ।

नेप्से ५० मा पर्ने कम्पनीहरु निश्चित समयमा रिभ्यु हुने र एकपटक नेप्से ५० मा समावेश भएको कम्पनी सधैं त्यसमा रहन्छन् भन्ने नहुने नेप्सेका प्रवक्ता पराजुली बताउँछन् । यद्यपि उक्त विषय प्रारम्भिक अध्ययनकै चरणमा रहेकोले समग्र अवधारणको विषयमा निष्कर्षमा पुग्न बाँकी नै रहेको उनले बताए ।

डेरिभेटिभका लागि छैन कानुन

धितोपत्र बजार विज्ञ डा. गोपाल भट्ट नेप्सेले छुट्टै इन्डेक्सको रुपमा नेप्से ५० ल्याउन सक्ने भएपनि डेरिभेटिभ बजार (फ्युचर) को लागि कानुनी व्यवस्था नै नभएको बताउँछन् । ‘अप्सन, फ्युचर, फरवार्ड, स्वाप जस्ता डेरिभेटिभ  औजार बजारमा ल्याउन सकिन्छ,’ उनले भने, ‘तर, त्यस्तो डेरिभेटिभ औजारको मार्केट सञ्चालन गर्नको लागि नियामकीय व्यवस्था आउनुपर्छ । त्यसपछि मात्रै बजार सञ्चालकको रुपमा नेप्सेले त्यसलाई बजारमा कारोबार गर्ने गरी प्रवेश गराउन सक्छ ।’

अहिले नेप्सेले इन्डेक्सको रुपमा त्यसलाई ल्याउन सक्ने उनले बताए । ‘नेप्सेको काम इन्डेक्स बनाउने हो । त्यसलाई ट्रेड गर्न मिल्ने बनाउने अथात् त्यसलाई इन्डेक्स फ्युचरको रुपमा कारोबार गर्ने नीतिगत व्यवस्था तयार गर्नुपर्छ ।’ उनले भने, ‘ नेप्सेले इन्डेक्स बनाउन कुरामा कुनै समस्या हुँदैन । तर,  त्यसलाई फ््यचर इन्डेक्सको रुपमा कारोबारको लागि धितोपत्र बोर्ड अथवा अर्कै डेरिभेटिभ एक्स्चेञ्ज बोर्डले नीतिगत व्यवस्था गर्ने हो ।’

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?