+
+

संकट टार्न क्रिकेट संघमा अर्ली इलेक्सन

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ १८ गते २१:२०

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको ‘अर्ली इलेक्सन’को निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।

असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण परेको संकटको ‘सुरक्षित अवतरण’ प्रयासका रुपमा हेरिएको छ । किनकी क्रिकेट संघको ‘फ्लागसिप टुर्नामेन्ट’ नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएपछि कार्यसमिति सदस्यहरुले नै अध्यक्षको राजीनामा मागेका थिए । मंगलबार कार्यसमितिको बैठकका लागि पोखरा पुगेका सात सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए ।

टी–२० लिगको सञ्चालक परिषद अध्यक्ष रहेका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यबाहक सचिवबाट राजीनामा दिएपनि चन्दले दिएनन् । बरु एक महिनापछि साधारणसभा बैठक बोलाएका छन् भने ३३ प्रतिशत सदस्यको हस्ताक्षर लिएर आउन राजीनामा माग गर्नेहरुलाई चुनौती दिएका छन् ।

एक पदाधिकारीका अनुसार १४/१५ फागुनमा सुर्खेत साधारणसभाले नयाँ कार्यसमितिको निर्वाचन तालिका तय गर्नेछ । जुन निर्वाचनबाट आउने कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रत्यक्ष संग्लग्नतामा विधान संशोधनसँगै निर्वाचनमार्फत आएको चन्द नेतृत्वको कार्यसमितिलाई विस्थापित गर्नेछ ।

११ असोज २०७६ मा निर्वाचन चन्द नेतृत्वको कार्यसमितिको साढे तीन वर्ष आन्तरिक विवादमा रुमल्लिरह्यो । ‘ठूलो’ मात्रामा अन्तर्राष्ट्रिय सहयोग आउने फुटबल, क्रिकेट, ओलम्पिक कमिटीजस्ता खेल संघमा आन्तरिक विवाद पनि उत्तिकै हुनु नेपालमा नौलो अभ्यास होइन ।

राखेपले मनोनित गर्ने दुई प्रतिनिधिसमेत गरी १९ सदस्यीय क्यानको बोर्डमा सुरुदेखि नै शक्ति सन्तुलन मिल्न सकेन । धेरैजसो समय बैतडीमै रहेर नेपाली कांग्रेसको राजनीति गर्ने अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैली र व्यवस्थापकीय क्षमतामा नेपाल टी–२० लिगको आयोजना निर्णययता नै प्रश्न उठ्न थालेको थियो ।

यसबीचमा निर्वाचित उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि नेतृत्व केही दबावमै थियो । निर्वाचनमा अध्यक्षका उम्मेदवारका रुपमा चन्दको प्यानल नै निर्वाचित भएको थियो । प्रमुखतः आर्थिक गतिविधिमा सचिव प्याकुरेलको मतभेद सुरु भएपछि सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, दाउद अन्सारीलगायतले पनि उनलाई साथ दिए ।

समिति निर्वाचित भएको पहिलो वर्ष नै संघको केन्द्रीय कार्यालयमा मूलपानीमा फर्निचरलगायतका लागि ३५ लाख रुपैयाँ खर्च गर्दा प्रक्रिया नमिलेको, जिल्ला र प्रदेश संघलाई अनुदानमा दिन ५२ लाख बराबरको सामान खरिद गर्दा सार्वजनिक खरिद प्रणाली नअपनाइएको भन्दै सचिव प्याकुरेलले चेकमा हस्ताक्षर गर्न मानेका थिएनन् । क्यानका अध्यक्ष चन्द तथा अन्य पदाधिकारीसँग सचिव प्याकुरेलको कार्यसमिति बैठकमै भनाभन परेको समितिका एक सदस्य बताउँछन् ।

‘क्यानभित्रको किचलो वास्तवमा त्यतिबेलै सुरु भएको हो । उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेल त्यही कारणले बाहिरिएका हुन् । त्यो देखेपछि बाँकी केही सदस्यहरुले भित्रैबाट विरोध गर्न थाले,’ कार्यसमितिका ती सदस्यले अनलाइनखबरसँग भने ।

चन्द नेतृत्वको क्रिकेट संघको सबभन्दा अदूरदर्शी क्षमता र कार्यसञ्चालन शैलीको पटाक्षेप अघिल्लो महिना काठमाडौंमा सम्पन्न नेपाल टी–२० लिगमा भयो । अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लहरुकै जोडबलमा भित्र्याइएको प्रतियोगिताको मुख्य साझेदार कम्पनी सेभेन थ्री स्पोर्टस लाइभ बेटिङ र स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको पुष्टि भयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा स्पट फिक्सिङ पुष्टि हुनु, राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानविन समिति निलम्बनसम्मको कारबाहीका लागि सिफारिस गर्नु र साझेदार कम्पनी आफूलाई जानकारी नदिई फरार हुनुले चन्द सहितका पदाधिकारी दबावमा परिसकेका थिए ।

अघिल्लो साताको मंगलबार पत्रकार सम्मेलन गरेर क्यान अध्यक्ष चन्दले मुख्य साझेदार कम्पनी छनोट र सम्झौताको प्रक्रियामा आफूहरुबाट गल्ती भएको स्वीकार मात्र गरेनन्, कमजोरी सच्याउन अवसर देऊ भन्दै अनुनय विनय गरे । पोखरामा बोर्ड बैठकको पहिलो दिन सुरुमै ७ जना असन्तुष्ट सदस्यहरुले अध्यक्ष र सचिवसहित कार्यसम्पादन समितिका पाँच जनाको राजीनामा मागेपछि अध्यक्ष चन्दले अर्ली इलेक्सनमा जाने निर्णयमा पुगेका हुन् ।

‘क्यानमा जोडिइरहनुभन्दा यसलाई सेफ ल्याण्डिङ गर्न पाए राम्रो हुन्छ भनेर यो निर्णय गरेका हौं,’ क्यान अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘राम्रो मनासयले काम गर्न खोज्दा सानो सानो कुराहरुमा अनावश्यक विवाद भइराख्ने हुन थाल्यो । हामीले सम्बन्धित निकायमा पनि सोध्यौं, उहाँहरुले पनि ग्रिन सिग्नल दिएपछि अगाडि बढेका हौं ।’ बोर्ड बैठकका लागि पोखरा जानुअघि अध्यक्ष चन्दले राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट गरेका थिए ।

आफैंले बनाएको समितिको प्रतिवेदन कार्यान्वयनका लागि आईसीसीसँग समन्वयन भइरहेको बताएको राखेप, क्यान नेतृत्वसँग सहज नदेखेको पाएपछि चन्दले अर्ली इलेक्सनको विकल्प अघि सारे । कार्यसमितिमा उपाध्यक्ष र सचिव पद खाली भएको तथा कार्यसमिति सदस्यहरुले पनि राजीनामा मागेको भन्दै उनले भने, ‘हामीले अझै चाँडै निर्वाचन गर्न चाहेका थियौं, तर वैशाखसम्म हाम्रो प्रतियोगिताको तालिका निकै व्यस्त छ ।’

क्रिकेट संघको वार्षिक साधारणसभा १४–१५ फागुनमा सुर्खेतमा आयोजना हुँदैछ । यो साधारणसभाले जिल्ला र प्रदेश हुँदै केन्द्रिय निर्वाचनको तालिका पारित गर्नेछ । क्यानले अहिलेसम्म २० जिल्लाको निर्वाचन सम्पन्न गरिसकेको छ, तर नयाँ खेलकुद ऐन र नियमावलीअनुसार राखेपको स्वीकृति नभएका कारण पुनः निर्वाचन गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।

क्यानको ४४ जिल्लामा जिल्ला कमिटी विस्तारित छ । आगामी निर्वाचनमा साविकको ३९ जिल्लाबाट मात्र मताधिकार प्रतिनिधि सहभागी हुनेछन् । कर्णालीको जाजरकोट, रुकुम पश्चिम र सल्यान तथा गण्डकीको बाग्लुङ पर्वतलाई जिल्ला सदस्यका रुपमा विस्तार गर्ने निर्णय यही कार्यकालमा भएका कारण उनीहरुको मताधिकारसहितको उपस्थिति हुने छैन ।

कार्यसमितिका दुई जना (उपाध्यक्ष र सचिव)ले राजीनामा दिएका कारण यसपल्टको निर्वाचनमा निर्वाचित १७ मध्ये १५ जनाले मात्र नयाँ कार्यसमितिका लागि मतदान गर्नेछन् । ३९ जिल्लाबाट एक एक प्रतिनिधि, सातवटा प्रदेशबाट २१ जना र कार्यसमितिका १५ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?